अपांगता भएकालाई करमा छुट

सल्यान — शारदा नगरपालिकाले अपांगता भएका व्यक्तिलाई सबैखाले करमा छुट दिएको छ । फरक क्षमता भएका व्यक्तिको सरकारी सेवामा पहुँच बढाउन कर छुट दिइएको नगरपालिकाले जनाएको छ ।

अपांगता भएकालाई करमा छुट

गत वर्षसम्म अपांगता भएका व्यक्तिबाट कर लिइने गरेको भए पनि यस वर्षदेखि हटेको नगरपालिकाले जनाएको छ । नगरले मृत्यु दर्ताको सेवा शुल्क समेत छुट गरिएको जनाएको छ । त्यस्तै, ज्येष्ठ नागरिकलाई जिल्ला अस्पतालमा उपचारमा लाग्ने शुल्क हटाइएको छ ।

नगरभित्रका विपन्नलाई समस्या नपरोस् भन्दै मदिराजन्य वस्तुबाहेक अन्यमा कर नबढाएको नगरप्रमुख सुरेश अधिकारीले बताए । ‘मृत्यु दर्ता गर्दा ५० रुपैयाँ लाग्थ्यो, यो वर्षदेखि नि:शुल्क गरिएको छ,’ उनले भने, ‘आफ्नो स्थानीय तहको आर्थिक स्थिति बलियो बनाउन कर नलिई पनि हुँदैन । तर आर्थिक अवस्था कमजोर भएकालाई कर तिर्न बाध्य बनाइएको छैन ।’ उनका अनुसार नगरपालिकाले तीन वर्षअघिकै कर अहिले संकलन गरिरहेको छ ।

कर बढाउनुभन्दा करको दायरा मात्रै फराकिलो बनाइने जनप्रतिनिधिले जनाएका छन् । गत वर्ष एक करोड कर उठाउने लक्ष्य लिएकोमा ३० लाखमात्र उठेको थियो । नगरपालिकाले केही सेवाबापत लिइने करमा कडाइ गरिएको जनाएको छ । सरकारले मदिरा तथा विलासिताका साधनमा कर बढाएकाले १० प्रतिशत कर बढाइएको नगरपालिकाले जनाएको छ । नगरपालिकामा निवेदन शुल्क १०, न्यायिक शुल्क १ सय र न्यायिक मेलमिलापमा ५ सय रुपैयाँ कर तोकिएको छ ।

अंग्रेजीमा गरिने सिफारिसमा ६ सय, नागरिकता सिफारिसमा १ सय ५०, नागरिकता प्रतिलिपिमा २ सय, मुचुल्कासहितको नागरिकतामा ३ सय तथा अंगीकृत नागरिकतामा ५ सय रुपैयाँ सेवाशुल्क लगाइएको छ । त्यस्तै नाता प्रमाणितमा ३ सय, नाता कायम सिफारिसमा २ सय, पारिवारिक विवरणमा २ सय, बसोबास प्रमाणितमा ५ सय, नाबालिका, जन्ममिति र वैवाहिक सिफारिसमा २ सय शुल्क लगाइएको छ ।

प्रकाशित : भाद्र ३, २०७५ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?