कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

असारे विकास रोक्न भदौमै काम

भदौमै योजना संचालनका लागि वडामार्फत उपभोक्ता समिति गठन गरी धमाधम काम भइरहेको छ
तुलाराम पाण्डे

कालिकोट — पलाता गाउँपालिकाले आर्थिक वर्षको अन्तिममा हुने असारे विकास रोक्न भदौ पहिलो सातादेखि नै काम सुरु गरेको छ ।

असारे विकास रोक्न भदौमै काम

वैशाख जेठमा सझौता गर्ने र असारको झरीमा हतारमा काम गर्दा कामको गुणस्तर पनि नहुने र अनियमितताको सम्भावना हुने भएकाले आर्थिक वर्षको सुरुदेखि नै योजना सुरु गरिएको हो ।

पलाता कालिकोटको सबैभन्दा विकट र अभावग्रसत क्षेत्रका रूपमा चिनिन्छ । विगतमा असारे विकासले कामको गुणस्तर नभएको, बजेट मात्र सकिएको, काम गर्ने स्थानीयलाई पनि खेतीपातीको काम गर्ने बेला विकास निर्माणको काम गर्नुपर्दा समस्या हुने गरेको थियो ।

भदौ पहिलो सातादेखि योजनाको सम्झौता गरेर काम सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्माले बताए । ‘वर्षको सुरुमै काम गरेपछि समयको पनि चाप हुँदैन,’ उनले भने, ‘उपभोक्तालाई जवाफदेही बनाउन पनि सहज हुन्छ ।’ उनका अनुसार अनुगमनका लागि पनि पर्याप्त समय हुने भएकाले कामको गुणस्तरमा कम्प्रमाइज गर्नुपर्ने अवस्था रहँदैन ।

गाउँपालिकाले वार्षिक कार्ययोजना बनाएर भदौमै योजना सञ्चालनका लागि वडामार्फत उपभोक्ता समिति गठन गरेर अधिकांश योजनाको सम्झौता भएको जनाएको छ ।

वडा तथा गाउँसभा हुँदै योजना तर्जुमा प्रक्रियाबाट छनोट भएका आयोजनाको इस्टिमेट गरेर काम थालिएको नायब सुब्बा राजबहादुर बमले बताए । ‘पहिले जिविस हुने बेला जहिले पनि जेठमा सम्झौता गरेर असारमा काम सक्नुपथ्र्यो,’ बमले भने ‘योजना झारा टार्ने खालका मात्र हुन्थे ।’

गाउँपालिकाले यस वर्षदेखि एक सय ५० जना युवाको सहभागितामा विकास निर्माण कार्यदल गठन गरेको छ । मासिक २४ हजार रकम तलब दिने गरी कार्यविधि पारित गरेर युवा परिचालन गरिएको जनप्रतिनिधिको भनाइ छ ।

युवालाई काम दिन पनि १२ महिना निर्माणको काम गरिने गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । ‘हतार हतारमा काम गर्दा गतिलो हुँदैन,’ अध्यक्ष बमले भने ‘असारे विकासको बेतिथि रोक्न समयमै काम थालनी गरियो ।’ ६ महिनाभित्र काम सम्क्ने गरी उपभोक्ता समितिसँग सम्झौता गरिएको छ । सम्झौता नभएका योजनाका लागि पनि ९ वटै वडा कार्यालयलाई पहल गर्न गाउँपािलकाले पत्राचार गरेको छ । समयमै विकास निर्माणका प्रक्रिया अघि बढाउँदा काम नगरेर भनसुनमा योजना फरफारक गर्न दबाब दिनेको मनोबल घट्ने, गुणस्तरका संरचना बन्ने अध्यक्ष बमले जानकारी दिए ।

पलातामा चालु आर्थिक वर्षमा सञ्चालन हुने २० भन्दा बढी योजनाको सम्झौता भइसकेको छ । असोज मसान्तसम्म एक सय बढी योजनाको सझौता गरेर काम थालिनेछ । अहिले खानेपानी, साना सिँचाइ, विद्युत्, सडक, विद्यालय भवनलगायत पूर्वाधारको काम सुरु भएका छन् । पलातामा यस वर्ष ५० हजारदेखि दुई करोडसम्मका सय बढी योजना छन् ।

तीमध्ये सबैभन्दा बढी वन तथा खानेपानी निर्माण गर्ने टुक्रे योजना छन् । प्रदेश सरकारअन्तर्गतका कार्यक्रममा १३ योजनाका लागि १४ करोड रकम छ । प्रदेश र गाउँपालिका गरी ५ करोड बढी रकम सडक निर्माणमा खर्च गरिनेछ । पलाताले यस वर्ष ४१ करोड रुपैयाँ विनियोजन गरेको छ । गत वर्षको पलाता गाउँपालिकाले सबै क्षेत्रको कुल २३ करोड बजेट अनुमोदन गरेको थियो ।

प्रकाशित : भाद्र ९, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?