कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुहिने भवनमा सुरक्षाकर्मी

विप्लव महर्जन

सल्यान — भूकम्पले जिल्ला प्रहरी कार्यालयको जोखिमयुक्त भवनमा सुरक्षाकर्मी बसेका छन् । प्रहरी व्यारेकमा जिल्ला प्राविधिक कार्यालयले तीन वर्षअघि नै रातो स्टिकर लगाएको थियो । विकल्प नहुँदा वर्षाको समयमा पानी चुहिँदा समस्या भएको प्रहरीको गुनासो छ ।

चुहिने भवनमा सुरक्षाकर्मी

जीर्ण भवनमै प्रहरी जवान कोचाकोच गरेर बसेका छन् । २०७२ बैशाख १२ र २९ गतेको भूकम्पपछि जीर्ण बनेको ६ दशक पुरानो भवनमा सुरक्षाकर्मी बस्दै आएका छन् । भवन निर्माणका लागि माथिल्ला निकायले बेवास्ता गरेकाले समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी ब्यारेक भवन ६० वर्षअघि निर्माण भएको हो ।

६ कोठाको दुई तले कच्ची भवनमा अहिले करिब ४० प्रहरी जवान बस्दै आएका छन् । नयाँ भवन नबन्दा प्रहरी जवान जोखिम मोल्न बाध्य छन् ।

प्रहरी निरीक्षक भानु शर्माका अनुसार चारैतिरबाट पर्खाल चर्किएका छन् । ‘भवन भत्कने अबस्थामा छ, अधिकांश कोठा अध्याँरा छन्,’ उनले भने,‘कैदीबन्दी जस्तो गरेर सुरक्षाकर्मी बस्न बाध्य छन् ।’

एउटा कोठामा ५/६ जना जवान र हवल्दार बस्दै आएका छन् । प्रदेश प्रहरी कार्यालयमा भवन निर्माण तथा मर्मतका लागि माग गरिएको लामो समय भए पनि अहिलेसम्म रकम आउन नसकेको प्रहरी निरीक्षक शर्माको भनाइ छ । भवनकै अभावमा कतिपय सुरक्षाकर्मी कोठा लिएर बस्दै आएको उनको भनाइ छ । भूकम्पबाट जोखिमपूर्ण बनेको भवनमा नबस्न अधिकांशले सल्लाह दिने गरेको भए पनि विकल्प नभएको प्रहरीले जनाएका छन् । वर्षाको समयमा चुहिने समस्या छ ।

‘कहिलेकाहीँ राति पानी चुहिएर सुत्नै समस्या हुन्छ,’ प्रहरी जवान डिल्लीराज चौधरीले भने, ‘चारैतिबाट हावा पास नहुँदा थप समस्या भएको छ ।’ ठूलो हावाहुरी चलेको बेला टिन उडाउने खतरा रहेको उनले बताए । उनले आसपासका क्षेत्रमा कोठा नपाइने समस्या भएकाले सास्ती भोग्नुपरेको बताए ।

महिला ब्यारेक नहुँदा महिला प्रहरी कोठा भाडामा लिएर बस्ने गरेका छन् । सल्यानमा २०१२ सालमा जिल्ला प्रहरी कार्यालय स्थापना गरिएको हो । २०१५ सालमा ब्यारेक भवन निर्माण गरिएको स्थानीय अगुवा राजेन्द्रबहादुर शाहले बताए । ‘शान्ति सुरक्षाको प्रत्याभूति गराउने प्रहरी नै भत्कने अवस्थाको भवनमा बस्न बाध्य छन्,’ उनले भने, ‘हामीले पनि पटकपटक विभिन्न निकायमा यसबारे ध्यानाकर्षण गरायौं, तर कसैले पनि वास्ता गरेनन् ।’

प्रकाशित : भाद्र ३, २०७५ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?