कर्मचारी भर्नामा मनपरी गरेको भन्दै क्याम्पसमा तालाबन्दी

राजबहादुर शाही

मुगु — क्याम्पस प्रशासनले कर्मचारी भर्नामा मनपरी गरेको भन्दै रारा बहुमुखी क्याम्पसका चन्दादाताहरुले अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।

क्याम्पस प्रशासनले आफुहरुलाई कुनै जानकारी नै नगराई एकलौटी ढंगले कर्मचारी भर्ना गर्न नामलिष्ट तयार गरेको भन्दै एक दर्जन भन्दा बढी चन्दादाताले बुधबारदेखि क्याम्पसमा तालाबन्दी गरेर धर्नामा बसेका छन् ।

Yamaha

तालाबन्दी पछि प्रशासनिक कामकाज देखि पढाई समेत अवरुद्ध भएको छ । कुनै जानकारी नगराई एकलौटी ढंगबाट क्याम्पसले कर्मचारी भर्ना गर्न लागेको विरोधमा तालाबन्दी गरिएको एक चन्दादाता कम्मरसिंह खड्काले बताए । ‘क्याम्पसलाई ३० रोपनी जग्गा दिने हामीलाई थाहै नदिई कर्मचारी भर्ना गर्ने ?’ उनले भने ।

चन्दादाताले राखेको मागप्रति क्याम्पस प्रशासन छलफल गर्न तयार रहेको ताला खोलेर वार्तामा आउनु पर्ने क्याम्पस प्रमुख सुशिलकुमार भामले बताए ।

Esewa Pasal

प्रकाशित : भाद्र ७, २०७५ १०:०७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गाउँ सम्झिँदै स्थानीय

गाउँमा ट्रेकिङ, हाइकिङ रुट, होमस्टे सञ्चालनमार्फत स्वरोजगार र आम्दानीको वातावरण बनाउने लक्ष्य
लालप्रसाद शर्मा

पोखरा — भारतीय र बेलायती सेनामा भर्ती हुने संस्कृति । पछिल्ल्लो समय वैदेशिक रोजगारको मोह । पैसा भएपछि सुविधाभोगी जीवनको चाहना । त्यही चाहनालाई पूरा गर्न गाउँ छाडेर बजार झर्ने क्रम ह्वात्तै बढ्यो ।

पोखरा १६ झुप्राङ गर्लाङ गाउँ । तस्बिर : लालप्रसाद

टाठाबाठा, हुनेखाने सबैले गाउँ छाडेपछि विकासको नेतृत्व लिने कोही भएन । परिणाम गाउँ रित्तिँदै गयो । जग्गा बाँझो हुन थाल्यो । गाउँ ओझेलमा मात्रै होइन, अस्तित्व नै संकटमा पर्‍यो ।

महानगरको १६ नम्बर वडाको झुप्राङ–गर्लाङमा जन्मिएकाहरूको मन यतिबेला फेरिएको छ । उनीहरूले महेन्द्रगुफाबाट पैदलै एक–डेढ घण्टामा पुगिने गाउँ ओझेलमा परेको बल्ल बुझेका छन् । जन्मठाउँको विकासका लागि उत्साह र अठोटसाथ अभियानै थालेका छन् । यसका लागि झुप्राङ–गर्लाङ बहुउद्देश्यीय विकास समिति गठन गरेका छन् ।

पर्यटनलाई मुख्य आधार बनाएका छन् । यसका लागि सरकारको मात्र मुख ताकेका छैनन्, आफैं आर्थिक संकलन पनि गरिरहेका छन् । गाउँमा ट्रेकिङ, हाइकिङ रुट, होमस्टे सञ्चालनमार्फत स्वरोजगार र आम्दानीको वातावरण बनाउने पहिलो लक्ष्य उनीहरूको छ । ‘गाउँको विकास हुन सकेन । रित्तिने चिन्ताले अब केही गर्नुपर्छ भनेर अभियानमा जुटेका हाैं,’ समितिका अध्यक्ष तीर्थबहादुर गुरुङले भने, ‘पर्यटन र कृषिका माध्ययमबाट गाउँलाई नमूना बनाउँछौं ।’ गाउँमा हाइअल्टिच्युड स्पोर्ट्सका गतिविधि, मिनी चिडियाखाना, केबलकार, गल्फकोर्स, प्याराग्लाइडिङलगायत थुप्रै गतिविधि गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ ।

पाहुनालाई स्वागतका लागि लामबद्ध स्थानीय । तस्बिर : लालप्रसाद

गुरुङ बाहुल्य गाउँ विकासका लागि स्थानीयले थालेको चन्दा संकलनमा ३० लाख रुपैयाँ जम्मा भइसकेको छ । जुट्ने क्रम जारी छ । यसले पनि काम गर्ने उत्साह थपिएको छ । पहिलो चरणमा गाउँका ६ घरबाट होमस्टे सुरु गर्ने र ८ किलोमिटर पैदल मार्गमा ढुंगाको छपनीबाट सिंढी बनाउन प्रक्रिया सुरु भइसकेको छ ।

