कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तटबन्ध बगाएपछि बाढी सडकमै

विप्लव महर्जन

सल्यान — अविरल वर्षाका कारण शारदा नगरपालिका र छत्रेश्वरी गाउँपालिकाको सिमानामा पर्ने साँघार खोलाले तटबन्ध बगाएको छ । तटबन्ध बगाएर खोला नै सडकबाट बग्न थालेपछि लान्ती–स्यानीखाल–लेखपोखरा सडक अवरुद्ध भएको हो । 

तटबन्ध बगाएपछि बाढी सडकमै

सडकबाटै खोलो बग्न थालेपछि स्यानीखाल, लेखपोखरालगायत क्षेत्रका दुई हजार बढी घरधुरी प्रभावित भएका छन् । गाडी अवरुद्ध भएपछि स्थानीयवासी घण्टौं पैदलयात्रा गर्न बाध्य छन् । खोलामा पानीको बहाव बढी भएकाले गाडी नै बगाउने खतरा भएको स्थानीयको भनाइ छ ।


स्थानीय पैदल हिंडेरै उपभोग्य सामग्री किन्न लान्तीबजार आउने गरेका छन् । यातायात बन्द भएपछि गाउँमा उत्पादित वस्तु बाहिर लैजान र बाहिरबाट उपभोग्य सामग्री गाउँमा ल्याउन समस्या भएको स्थानीयको गुनासो छ ।


लेखपोखराका व्यापारी चित्रजंग बुढाथोकीले यातायात सेवा बन्द भएपछि गाउँमा उपभोग्य वस्तुको अभाव हुन थालेको बताए । स्थानीयले पिठ्यँुमै बोकेर लान्तीबजारबाट खाद्यान्न ल्याउने गरेका छन् । मोटरसाइकल खेतको आली हुँदै वारपार गराउनुपर्ने बाध्यता भएको उनले जनाए । ‘गाउँमा सडक छ भनेर के गर्नु ?,’ उनले भने, ‘वर्षायामका तीन महिना यातायात ठप्प हुन्छ, त्यसैले गाउँमा उपभोग्य सामानको अभाव हुने गरेको हो ।’


आर्थिक वर्ष २०५५/५६ मा विश्व खाद्य कार्यक्रमको सहयोगमा सडक निर्माण गरिएको हो । बाँधका लागि लगाएको तारजालीसमेत बाढीले बगाएको स्थानीय वेदराज विष्टले बताए । ‘लगातारको वर्षाका कारण सय मिटरभन्दा बढी सडक क्षेत्रमा खोला बगेको छ,’ उनले भने, ‘खोलाले सडकको छेउको भागसमेत कटान गरेको छ ।’ सडक अवरुद्ध भएपछि बिरामीलाई उपचारका लागि लैजान समस्या भएको उनले जनाए । खोला बढ्दै गएकाले आसपासका बस्तीसमेत खतरामा परेका छन् ।


लगातारको वर्षाले जिल्लाका डेढ दर्जन बढी सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरो र बाढीका कारण सडकहरू अवरुद्ध भएका हुन् । सडक खुलाउन पहल गरिए पनि वर्षा जारी रहेकाले समस्या भएको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले बताए । ‘सदरमुकामबाट विभिन्न गाउँमा जोडिने अधिकांश सडक अवरुद्ध भएका छन्,’ उनले भने, ‘स्थानीयवासीले गुनासो गरिरहे पनि वर्षा जारी रहेकाले मर्मतमा समस्या छ ।’

प्रकाशित : भाद्र १०, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?