कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठूला योजना वर्षौंदेखि अलपत्र

राजबहादुर शाही

मुगु — जिल्लामा सञ्चालित ठूलो लगानीका दुई योजना अलपत्र परेका छन् । सरकारले पर्याप्त रकम नछुटयाउँदा रारा विमानस्थल र गमगढी–नाक्चेनाग्ला–तिब्बत जोड्ने सडकमा काम हुन नसकेको हो ।

ठूला योजना वर्षौंदेखि अलपत्र

रारा विमानस्थलको काम सुरु भएको ३५ वर्ष पुगे पनि अझै पूरा हुन सकेको छैन । गमगढी–नाक्चेनाग्ला सडकको गति पनि सुस्त छ । यो सडकमा दशकअघिबाट काम सुरु भएको थियो । विमानस्थलको टर्मिनल टावर, यात्रु जाँच पोस्ट, घेरबार, सार्वजनिक शौचालय र सुरक्षाकर्मी बस्ने भवन अझै बन्न नसकेका हुन् ।

काठको टहरामा उपकरण राखेर जहाज अवतरण गर्ने गरिएको छ । काठकै टहरो बनाएर सुरक्षाकर्मीले यात्रु जाँच गर्छन् । वरिपरि गतिलो घेरबार नहुँदा कुकुर र चौपाया धपाउन सुरक्षाकर्मीलाई हैरानी हुने गरेको छ । छायाँनाथ–रारा नगरपालिका ४, का वडाध्यक्ष विष्णुकुमार भामले विमानस्थलको काम ‘कछुवा गति’ मा भइरहेको बताए ।

ढल निकास नहुँदा थप समस्या भएको विमानस्थलका कर्मचारी बताउँछन् । चालु आवमा टर्मिनल टावरलगायत अन्य भौतिक पूर्वाधारका संरचना निर्माण गर्न १५ करोड बजेट माग गरिएको थियो । तर, स्वीकृति भएर नआएको विमानस्थल सुधार आयोजना प्रमुख प्रकाश श्रेष्ठले बताए ।

उनका अनुसार विमानस्थल तलमाथि रिटेनिङ वाल लगाउने काम भइरहेको छ । ‘कहिले बजेट अभाव त कहिले समयमा काम नहुँदा समस्या भयो,’ उनले भने, ‘वर्षायाममा जहाज ग्राउन्ड गर्ने पार्किङमाथि र दक्षिण–पूर्वपट्टिको भागमा पहिरो जाँदा समस्या भएको छ ।’ निर्माण सुरु भएदेखि हालसम्म २७ करोड बढी खर्च भइसकेको आयोजनाले जनाएको छ ।

यस्तै मुगुलाई छिमेकी जिल्ला र तिब्बत जोड्न सुरु गरिएको गमगढी–नाक्चेनाग्ला सडक पनि अलपत्र छ । सडक डिभिजन कार्यालय प्रमुख माधव अधिकारीका अनुसार यस वर्ष सडकका लागि सरकारले एक रुपैयाँ पनि विनियोजन गरेको छैन ।

गमगढीदेखि छाइलसम्म ठेकेदारमार्फत डोजरले सडक निर्माण गरेको छ । ८५ किमि लम्बाइको यो सडकले गति नलिँदा सडक सुविधाबाट सर्वसाधारण वञ्चित छन् । करिब १७ किमि मात्र ट्रयाक ओपन गर्दा १० करोड बजेट खर्च सडक डिभिजनले जनाएको छ । जिल्लाका २ ठूला योजनाले गति नलिँदा स्थानीयले विकासको अनुभूति गर्न नपाएको जिल्ला समन्वय समिति प्रमुख पूर्णबहादुर रोकायाले बताए ।

दुवै योजनाको निर्माणलाई गति दिन सरकारले पहल गरिरहेको प्रतिनिधिसभा सदस्य गोपाल बमको भनाइ छ । उनले मन्त्रीले पनि सकारात्मक जवाफ दिएकाले दुवै योजनाले यसै वर्षबाट गति लिने जानकारी दिए ।

प्रकाशित : भाद्र ११, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?