३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

बस्ती बन्यो बगर

हरि गौतम

रुकुम पश्चिम — बाँफिकोट गाउँपालिका ३, खारखोलाका बाढीपीडितले सरकारले आफूहरूलाई बेवास्ता गरेको गुनासो गरेका छन् । १५ वर्षअघिका बाढीपीडितलाई सरकारले बेवास्ता गरेपछि जीविकोपार्जनमा समस्या भएको छ ।

बस्ती बन्यो बगर

२०६० साउन अन्तिम साता आएको बाढीले ३२ परिवारलाई घरबारविहीन बनाएको थियो ।

‘खोलो १२ वर्षपछि मात्रै फर्कन्छ भन्छन्, खोलो तीन वर्षमै फर्कियो,’ बाँफिकोट गाउँपालिका–३, का ५४ वर्षीय कर्णवीर नेपालीले भने, ‘हाम्रो अवस्था अझै उस्तै छ ।’ उनका अनुसार सिंगो बस्ती नै खाली भयो । बस्ने घर र अन्न उब्जाउने खेतपाखो बगरमा परिणत भएको उनको गुनासो छ । खार खोला स्यार्पुतालमा मिसिने खोला हो । स्यार्पुतालको जलाधार क्षेत्रबाट झरेको पानी खार खोला हुँदै स्यार्पुतालमा मिसिन्छ ।

१५ वर्षअघि खार खोलामा एउटा बस्ती नै थियो । खोलाभन्दा वारि र पारि गरी ३२ घरपरिवारको बसोबास खार खोलामा थियो । त्यसैमध्येका एक हुन् कर्णवीर । खेत र पाखोबारीबाट भएको उब्जनीले उनको परिवारलाई पुग्थ्यो । खेत र पाखोबारीको उब्जनीले पर्याप्त हुन्थ्यो । बाढी आएको खार खोलामा ३ वर्षपछि स्थानीयले फेरि बस्ती बसाउने प्रयास गरेका थिए । आ–आफ्नो साँध छुट्याएर खेतीपाती सुरु गर्ने उनीहरूको सपना फेरि २०६३ मा आएको बाढीले बगाइदियो । २०६० मा बस्ने बास, खाने गाँस र भाडावर्तनका साथै खेतबारी स्यार्पुमा मिसियो । ३२ परिवार घरबारविहीन बन्दा पनि आफूहररूले केही नपाएको गुनासोपीडितहरूको छ ।

घरगृहस्थी बगेपछि कतिले गाउँ छाड्ने बाध्यता भयो । ‘आफू जन्मेको, बाउबाजेको ठाउँ छाड्न सकिएन, दु:खजिलो जे भए पनि यतै बसेका छौं,’ स्यार्पुतालको किनारै माथिको पाखोमा बस्दै आएका रतिभान कामीले भने, ‘उब्जाउ हुने खेतबारी बगेपछि सानो बास बनाएर बसिरहेका छौं ।’ स्यार्पुतालमा घरबारी मिसिएका अधिकांशले हालसम्म सानो घरसम्म मात्रै जोड्न सकेका छन् । हरेक वर्ष भारतमा मजदुरी गरेर मात्रै त्यो सम्भव भएको स्थानीय जनक विकले बताए ।

‘सरकारी सहयोग शून्य छ, कतिपय विस्थापित हुनुभयो,’ उनले भने, ‘हुने खानेले घर बनाउन सके पनि अरूको अवस्था उस्तै छ ।’ २०६० मा आएको बाढीमा परी ४ जनाको मृत्यु भएको थियो । मृतकका आफन्तलाई समेत सरकारले कुनै क्षतिपूर्ति नदिएको जनकले बताए । यस विषयमा कुनै सूचना र माग नआएको बाँफिकोट गाउँ कार्यपालिकाले जनाएको छ ।

प्रकाशित : भाद्र ७, २०७५ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?