कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बेमौसमी तरकारीबाट ५ लाख

भीमबहादुर सिंह

जाजरकोट — भेरी नगरपालिका–५, इभरका मनवीर रोकाय १५ वर्षअघि भारतीय बजारमा काम खोज्दै हिंड्न बाध्य थिए । विगतमा काम खोज्न कालापहाड धाउने उनी हिजोआज आफ्नै खेतबारीमा रमाएका छन् ।

बेमौसमी तरकारीबाट ५ लाख

मनवीरलाई तरकारी बिक्री, गोडमेल, बिउ–बिजनको चाँजोपाँजो मिलाउन भ्याइनभ्याइ छ ।


उनी १२ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । मनवीर भेरी नगरपालिकामा बेमौसमी तरकारी खेती गर्नेमध्येका अब्बल किसान मानिन्छन् । उनी बेमौसमी खेतीबाट मनग्गे आम्दानी लिन सफल भएका छन् । व्यावसायिक तरकारी खेतीबाट उनको वार्षिक पाँच लाख आम्दानी हुने गरेको छ । तरकारी खेतीमा थोरै लगानीबाट धेरै आम्दानी हुने गरेको मनवीरले बताए । ‘व्यावसायिक तरकारी खेतीमा धनको लगानीभन्दा श्रमको लगानी धेरै हुन्छ,’ उनले भने, ‘बिउ किन्नेबाहेक अन्य आर्थिक खर्च छैन ।’


तरकारी खेतीले घरपरिवारको जीवनशैलीमा परिवर्तन ल्याएको उनले बताए । मनवीरले तरकारी उत्पादनबाटै ६० लाख बढी आम्दानी गरिसकेका छन् । तरकारी खेतीको आम्दानीबाट खलंगा बजारमा चारकोठे घर, सुर्खेतमा एउटा घडेरी र इभरमा ५ रोपनी जग्गा जोड्न सफल भएको उनले बताए । तरकारीको आम्दानीबाटै चार छोराछोरीलाई उचित शिक्षाको प्रबन्ध मिलाएको उनको भनाइ छ । ‘गरिबीका कारण मैले पढ्न नपाए पनि नानीबाबुलाई व्यावसायिक शिक्षा पढाउन लागिपरेको छु,’ उनले भने ।


पाँच रोपनी खेतबारीमा व्यावसायिक तरकारी खेती गरेका मनवीरले मलका लागि भैंसी तथा गोरुसमेत पालेका छन् । उनको खेतबारी मकै, गहुँ, जौ, कोदो, धान उत्पादनको साटो मौसमी तथा बेमौसमी तरकारीले हराभरा देखिन्छ । परिश्रम गरे आम्दानीको चिन्ता नहुने उनले बताए । २०६१ सालमा कालापहाडबाट घर फर्केपछि गाउँमै केही गरेर देखाउने उद्देश्यले तरकारी व्यवसाय सुरु गरेको

उनले जनाए ।


इभर गाउँमा प्रगतिशील कृषक समूह स्थापना गरेर व्यावसायिक कृषिसम्बन्धी गतिविधि सञ्चालन गरेको उनको भनाइ छ । तरकारी खेतीका लागि साबिकको जिल्ला कृषि विकास कार्यालयले बीउ, तालिम, ज्ञान तथा सीप र प्रविधिमा सहयोग गरेको छ । २०७१ साल यता उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले सिंचाइ कुलो, सडक निर्माण, टनेल, उन्नत बीउ अनुदानमा सहयोग गरेको छ ।


कृषक समूहका अध्यक्षसमेत रहेका मनवीरले आयोजनाकै कारण व्यावसायिक तरकारी खेतीबाट इभर गाउँका बासिन्दाले आर्थिक आम्दानीमा फड्को मारेको बताए । विगतको निर्वाहमुखी तरकारी खेती व्यावसायिक बनेको छ,’ उनले भने, ‘आम्दानी बढेसँगै समाजमा इज्जत तथा प्रतिष्ठा पनि बढेको छ ।’ तरकारी खेतीमा जिल्लाकै नमुना कृषकका रूपमा परिचित मनवीरले पटकपटक अग्रज तथा उत्कृष्ट किसानको पुरस्कार हात पारेका छन् ।

प्रकाशित : भाद्र १०, २०७५ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?