१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

विद्यालयमा स्थानीय पाठ्यक्रम

सल्यान — त्रिवेणी गाउँपालिकाका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू हुने भएको छ । सात वडाका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्नका लागि गाउँपालिकाले तयारी थालेको छ । पाठ्यक्रममा स्थानीय तहका गतिविधि पनि समावेश हुनेछन् ।

विद्यालयमा स्थानीय पाठ्यक्रम

स्थानीय पाठ्यक्रम लागू गर्न पाँच लाख रकम विनियोजन गरिएको छ । गाउँपालिकाले आफैं पुस्तक तयार गरेर विद्यार्थीलाई उपलब्ध गराउने अध्यक्ष मानबहादुर डाँगीले बताए । स्थानीय पाठ्यक्रम कक्षा १ देखि ५ सम्म लागू हुने उनको भनाइ छ । ‘पाठ्यक्रममा स्थानीय भाषा, संस्कृति, वेशभूषा, पर्यटकीयस्थलको जानकारी लगायतका सबैजसो विषय समेटिनेछन्,’ उनले भने,‘यसले विद्यार्थीको सिकाइ स्तर बढ्ने अपेक्षा छ ।’

स्थानीय सरकार भएपछि बालबालिकाले त्यसबारे जान्न आवश्यक रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा २९ सामुदायिक र सात संस्थागत गरी ३६ विद्यालय छन् । १ देखि ५ कक्षासम्म झन्डै पाँच हजार बालबालिका रहेको गाउँपालिकाले जनाएको छ । स्थानीय पाठ्यक्रम अहिले प्रमुख आवश्यकता भएको जनप्रतिनिधिले जनाएका छन् । स्थानीय पाठ्यक्रम सात सय पूर्णांकमै समावेश गरिनेछ । शिक्षा क्षेत्रको सुधारका लागि स्थानीय पाठ्यक्रम लागू गर्न थालिएको गाउँपालिकाले जनाएको छ । शैक्षिक गुणस्तर कायम गर्न गाउँ शिक्षा नीति र ऐन निर्माण गरिसकिएको छ ।

शैक्षिक गुणस्तर सुधारका लागि सबै विद्यालयमा इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गर्न थालिएको छ । पहिलो चरणमा आठ विद्यालयमा विद्युतीय हाजिरी जडान गरिसकिएको प्रमुख प्रशासकीय अधिकृत रेमन्त डाँगीले बताए । उनले गाउँपालिकाका ३६ विद्यालयमै ई–हाजिरीको व्यवस्था गर्ने र सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन गरिने जनाए । उनका अनुसार कम्प्युटर कक्षामा समेत जोड दिइएको छ ।

प्रकाशित : भाद्र ८, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?