१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जथाभावी सडक अतिक्रमण

सवारी आवागमनमा अवरोध
स्थानीय प्रशासनको अनुरोध स्थानीयले टेरेनन्
दुर्घटनाको जोखिम बढ्यो
विप्लव महर्जन

सल्यान — सल्लीबजारको मुख्य सडकमा सरकारले मापदण्ड २१ मिटरको तोके पनि स्थानीयले लामो समयदेखि अतिक्रमण गरिरहेका छन् ।

जथाभावी सडक अतिक्रमण

सडक क्षेत्रमै अस्थायी संरचना निर्माण गरी व्यवसाय गर्नेको संख्या बढ्दै गएको छ । सडक क्षेत्रमा घुम्ती निर्माण गरी व्यवसाय गर्ने र निर्माण सामग्री अलपत्र छाड्ने गरिएकाले बजार कुरूप बन्दै गएको हो ।

बढ्दो अतिक्रमणका कारण सडक साँघुरो भएपछि गाडी आउजाउमा समस्या भएको छ । स्थानीयले लामो समयदेखि अतिक्रमण गरे पनि स्थानीय तहले ध्यान दिएको छैन । बजार आसपासमा सडकको ट्रयाक खोल्दा २१ मिटर कायम गरे पनि अधिकांश स्थानमा १५ मिटरमा सीमित रहेको स्थानीयको भनाइ छ । कतिपय स्थानमा सडक १० मिटरमा खुम्चिएको छ । स्थानीयका अनुसार दाउरा, निर्माण सामग्री, घुम्ती र सडक व्यापारका कारण समस्या भएको हो ।

स्थानीय गणेश बीसीले पटकपटक नगरपालिका र जनप्रतिनिधिलाई यसबारे भने पनि बेवास्ता भएको बताए । उनका अनुसार छाडा चौपायाले झनै समस्या बनाएको छ । व्यवसायका नाममा अतिक्रमण गर्नेले प्रहरी प्रशासनलाई समेत टेर्न छाडेको स्थानीयको भनाइ छ । प्रहरीका अनुसार अतिक्रमणका कारण दुर्घटना बढ्दै गएको छ ।

अहिले सडककै जग्गामा सरकारी निकायको मिलेमतोमा पक्की घर निर्माण हुन थालेको स्थानीय प्रेमबहादुर रानाले बताए । ‘पहिले ससाना टहरा थिए,’ उनले भने, ‘ती फालेर सडकका जग्गा च्याप्दै पक्की घर बनाउन थालिएको छ ।’ सडक आसपासमा जताततै दाउरा र पशुचौपाया देखिने गरेको उनको भनाइ छ ।

इलाका प्रहरी कार्यालय, सल्लीबजारका प्रहरी नायब निरीक्षक लालबहादुर बुढाले वर्षाको समयमा भेरीले बगाई ल्याएका काठहरू संकलन गरी स्थानीयले घर अघि राख्दा सवारीसाधन आउजाउमा समस्या भएको बताए । उनले आफूहरूले पटकपटक स्थानीयलाई आग्रह गर्दै आए पनि नटेरेको बताए । १/२ दिनभित्र नहटाए प्रहरीले अतिक्रमण गरिएका सामग्री हटाउने उनको भनाइ छ ।

बजार आसपासका सडक अतिक्रमण हटाउन स्थानीयलाई सूचना जारी गरेको नगरपालिकाले जनाएको छ । सामान हटाउन स्थानीयले अटेर गरेकाले बल प्रयोग गर्ने तयारी भइरहेको नगरप्रमुख गोविन्दकुमार पुनले बताए । ‘बजार व्यवस्थापन समितिसँग यसबारे छलफल भइरहेको छ,’ उनले भने, ‘अन्य सरोकारवालासँग छलफल गरी थप कारबाही अगाडि बढाइनेछ ।’

प्रकाशित : भाद्र ७, २०७५ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?