२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

भवन निर्माण अलपत्र

दुई वर्ष मै निर्माण हुनुपर्ने भवन ४ वर्षमा पनि अधुरै
भीमबहादुर सिंह

जाजरकोट — खलंगास्थित भेरी ज्ञानोदय क्याम्पसको भवन निर्माण कार्य अलपत्र परेको छ । दुई वर्षमा निर्माण सम्पन्न भइसक्नुपर्ने भवन चार वर्ष बित्दा पनि सम्पन्न हुन सकेको छैन ।

भवन निर्माण अलपत्र

भारतीय राजदूतावासलगायत निकायको लापरबाहीले भवन निर्माण अलपत्र परेको हो । समयमा भवन नबन्दा क्याम्पसको पठनपाठन तथा प्रशासनिक कार्य सञ्चालनमा समस्या भएको छ । भारतीय राजदूतावासको पाँच करोड आर्थिक सहयोगमा भवनको निर्माण जिम्मा कार्य डाँफे कन्स्ट्रक्सन काठमाडौं र खड्का कृष्ण कन्स्ट्रक्सन जाजरकोटले लिएका छन् ।

निर्माण कम्पनीले भवन दुई वर्षभित्र कार्य सम्पन्न गर्ने गरी आर्थिक वर्ष २०७१/७२ मा ठेक्का सम्झौता गरेका थिए । सम्झौता अवधि सकिएकै दुई वर्ष बितिसक्दा पनि काम सम्पन्न हुन नसकेको क्याम्पस प्रमुख चन्द्रबहादुर बुढाले बताए । उनले भवनको भौतिक स्ट्रक्चर निर्माण भइसकेको र फिनिसिङको काम नहुँदा समस्या भएको बुढाको भनाइ छ ।

‘अन्य भवन नहुँदा फिनिसिङ नै नभएको भवनमा पठनपाठन र कार्यालय सञ्चालन गर्न बाध्य छौं,’ उनले भने, ‘सम्बन्धित निकायको ढिलासुस्तीले काम अघि बढ्न सकेको छैन ।

क्याम्पस प्रशासनले निर्माण कम्पनी, जिल्ला समन्वय समिति र दूतावासलाई कार्य सम्पन्न गर्नका लागि पटक पटक ताकेता गरे पनि सुनुवाइ भएन ।’ डाँफे कन्स्ट्रक्सनले तीन करोड १६ लाखमा एउटा भवन र खड्का कृष्ण कन्स्ट्रक्सनले एक करोड ४३ लाखमा अर्को भवन निर्माण ठेक्का लिएको थियो । भारतीय दूतावासबाट समयमा रकम निकासा नहुँदा निर्माण कार्यमा ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधि तेजविक्रम शाहले बताए ।

अधिकांश काम सम्पन्न गरिसकेको र फिनिसिङको काम मात्र बाँकी रहेको शाहको भनाइ छ । उनका अनुसार दूतावासले दुई/दुई वर्षसम्म रकम नपठाउँदा निर्माणमा ढिला भएको हो ।

‘केही दिनअघि मात्र दूतावासले केही रकम निकासा पठाएकाले तत्काल काम सुरु गरिनेछ,’ शाहले भने ।

जिल्ला समन्वय समितिका समन्वय अधिकारी कमलराज भण्डारीका अनुसार दूतावासले जिससमार्फत रकम पठाउने गरेको छ । प्राविधिक जिम्मा जिल्ला प्राविधिक कार्यालयले लिएको छ । ‘दूतावासमा बारम्बार ताकेता गर्दा रकम निकासा भएको छ, तर निर्माणको जिम्मा लिएका व्यवसायीले रकम आइसकेपछि पनि फिनिसिङको काम सुरु गरेका छैनन्,’ उनले भने, ‘निर्माण कम्पनी र दूतावास दुवैको ढिलासुस्तीले काम अलपत्र परेको हो ।’ सुविधा सम्पन्न दुई ठूला भवन अलपत्र हुँदा क्याम्पसको शैक्षिक गतिविधि प्रभावित भएको छ । निर्माण कम्पनीले कुल रकमको ७० प्रतिशत भुक्तानी लिइसकेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भेरी ज्ञानोदय २०४२ सालमा सामुदायिक क्याम्पसका रूपमा स्थापना भएको थियो ।

जिल्लाकै सबैभन्दा जेठो क्याम्पसमा स्नातक तहमा शिक्षा, मानविकी र व्यवस्थापनको पठनपाठन हुने गरेको छ ।

प्रकाशित : भाद्र ९, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?