पुरुषले दर्ता गरे सम्बन्धविच्छेद मुद्दा
रुकुम पश्चिम — नयाँ मुलुकी देवानी कार्यविधि (संहिता) २०७४ अनुसार अदालतमा सम्बन्धविच्छेदको मुद्दा परेको छ । रुकुम जिल्ला अदालत मुसिकोटमा बाँफिकोट गाउँपालिकाका एक पुरुषले बुधबार सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् ।
जिल्ला अदालतका निमित्त स्रेस्तेदार लक्ष्मण विकले नयाँ मुलुक देवानी कार्यविधि (संहिता) २०७४ को परिच्छेद–२ को दफा १० अनुसार एक पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएको बताए । ‘ती पुरुषको मुद्दा दर्ता भएर प्रोसेसमा गएको छ,’ उनले भने, ‘भदौ १ देखि लागू भएको संहिताअनुसारै उनको मुद्दा दर्ता गरिएको हो ।’
पछिल्लो देवानी (संहिता) अनुसार उक्त मुद्दाको विपक्षीलाई अदालतले म्याद बुझेको २१ दिनभित्र उपस्थित हुन चिठी पठाउनेछ । त्यसका आधारमा उक्त मुद्दाको टुंगिने हुने समय तय हुने बताइएको छ । मुलुकी ऐनअनुसार विपक्ष म्याद बुझेको ३० दिनभित्र अदालतमा उपस्थित हुनुपर्ने प्रावधान थियो । पुरुषले सीधै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न पाउने व्यवस्था थिएन । भदौ १ देखि लागू भएको संहिताअनुसार सम्बन्धविच्छेदको मुद्दा पनि पुरुषले सोझै अदालतमा दर्ता गराउन पाउने व्यवस्था छ ।
रुकुम जिल्ला अदालतका अनुसार पछिल्लो देवानी तथा फौजदारी अपराध कार्यविधि (संहिता) अन्तर्गतका अन्य केही मुद्दा पनि दर्ता भएका छन् ।
प्रकाशित : भाद्र ७, २०७५ १०:४६