बाढीले नगरपालिका कार्यालय जोखिममा [भिडियोसहित]

हरि गौतम

रुकुम पश्चिम — आठबीसकोट नगरपालिकाको कार्यालय बाढीका कारण जोखिममा परेको छ । गिँजागाड खोलाले आठबीसकोट नगरपालिकाको कार्यालय जोखिममा पारेको हो । निरन्तरको वर्षापछि आएको बाढीले कार्यालय वरपरका घरमा क्षति पुर्‍याएको छ ।

बाढीले नगरपालिका कार्यालय जोखिममा [भिडियोसहित]

बाढी नगरपालिकाको आँगनसम्म पुगेपछि कार्यालय भित्रका सरसामान अन्यत्र सारिएको छ ।

शुक्रबार रातभर पानी परेपछि शनिबार विहानैबाट गिँजागाड खोलामा बाढी आइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । उनका अनुसार कार्यालयमा रहेको महत्वपूर्ण कागजात, इलेक्ट्रोनिक सामग्रीहरु अन्यत्रै सार्न थालिएको छ । सामग्री सार्न रेडक्रसकर्मी तथा स्थानीयको सहयोग लिइएको छ ।

बाढीले सभा कक्ष, कार्यालय भवन, बन्दै गरेको अर्को भवन पनि बाढीको उच्च जोखिममा परेको छ । यसअघि आएको पहिरो तथा बाढीका कारण नगरपालिका–११, का १६ घर परिवार घरबारविहिन भएका छन् । गोइरी, मंगरा र धुर्सेनीका घरबारविहीन १६ घरपरिवारलाई नगरपालिकाले ५ हजारका दरले राहतसमेत वितरण गरेको थियो । सोही वडाका अन्य ३० घर पनि पहिरोको जोखिममा रहेका छन् । यसको साथै नगरपालिकाका अन्य ठाउँमा पनि पहिरो र बाढीका कारण सर्वसाधारण विस्थापित भएका छन् भने बस्तीहरु जोखिममा परेको निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले बताए ।

उनका अनुसार वडा नम्वर ६, ७, ८, ९, १०, ११ र १२ वडाका मुख्य बस्तीहरु उच्च जोखिममा परेका छन् । गिँजागाड खोला, खारखारा ठूली भेरी नदी आसपासमा अझै खतरा रहेकाले ढुक्कसँग बस्ने अवस्था नभएको स्थानीयले गुनासो गरेका छन् ।

भिडियो

प्रकाशित : भाद्र २, २०७५ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?