२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

पूर्णिमा जात्रामा देउडाको रौनक

सदरमुकाममा जम्मा भएका स्थानीयल जोडी मिलाएर देउडा गीतमै सवालजवाफ गरिरहेछन
जयबहादुर रोकाया

हुम्ला — सदरमुकाम सिमकोटमा धामी नचाउँदै देउडा प्रदर्शन गरेर पूर्णिमा जात्रा सुरु भएको छ । जात्राका कारण सिमकोटमा चहलपहल बढेको छ ।

पूर्णिमा जात्रामा देउडाको रौनक

जात्राका लागि नयाँ कपडा र गहना खरिद गर्ने चलन छ । जात्राका लागि नयाँ कपडा र गहना खरिद गर्ने चलन छ ।

त्रयोदशीका दिनमा सुरु भएर पूर्णिमाको दिनसम्म मेला सञ्चालन हुनेछ । जात्राको अवसरमा देवताको मन्दिरमा धामी नाच हुने गरेको छ । तीन दिनसम्म देउडा नाचेर स्थानीयले रमाइलो गरेका छन् । एकादशीदेखि पूर्णिमासम्म धामी र पुजारीले व्रत बसेर सादा एक छाक खाने गरेका छन् ।

धामी नाचबाट सुरु हुने जात्राको पहिलो दिन त्रयोदशीमा स्याम्नेको मष्टोको माडु (मन्दिरमा) देवताको पूजा गरिन्छ ।

दोस्रो दिन चतुर्दशीमा कालासिल्तो र पूर्णिमाका दिन बाँडफालो देवताको मन्दिरमा पूजा गरी धामी नाच्ने प्रचलन छ । सबै देवताका आआफ्नै धामी र पुजारी हुन्छन् । दिनभरि मिष्ठान्न खाने र धामी नचाउने चलन रहेको अगुवाको भनाइ छ ।

देवताको पूजा पुजारीबाहेक अन्यले गर्न नमिल्ने परम्परा छ । देवताको मन्दिरलाई स्थानीय भाषमा माडु भनिन्छ । पूजाको दिन बिहान ब्राह्मणले माडुमा होम गरेपछि मात्रै पूजा सुरु हुन्छ । पूजा सकिएपछि दिउँसो धामी नाच्ने र नाचपछि मुख्य धामीले महत्त्वपूर्ण भविष्यवाणी गर्ने गरेका छन् । बेलुका युवायुवती देउडा नाचमा रमाउने गर्छन् ।

परेवाका दिनदेखि तीन दिनसम्म देउडा नाचमा रमाउँदै मनोरञ्जन लिने गरिएको छ । जात्रा हेर्न छिमेकी गाउँबाट सबै धर्म र जातजातिका युवायुवती, बालबालिका र वृद्ध आउने गरेका छन् । सदरमुकाममा जम्मा भएका स्थानीयलले आआफ्नो जोडी मिलाई सवालजवाफ गर्दै देउडामा दोहोरी गाउने गरेका छन् । हुम्लामा दसैंभन्दा धामीको नाचलाई महत्त्व दिने प्रचलन छ ।

दसैंमा नयाँ कपडा खरिद नगर्ने यहाँका बासिन्दालाई धामी नाचमा भने नयाँ कपडा लगाउने अनिवार्यजस्तै छ । जात्रामा नयाँ गहना बनाउने, खरिद गर्ने र मिष्ठान्न खाने प्रचलन कायमै छ । जात्राका लागि सुरक्षा व्यवस्था कडा बनाइएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रकाशित : भाद्र ९, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?