कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

ब्राह्मणद्वारा रक्षाबन्धन बहिष्कार

ज्योति कटुवाल

दैलेख — यहाँका ब्राह्मणले रक्षाबन्धन बहिस्ष्कार गरेका छन् । भर्खरै लागू भएको मुलुकी संहितामा ब्राह्मणको स्वतन्त्रता कुण्ठित गरिएको भन्दै बहिस्ष्कार गरेका हुन् । उनीहरूले स्थानीय एफएम रेडियोमा सूचना प्रसारण गरेर रक्षाबन्धनमा भाग लिएनन् ।

ब्राह्मणद्वारा रक्षाबन्धन बहिष्कार

२०६५ सालमा दलितलाई रक्षाबन्धन बाँध्न स्थानीय पण्डित तिलकप्रसाद उपाध्यायले इन्कार गरेपछि उनलाई जातीय भेदभावविरुद्धको मुद्दा चलाइएको थियो । यसपालि पनि त्यस्तै मुद्दाको सामना गर्नु नपरोस् भन्दै उनीहरूले रक्षाबन्धनमा सहभागी नहुने घोषणा गरेका थिए । ब्राह्मणहरूले आफूहरूलाई पटक–पटक जातीय विभेदका नाममा अपमान गर्न खोजेको बताएका छन् ।

संविधानले समेत आफूहरूलाई विभेद गरेको उनीहरूको भनाइ छ । ब्राह्मण/क्षत्रीलाई वृद्धभत्ता पाउन ७० वर्ष पुग्नुपर्ने र दलितलाई ६० वर्षमै दिने नियमले आफूहरू अन्यायमा परेको उनीहरूको भनाइ छ । ‘राज्यले हामीहरूलाई हरेक स्थानमा विभेद गरेको छ,’ पण्डित नरेन्द्र उपाध्यायले भने, ‘स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकारसमेत हनन गरेकाले रक्षाबन्धन बहिष्कार गरेका हौं ।’ उनका अनुसार ब्राह्मणमाथि जबरजस्ती कानुन लाद्न खोजिएको छ ।

पुरोहितको काम परापूर्वकालदेखि गरिआएको भए पनि नयाँ ऐनमा केही बाध्यकारी व्यवस्था ल्याइएकाले रक्षाबन्धनमा सहभागी नभएको ब्राह्मणको भनाइ छ । विगतदेखिको परम्परा तोडेर जान नसक्ने भए पनि आफूहरूलाई बाध्य पार्न खोजिएको पण्डित सूर्यनारायण उपाध्यायले बताए । ‘अहिले हामीले रक्षाबन्धन मात्र बहिष्कार गरेका छौं,’ उपाध्यायले भने, ‘राज्यले नियन्त्रण गर्न खोज्यो भने सबैखाले धार्मिक कार्य बहिष्कार गर्न बाध्य हुनेछौं ।’

दलित अधिकारकर्मी अमर सुनारले दलित समुदायलाई हेला गर्न ब्राह्मणले रक्षाबन्धन बहिष्कार गरेको दाबी गरे । उनले अघिल्ला वर्षमा पनि ब्राह्मणले यस्तै चरित्र देखाएको बताए । उनका अनुसार स्थानीय ब्राह्मणले रक्षाबन्धन नबाँधिदिएपछि जाहारकोटका अपरिचित ब्राह्मणबाट दलितले रक्षाबन्धन बाँधेका छन् । यस वर्ष दलिहरूलाई जनै र रक्षाबन्धन दिनुपर्छ भनेर नै ब्राह्मणले बहिष्कार गरेको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले रक्षाबन्धन बहिष्कार उनीहरूको व्यक्तिगत स्वतन्त्रता भएको बताए । उनले केही पण्डित र ब्राह्मणलाई कार्यालयमा बोलाएर छलफल गरिएको जनाए । ‘सार्वजनिक स्थानमा जातीय विभेद गर्न नहुने धारणा मैले राखेको थिएँ,’ उनले भने, ‘कसैले रक्षाबन्धनमा सहभागी हुन सक्दिन भन्यो भने प्रशासनले केही गर्न सक्दैन ।’ उनले रक्षाबन्धनका कार्यक्रममा सहभागी हुन ब्राह्मणलाई आग्रह गरिएको भए पनि नमानेको दाबी गरे ।

प्रकाशित : भाद्र ११, २०७५ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?