कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कर्णालीका मन्त्रीहरुले भ्रमण भत्तामै सके ६ लाख

काठमाडौँ — कर्णाली प्रदेश सरकारले पाँच महिनाको अवधिमा मुख्यमन्त्री/मन्त्रीहरुको दैनिक भ्रमण भत्तामै ६ लाख रुपैयाँ बढी खर्च भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार फागुनदेखि असार मसान्तसम्म मन्त्रीहरुले ६ लाख २ हजार २ सय रुपैयाँ दैनिक भ्रमण भत्ता बुझेका हुन् । 

कर्णालीका मन्त्रीहरुले भ्रमण भत्तामै सके ६ लाख

सात सदस्यीय मन्त्रिमण्डलमा सबैभन्दा बढी भ्रमण भत्ता भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बुझेको मुख्यमन्त्री कार्यालयको वेभसाइटमा उल्लेख छ । उनले एक लाख ४८ हजार २ सय २५ रुपैयाँ बुझेकी छन् । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले एक लाख २९ हजार ३ सय, आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले ९० हजार ४ सय २५, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढाले ७२ हजार ४ सय २५ र भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीले ६४ हजार ७ सय २५ रुपैयाँ भ्रमण भत्ता बुझेका छन् । सबैभन्दा कम सामाजिक विकास मन्त्री दल रावलले ४ हजार ६ सय रुपैयाँ मात्र बुझेका छन् ।


मन्त्रीहरुका तुलनामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुझेको भत्ता भने कम छ । उनले ९२ हजार ६ सय रुपैयाँ बुझेका छन् । मुख्यमन्त्रीलाई विभिन्न कामको सिलसिलामा पटक–पटक संघीय राजधानी र प्रदेश अन्तर्गतका जिल्लाहरुमा दौडधुप गर्नुपर्ने बाध्यता हुन्छ । प्रदेश सरकारबाट मुख्यमन्त्री र मन्त्रिपरिषद् कार्यालयले नै संघीय सरकारसंग आवश्यक सम्पर्क/समन्वय गर्ने गर्दछ । तर, यहाँ मुख्यमन्त्रीको तुलनामा मन्त्रीहरुले भ्रमण भत्ता बढी बुझेका छन् । मन्त्रीहरुले संघीय राजधानी काठमाडौं भ्रमण गरेको विवरण बुझाएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।


व्यक्तिगत कामले भ्रमण गर्ने मन्त्रीहरुले पनि सरकारी खर्च बुझेको भन्दै नागरिक क्षेत्रबाट चर्को आलोचना भएको छ । विवरण सार्वजनिक भएसँगै सरकारलाई अनावश्यक भ्रमणले यातायात खर्च पनि बढ्ने हुँदा मितव्ययीता अपनाउन चौतर्फी दबाब बढेको छ । प्रदेश सरकारले मुख्यमन्त्रीको दैनिक भ्रमण भत्ता दुई हजार पाँच सय र मन्त्रीहरुको दुई हजार रुपैयाँ तोकेको छ । त्यस्तै, मुख्यमन्त्रीले मासिक ५९ हजार ९ सय र मन्त्रीहरुले ५२ हजार रुपैयाँ पारिश्रमिक बुझ्दै आएका छन् ।

प्रकाशित : भाद्र ८, २०७५ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?