कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कर्णाली राजमार्गमा यात्रुको बिचल्ली

ज्योति कटुवाल

राकम (दैलेख) — जुम्लाका ५० वर्षीय रामबहादुर बुढा घरबाट नेपालगन्ज जान हिँडेको ४ दिन पुग्यो । उनी राकमको चिउरे खोलामै अलपत्र अवस्थामा छन् ।

कर्णाली राजमार्गमा यात्रुको बिचल्ली

‘हिउँदमा ३ हजार खर्च गरेर नेपालगन्ज पुग्थेँ,’ उनले भने, ‘यहाँसम्म पुग्दा करिब १० हजार खर्च भइसक्यो, दु:खको त कुरै नगरौं ।’ उनले जति सास्ती भोगे पनि दैलेख छोड्न नसकिएको बताए ।

पादुकास्थित चिउरे खोलामा आएको पहिरोले बाटो अवरुद्ध पारेपछि उनीसहित हजारौं यात्रु बाटैमा अलपत्र परेका छन् । कर्णाली राजमार्ग हुँदै जुम्ला, मुगु, कालिकोटलगायत जिल्लाबाट सुर्खेत, नेपालगन्ज जान लागेका यात्रु बाटैमा अलपत्र परेका हुन् ।

आठबिस नगरपालिकाको दही खोला, चामुन्डा विन्द्रासैनी नगरपालिकाको चिउरे खोलामा गाडी फस्न थालेपछि यात्रुको बिचल्ली भएको हो । त्यस्तै नेपालगन्ज, सुर्खेत, दैलेखलगायत स्थानबाट छुटेका जुम्लासम्म जाने गाडीका यात्रुसमेत ठाउँ–ठाउँमा अलपत्र परेका छन् । दैलेखको रती खोलामा पुल नहुँदा गाडीहरू जोखिम मोलेर वारपार गराउने गरेको चालकको गुनासो छ ।

सुर्खेतको बड्डीचौरको बाटोसमेत वर्षाका कारण हिलाम्मे बनेपछि अधिकांश गाडीले गुँरासेको बाटो रोज्ने गरेका छन् । कञ्चनपुरबाट कालिकोट हिँडेका रतन शाहीले धेरै स्थानमा पहिरोका कारण अलपत्र परेको बताए । उनले नेपालगन्जबाट गाडी चढेको तीन दिन पुगे पनि दैलेखको चिउरे खोलामा रोकिएको बताए । ‘अझै कति दु:ख पाइने हो, थाहा छैन,’ उनले भने, ‘जरुरी कामले जान लागेको, घरतिर फर्कन खोज्दा पनि राम्ररी फर्कने अवस्था छैन ।’

सोरु गाउँपालिका मुगुका बिर्खबहादुर शाहीले सरकारी निकायको लापरबाहीका कारण कर्णाली राजमार्गबाट आउजाउ गर्ने यात्रुले बर्सेनि सास्ती पाइरहेको बताए । ‘एकै स्थानमा ५ घण्टासम्म रोकिनुपर्ने अवस्था छ,’ उनले भने, ‘नगरपालिकाले पहिरो जाने स्थानको पहिचान गरेर केही किलोमिटरको दूरीमा एस्काभेटर राखेको भए सजिलै गाडी पास हुन्थे ।’

प्रहरीका अनुसार दुई दर्जन बढी स्थानमा पहिरो गएको छ । सांगेतडा, चिउरे खोला, पादुका, दैखोलालगायत स्थानमा पहिरो गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एकै दिनमा धेरै स्थानमा पहिरो गएकले यात्रु अलपत्र परेको आठबिस नगरपालिकाका वीरबहादुर शाहीले बताए । उनले जंगलको बीचमा ५/६ घण्टा जाममा पर्दा धेरै सास्ती भएको गुनासो गरे ।

प्रकाशित : भाद्र २, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?