दुवै कामको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले मंगलबार शिलान्यास गरे । समितिका उपाध्यक्ष एकबहादुर गुरुङका अनुसार थानखोलाबाट सुरु हुने पैदलमार्ग झुप्राङकोटसम्म पुग्नेछ । जहाँबाट फेवातालदेखि पोखरा उपत्यका, माछापुच्छ्रे, अन्नपूर्ण हिमश्रृंखला, हरियाली डाँडापाखा, वनजंगल देख्न सकिन्छ । ‘अपार प्राकृतिक सम्पदा भएर पनि पहलकदमी नहुँदा अहिलेसम्म ओझेलमा पर्‍यो,’ उनले भने, ‘जन्मिएको ठाउँमा केही गर्नुपर्छ भन्ने बल्ल आँखा खुलेकाले अभियान थालेका हौं ।’ झुप्राङकोट ऐतिहासिक, धार्मिक हिसाबले पनि उत्तिकै महत्त्वपूर्ण स्थान हो ।

गाउँमा पदमार्ग निर्माण र होमस्टे सञ्चालन सुरु भएको अवसरमा आयोजित कार्यक्रममा नाचगान गर्दै

होमस्टे समितिका अध्यक्ष केशरकुमार गुरुङले गाउँमा ४८ घर रहेकोमा ९ घर पूरै खाली भइसकेको बताए । सुरुमा ६ घरबाट होमस्टे सञ्चालनमा ल्याइने र यसबाट स्वरोजगारका साथै भाषा, संस्कृतिको जगेर्नामा सहयोग पुग्ने उनले बताए । ‘पाहुनालाई यहीं उत्पादन भएको अर्गानिक खाना खुवाउनेछौं’ उनले भने, ‘आतिथ्यता, सरसफाइलगायत सबै विषयमा तालिमको तयारीमा छौं ।’ गाउँमा छ्याडु नाचलगायत अन्य परम्परागत संस्कृति जीवन्त छन् । प्रचारप्रसार र नेटवर्क व्यवस्थित गर्नसके उद्देश्यमा सफल भइने उनको भनाइ छ ।

सहर झरेकाहरू गाउँलाई सम्भिँmदै फर्केकोमा स्थानीय पनि दंग छन् । अब गाउँमा चहलपहल भएर घरबाटै आम्दानी लिन सकिने उनीहरूले सोचेका छन् । आमा समूहकी अध्यक्ष विमाया गुरुङले गाउँ विकासको महाअभियानमा स्थानीयको पूर्ण सहयोग रहेको बताइन् । ‘ढिलै भए पनि जन्मथलो सम्झिएकोमा खुसी लागेको छ,’, उनले भनिन्, ‘सबै गाउँले फकर्नेमा विश्वास छ ।’ लोपोन्मुख संस्कृतिको संरक्षण र कृषिमा जोड दिएको भन्दै उनले पशुपालन, तरकारी, फलफूल यहीं उत्पादन थाल्न लागिएको बताइन् ।

पञ्चे बाजा बजाइँदै

मन्त्री लम्सालले प्रदेश सरकारले पर्यटनबाटै समृद्धि हुने देखेर पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको बताए । प्रदेशभित्रका ३ सय गाउँलाई होमस्टे सञ्चालन गर्ने कार्यक्रम रहेको र यसका लागि ३० करोड रुपैयाँ बजेटसमेत छुट्टिएको र मन्त्रालयले बनाएको कार्यविधिअनुसार सञ्चालन हुने होमस्टेलाई कम्तीमा पनि १० लाख रुपैयाँ दिने योजना उनले सुनाए ।

सन् २०२२ सम्ममा २० लाख पर्यटक ल्याउने भन्दै उनले पर्यटकलाई होमस्टेमा पुर्‍याइने बताए । ‘स्थानीयको अभियानले गाउँ विकासमा केही गरौं भन्ने उत्साह ल्याएको पाइयो,’ उनले भने, ‘गाउँलेको योजनामा प्रदेश सरकारको सधैं साथ रहनेछ ।’

समितिका सचिव पदमबहादुर गुरुङले पर्यटनका माध्ययमबाट गाउँका सबै सम्भावना उजागर गर्न लागिएको बताए । यसका लागि गाउँमा एक सहकारी पनि सञ्चालनमा ल्याइएको छ । वडाध्यक्ष जीवनप्रसाद आचार्यले पर्यटन प्रबद्र्धनमा सक्दो सहयोगको आश्वासन दिए । उनले गाउँ पुग्ने सडकका लागि यस वर्ष महानगरका तर्फबाट १० लाख रुपैयाँ उपलब्ध भएको बताए ।

गाउँविकासको अभियान सुरु भएकोमा गाउँलेले बाजागाजा, नाचगान र भोजभतेरसाथ खुसियाली पनि मनाएका थिए ।

प्रकाशित : भाद्र ७, २०७५ १०:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT