२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

वर्षाले भत्कियो राजमार्ग

कालोपत्रे उप्किएर सडक हिलाम्मे
राजमार्गमा जोखिमपूर्ण यात्रा

दैलेख — वर्षाका कारण कर्णाली राजमार्गका अधिकांश स्थानमा गरिएको कालोपत्रे उप्किएपछि सडक हिलाम्मे बनेको छ ।

वर्षाले भत्कियो राजमार्ग

कर्णाली राजमार्गमा पहिरो खस्ने क्रम नरोकिएपछि यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । खहरे खोलाले गाडी वारपार गर्न समस्या भएपछि यात्रु घन्टौं अलपत्र पर्ने गरेका छन् ।

पहिरो खस्ने क्रम नरोकिँदा यात्रा अनिश्चित बनेको छ । दैलेखको तल्लो डुंगेश्वर हुँदै राजमार्ग विभिन्न ठाउँमा भाँसिंदै गएको छ । सडकमुनिको कर्णाली नदीमा पानीको बहाव बढ्दै गएपछि कडानसमेत हुन थालेको छ । सडक डिभिजन र स्थानीय तहको बेवास्ताका कारण स्थानीयवासी बर्सेनि सास्ती भोग्न बाध्य छन् ।

जुम्लाबाट तीजको सामान लिन नेपालगन्ज हिंडेकी तिर्सना शाहीले यात्रा कठिन बन्दै गएको बताइन् । ‘तीन दिनसम्म पनि बाटैमा बास बस्न बाध्य भइयो,’ उनले भनिन्, ‘सामान लिएर आउँदा त महिनै बित्ला भन्ने डर भो ।’ पहिरो, कटान र हिलाम्मे सडकका कारण यात्रा निकै कष्टकर बनेको उनको भनाइ छ ।

चामुन्डा विन्द्रासैनीका प्रेम शाहीले खहरे खोलाका कारण घन्टौं यात्रु अलपत्र पर्नुपरेको बताए । ‘त्यसैमा पनि कहाँ पहिरो खस्छ भन्ने त्रास हुन्छ,’ उनले भने, ‘सडकको दुर्दशा देख्दा मनै सिरिङ्ग हुन्छ ।’ उनका अनुसार सडक जोखिमपूर्ण बनेपछि गाडीको चापसमेत घट्दै गएको छ ।

उनका अनुसार पहिरो र खोलाका कारण दुई दिनअघि पहिरोले सडक अवरुद्ध हुँदा पाँच घण्टा यात्रु जंगलमा बस्न बाध्य भएका थिए । सडकको बीच–बीचमा एस्काभेटरको व्यवस्था नहुँदा यात्रुलाई सास्ती भएको उनले जनाए । केही दिनदेखि लगातार परेको वर्षाका कारण चामुन्डा विन्द्रासैनी नगरपालिकाको चिउरे खोलमा आधा किलोमिटर सडक भत्किएको थियो ।

मर्मत गरिए पनि फेरी भत्कने अवस्थामा पुगेको स्थानीयले जनाएका छन् । ठूला सवारीसाधन चलाउन समस्या भएको चालकको गुनासो छ । गाडी हिलोमा फस्न थालेपछि ठाउँ–ठाउँमा यात्रुलाई ओराल्दै गाडी चलाउने गरिएको छ । फसेका गाडीलाई यात्रुले धकेलेर निकाल्नुपर्ने बाध्यता छ ।

वर्षा नरोकिएकाले बाँकी सडक पनि भत्किने क्रममा रहेको यात्रुले जनाएका छन् । निर्माण हुँदै गरेका अधिकांश पुल ठेकेदारको लापरबाहीका कारण अलपत्र छन् । तर जनप्रतिनिधिले आफ्नो क्षेत्रमा गाडीहरू अवरुद्ध भए डोजर पठाएर सडक सुचारु गराउँदै आएको दाबी गर्दै आएका छन् ।

पहिरोले स्थानीयलाई ठाउँ सारिंदै
सल्यान–अविरल वर्षासँगै गाउँ माथिबाट पहिरो खस्न थालेपछि यहाँका गाउँ जोखिममा परेका छन् । बन्गाडकुपिण्डे नगरपालिका–६ को गैरागाउँ र कुमाख गाउँपालिका–५ तलझरी गाउँ पहिरोको उच्च जोखिममा परेका छन् ।

गाउँ माथिबाट लगातार पहिरो खस्न थालेपछि स्थानीयवासी त्रसित भएका हुन् । गैरागाउँका १२ र तलझरीका १७ परिवार पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । पहिरो जाने क्रम नरोकिएपछि स्थानीयवासी सुरक्षित स्थानमा सर्न थालेका छन् । प्रहरीले स्थानीयलाई सुरक्षित स्थानमा सार्न सहयोग गरेको जनाएको छ ।

बन्गाडकुपिण्डे नगरपालिका–६, गैरागाउँका अम्मर वाग्री, इन्द्रबहादुर वाग्री, रत्नबहादुर पुन, भीमबहादुर वाग्रीलगायत ११ घरधुरीले आफन्तको घरमा आश्रय लिएका छन् । १७ परिवारलाई स्थानीयले सञ्चालन गरेको मिलमा बस्ने व्यवस्था मिलाइएको छ ।

आफन्तको घरमा बस्दै आए पनि विभिन्न समस्या हुन थालेको पहिरो प्रभावितले गुनासो गरेका छन् । अविरल वर्षाका कारण गैरागाउँ माथिको खाली पाखो र जंगल क्षेत्रमा ५० मिटर बढी पहिरो खसेको छ । जमिन चिरा पर्न थालेपछि स्थानीयवासी त्रसित भएको स्थानीय रत्नबहादुर पुनले बताए ।

प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले पहिरोको जोखिम नरोकिँदासम्म उनीहरूलाई सुरक्षित स्थानमा सारिएको बताए । ‘वर्षा भएमा कुनै पनि समयमा पहिरोले घर बगाउने खतरा भएकाले सुरक्षित स्थानमा सारिएको हो,’ उनले भने, ‘अहिलेसम्म पहिरोले ठूलो क्षति भएको छैन ।’ अविरल वर्षाका कारण बन्गाड खोलामा आएको बाढीले छिन्चु–जाजरकोट र सल्ली–रुकुम चौरजहारी सडक अवरुद्ध बनेको छ । बाढीले भेरी नदीको फेरी बगाएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार बाढीले बगाएको फेरी सुर्खेतको ठिग्नी जोड्ने झोलुंगे पुलमा अल्झिएको छ । पुलमा फेरी अड्किएपछि चारवटा लहरा चुँडिएका छन् । सपोर्टिङ लहरा चुँडिएपछि पुल जोखिममा परेको छ ।

यस्तै वर्षाका कारण कुमाख गाउँपालिकाको मर्म खोलामा आएको बाढीले खेतीयोग्य जमिन कटान गरेको छ । खोला कटानले त्रिवेणीदेखि स्यानीपिप्लीसम्म करिब एक हजार रोपनी धानबाली नष्ट बनाएको स्थानीय नवीन रावतले बताए । उनका अनुसार सडकमा गाडी चल्न छोडेका छन् । उनका अनुसार मर्म खोलामा आएको बाढी १० वर्षयताकै ठूलो हो ।

प्रकाशित : भाद्र ४, २०७५ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?