२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

बर्खाले २ महिनादेखि सडक अवरुद्ध

भीमबहादुर सिंह

जाजरकोट — खलंगा–पाँचकाटिया सडक वर्षातसँगै खसेको पहिरो, हिलो र खाल्टाखुल्टीका कारण अवरुद्ध भएको छ । दुई महिनादेखि यातायात अवरुद्ध हुँदा कुशे र बारेकोट गाउँपालिकाका बासिन्दालाई आवतजावतमा सास्ती भएको हो ।

बर्खाले २ महिनादेखि सडक अवरुद्ध

सडक विभाग, भेरी नगरपालिकालगायत निकायले अवरुद्ध सडकको मर्मत सुधारमा बेवास्ता गर्दा यात्रुलाई सास्ती भएको छ । सडक अवरुद्ध भएपछि कुशे र बारेकोटका बासिन्दा २/३ दिन पैदल हिँडेर गन्तव्यमा पुग्न बाध्य छन् ।

त्यस्तै, उक्त सडकमा यातायातका साधन नचल्दा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको आपूर्तिमा पनि समस्या भएको छ । घोडा, खच्चड र भरियाको माध्यमबाट ढुवानी गरिएको खाद्यान्नको मूल्य आकासिएको छ ।

यातायातको असुविधा भएपछि त्यस क्षेत्रका बिरामीलाई उपचारका लागि बाहिर लैजान स्ट्ेरचरको सहारा लिनुको विकल्प छैन ।

बाढी, पहिरो, हिलोलगायत कारण पाँचकाटिया सडकमा दुई महिना यातायात बन्द हुँदा सास्ती भएको बारेकोट १, रामीडाँडाका यज्ञ ज्योतिले बताए । ‘सडकमा पैदल यात्रा गर्न जनतालाई सास्ती भएको छ, दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्न कठिन छ,’ उनले भने, ‘तर सम्बन्धित निकायले सडकको मर्मत सम्भारमा वास्ता गर्दैन ।’ २० किलोमिटर दूरीको सडकको मर्मत गरेर यातायात सुचारु गर्न सडक डिभिजन र भेरी नगरपालिकाले ध्यान नदिएपछि स्थानीयवासी सास्ती भोग्न बाध्य भएका हुन् ।

सडक मर्मत सुधार नहुँदा पाँचकाटिया मात्र होइन, जिल्लाका अन्य ग्रामीण सडकमा पनि यातायात सञ्चालन हुन सकेका छैनन् । सदरमुकाम खलंगादेखि जिल्लाका विभिन्न भागमा जाने ग्रामीण सडक मर्मत सुधार गर्न सम्बन्धित निकायले चासो नदेखाएपछि स्थानीय बासिन्दा मर्कामा परेका हुन् ।

खलंगादेखि उत्तरी भेगका बारेकोट, कुशे, जुनीचाँदे, मजकोट, कार्कीगाउँ, बाटुले, दशेरा, सीमा लगायतका बासिन्दा बढी मर्कामा परेका छन् । खलंगादेखि ग्रामीण क्षेत्र जाने मुख्य सडकमध्ये पाँचकाटिया, रिम्ना, कार्कीगाउ, स्याउली, भेरें, सीमा, दशेरा, सुवानाउली, ब्युलीढुंगा, नेटी कैना, खगेनकोट लगायतमा यातायात अनियमित बनेको छ । जिल्लामा निर्माण गरिएका ३ सय किलोमिटर ग्रामीण सडक व्यवस्थित गर्न नसक्दा समस्या भएको स्थानीयको गुनासो छ ।

बर्सेनि वर्षातपछिका ३/४ महिनासम्म स्थानीय बासिन्दाले आवतजावतमा निकै सास्ती बेहोर्नुपरेको कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । तारजाली, वाल, ढल निकास, ग्राभेललगायत कार्यको उचित प्रबन्ध नहुँदा कच्ची सडकमा यातायात अवरोध मात्र होइन ।

विभिन्न स्थानमा पहिरोको जोखिम पनि बढेको अध्यक्ष बस्नेतले बताए । कतिपय सडकमा पहिरोले पैदल हिँड्ने अवस्था पनि नभएको उनले बताए । सडक निर्माणका नाममा हरेक वर्ष करोडौं रकम खर्च हुँदै आएको उनको भनाइ छ । सडक मर्मत सुधारका लागि सडक डिभिजन चौरजहारीले बजेट नभएको भन्दै आलटाल गरेको बस्नेतको भनाइ छ ।

सदरमुकाममै यातायात बन्द
जाजरकोट–डोल्पा सडकको खलंगा खण्डको ठाउँ–ठाउँमा पहिरो खसेपछि सदरमुकामभित्रको यातायात बन्द भएको एक महिना बितेको छ । उक्त खण्डको खहरे खोलादेखि थाप्लेचौरसम्मको दुई किलोमिटर दूरीको दर्जन स्थानमा सडक भत्कँदा खलंगामा यातायात रोकिएको हो ।

खलंगाको खहरेखोला, न्युरोड, भेलाले, रेडक्रस भवनलगायत स्थानमा सडक भत्किँदा समस्या भएको हो । सडकको रेडक्रस भवन, भेलाले लगायत स्थानमा मान्छे हिँड्ने बाटो समेत नभएको स्थानीय तेजबहादुर खत्रीले बताए ।

खलंगा बजारमा आवजावत मात्र होइन दैनिक उपभोग्य वस्तु आपूर्तिमा समेत कठिनाइ भएको छ । सडक डिभिजन कार्यालय चौरजहारीले सडक मर्मतमा चासो दिएको छैन । भेरी नगरपालिका–३, ठाटीबजार नजिकै नेपाल रेडक्रस सोसाइटी भवन छेउमा ५० मिटर कालोपत्रे सडक भत्किएर २ सय मिटर तल पुगेको महिना दिन बितेको छ । प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भत्किएको सडकको तत्काल मर्मत गरेर यातायात सुचारु गर्न सम्बन्धित निकायमा ताकेता गरेका छन् ।

उनले सडक डिभिजन, स्थानीय तह, सम्बन्धित व्यवसायी लगायतलाई छिटोछरितो काम गरेर सडक सुचारु गर्न लिखित तथा मौखिक ताकेता गरेका छन् । प्रजिअ बस्नेतले खलंगा रिम्ना सडक, खलंगा पाँचकाटिया सडक लगायतको मर्मत गरेर यातायात सुचारु गर्न सम्बद्ध पक्षलाई ताकेता
गरेको बताए ।

उनले घटनाको स्थलगत अध्यन गरेर बाढी तथा पीडितलाई राहत वितरण गर्ने निर्णय भएको बताए । उनले बाढी पहिरो कारण जिल्लामा भएको क्षतिको बारेमा यकिन विवरण नआएको बताए । क्षतिको विवरण संकलनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत परिचालन भएको जिल्ला प्रशासनले जनाएको छ ।

साउन दोस्रो साता यता आएको बाढी–पहिरोले जाजरकोटमा १२ जनाको ज्यान जानुको साथै १७ घर बगाएको थियो । बाढी–पहिरोका कारण तल्लुबगर, छेप्का, कैना, घुवारा, कालीमाटी, सानावन, करुवा, टाठीबजार, छिर्क लगायत स्थानमा क्षति पुर्‍याएको प्रजिअ बस्नेतले बताए ।

प्रकाशित : भाद्र ३, २०७५ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?