कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

नहर बगाएपछि विद्युत् अवरुद्ध

भीमबहादुर सिंह

जाजरकोट — गत साउन २९ गते झुमरा खोलामा आएको बाढीले नहर बगाएपछि नलगाड नगरपालिकाका ६ वटा लघुजलविद्युत् आयोजना बन्द भएका छन् । आयोजना बन्द भएपछि नलगाडका करिब चार हजार घरधुरी अँध्यारोमा बस्न बाध्य छन् ।

नहर बगाएपछि विद्युत् अवरुद्ध

बाढीले कुलो, बाँधस्थल, पावरहाउसलगायत संरचनामा क्षति पुर्‍याएको छ । विद्युत् आपूर्ति बन्द हुँदा नलगाडको नगर उज्यालो कार्यक्रमसमेत प्रभावित भएको छ ।

बाढीपहिरोले ४५ किलोवाटको बागमारे लघु जलविद्युत्, १५ किलोवाटको झुमराखोला लघु जलविद्युत्, ८ किलोवाटको सिलिपलाउन लघु जलविद्युत्, १५ किलोवाट सिलिपलाउन स्याँला धर्मशाला लघु जलविद्युत्, १६ किलोवाट लहरेखोला लघु जलविद्युत् र १३ किलोवाट लहरे लघु जलविद्युत् आयोजनाको संरचनामा क्षति पुर्‍याएको छ ।

नगरप्रमुख टेकबहादुर रावलका अनुसार बाढीपहिरोले ६ वटा लघुजलविद्युत्को नहर, पावउरहाउस, बाँधस्थल लगायतमा क्षति पुर्‍याएको छ । बाढीले सबै जलविद्युत् आयोजनाको दुई सयदेखि तीन सय मिटर पक्की नहर बगाएको उनले बताए । विद्युत् आपूर्ति बन्द भएपछि नलगाड नगरपालिका २, ३, ४ र ५ वडाका चार हजार घरपरिवार विद्युत् सेवाबाट वञ्चित भएका हुन् । ‘बाढीले लाखौं खर्चेर निर्माण गरिएका पक्की नहर बगाएकाले तत्काल मर्मतसम्भार गर्न समस्या छ,’ रावलले भने, ‘विद्युत् आयोजनाको संरचना पुनर्निर्माणका लागि नगरको बजेटले भ्याउन सक्ने अवस्था छैन ।’

उनले विद्युत् आयोजना मर्मत गरेर छिटोभन्दा छिटो विद्युत् सुचारु गर्नका लागि प्रदेश तथा केन्द्र सरकारसँग बजेट माग गरिएको बताए । नलगाडअन्तर्गतका घुवारा, पीपलचौर, खन्टाकुरा, थाप्ला, कालिमाटी बजार, दल्लीलगायतका स्थानका बासिन्दा विद्युत् उपभोगबाट वञ्चित भएका हुन् ।

विद्युत् अभावमा स्थानीय बासिन्दाका साथै सरकारी कार्यालय, वित्तीय संस्था, विद्यालयलगायत संघसंस्थाको काम प्रभावित भएको छ । नलगाड–५, की देवी बटालाले विद्युत् आपूर्ति नहुँदा मोबाइलमा कुराकानी गर्न, टेलिभिजन हेर्न, कुटानी पिसानी गर्न, फर्निचरलगायतका घरेलु उद्योग सञ्चालन गर्न समस्या भएको बताइन् ।

उनले विद्युत् सेवा नहुँदा जनजीवन प्रभावित भएको जनाइन् । विद्युत नहुँदा सयौं विद्यार्थीको पठनपाठन पनि वाधा पुगेको उनको भनाइ छ । बाढीका कारण फेरि टुकीको भर पर्नुपरेको उनले गुनासो गरिन् ।

प्रकाशित : भाद्र ११, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?