संसद् बैठक अनिश्चित

प्रकाश अधिकारी

सुर्खेत — साउन २५ गतेदेखि स्थगित भएको कर्णाली प्रदेशसभा बैठक अनिश्चित बनेको छ । पर्याप्त ‘बिजनेस’ नपाएर स्थगित भएको बैठक अझै सुचारु हुन सकेको छैन । पछिल्लो अवधिमा सरकारले दुई विधेयक संसद् सचिवालयमा दर्ता गरेको छ ।

सभामुखसहित संसद्को कार्य व्यवस्था परामर्श समितिका सदस्यहरू सबै प्रदेशबाहिर छन् । नेकपाका नेताहरू प्रदेश र स्थानीय कमिटीहरूको नेतृत्व चयनमा व्यस्त भएकाले सांसदहरू पनि संघीय राजधानी काठमाडौं पुगेका छन् ।


आ–आफ्नो जिल्लाको नेतृत्वमा आफू अनुकूलका व्यक्तिलाई बनाउन प्रदेशसभा सांसदहरू
पनि लबिइङमा व्यस्त छन् । यसले गर्दा कार्य व्यवस्था परामर्श समितिको बैठक पनि बस्न नसकेको हो । समितिका अधिकांश सदस्यहरू नेकपाको प्रदेश राजनीतिमा प्रभावशाली
भूमिकामा छन् । जसले गर्दा संसद् बैठक नै अनिश्चित बन्न पुगेको हो ।

Yamaha


सभामुख राजबहादुर शाहीले प्रदेशसभा बैठक बोलाउने तयारी भइरहेको बताए । ‘सरकारलाई विधेयक निर्माण गर्न केही समय आवश्यक परेकाले स्थगित गर्नुपरेको हो,’ उनले भने, ‘यस अवधिमा सरकारले आवश्यक विधेयक संसद् सचिवालयमा दर्ता गरिसकेको छ, अबको केही साताभित्रै बैठक बोलाउने गरी दलहरूबीच छलफल भइरहेको छ ।’ सभामुख शाहीले वर्षे अधिवेशनले प्रदेशका लागि केही अत्यावश्यक विधेयकहरू पारित गरेर अन्त्य हुने बताए । उनले संसदीय समितिलाई बढी सक्रिय र जिम्मेवार बनाइने बताए ।


प्रदेश सभामुख/उपसभामुख संघीय संसद् सचिवालयले काठमाडौंमा आयोजना गरेको संसदीय अभ्याससम्बन्धी अनुभव आदानप्रदान कार्यक्रममा सहभागी भएका थिए । संसद स्थगित भएको अवसर छोपेर उनीहरूले राष्ट्रपति र प्रधानमन्त्री पनि भेटेका थिए ।


संसद् बैठक लामो समय स्थगित भएपछि प्रदेशसभा अन्तर्गतका चारवटै संसदीय समितिहरू पनि निष्क्रिय छन् । उनीहरूले नेतृत्व र कार्यविधि तय गर्न सकेका छैनन् । समिति गठन भएको चार महिना बितिसक्दासमेत नेतृत्व टुंगो लागेको छैन । विधायन तथा प्रदेश मामिला, अर्थ तथा प्राकृतिक स्रोत, सार्वजनिक लेखा र सामाजिक विकास समिति छन् । सत्तारूढ दल एमाले र माओवादी केन्द्रबीचको एकतापछि दलको नेता चयनमा भइरहेको रस्साकस्सीको असर संसदीय समितिसम्म परेको हो । पार्टी एकतापछि बनेको नेकपामा सभामुखबाहेक ३३ सांसद छन् ।


‘मिनिसंसद्’ भनिने संसदीय समितिहरूले सरकार र सरकार मातहतका निकायहरूले सञ्चालन गरेका काम कारबाहीको अनुगमन, सरकारलाई आवश्यक सुझाव निर्देशन, विधेयकमाथि छलफल गर्नुका साथै संसद् र सरकारबीच समन्वय गर्ने गर्छन् । संसद्को चैत २६ को दसौं बैठकले समिति गठन गरेको थियो ।


समितिले हालसम्म प्रदेश सरकारलाई ठोस सुझाव/निर्देशन दिन सकेका छैनन् । संसदीय समितिले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्दा सरकार मनपरी ढंगले सञ्चालन हुँदै आएको प्रतिपक्षी सांसद्को आरोप छ । यसैबीच, संसद्को सामाजिक विकास समितिले प्रस्तावित सहकारी विधेयकलाई जनताको राय सुझाव संकलन गर्न थालेको छ । समितिको आयोजनामा सोमबार पश्चिम रुकुमको चौरजहारीमा समितिले सुझाव संकलन गरेको हो । समितिले विधेयकमाथि भदौ १४ गते जुम्लामा सुझाव संकलन गर्नेछ । प्रदेशसभाले विधेयक छलफलका लागि जनतामाझ लिएको यो पहिलो विधेयक हो । हालसम्म बनेका कानुनहरू प्रदेशसभामा छलफलबाट मात्र पारित हुने गरेका थिए ।


सरकारले १३ कानुन निर्माण गरिसकेको छ । प्रदेशसभाबाट पारित विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि ऐनका रूपमा लागू हुने संवैधानिक प्रावधान छ । स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, वित्तीय हस्तान्तरण व्यवस्थापनसम्बन्धी विधेयक, कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गाउँ/नगर सभाका कानुन निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धी कानुन तर्जुमा गर्न बनेको विधेयक लगायत पारित भइसकेका छन् ।

प्रकाशित : भाद्र १२, २०७५ ०९:१९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सोलार पम्पिङबाट खानेपानी

‘पानीकै पिरलोले छोराछोरीको पढाइ बिग्रेको थियो,’ देवस्थलकी कल्पना विकले भनिन्,‘सोलारबाट तानेपछि त आँगनमै आयो ।’
प्रकाश अधिकारी

सुर्खेत — बराहताल गाउँपालिका–५ स्थित चेपाङ बस्तीलाई दशकौंदेखि खानेपानीकै समस्याले पिरोलेको थियो । बस्तीदेखि करिब ९ सय मिटर तल मुहान हुँदा खानेपानी लिन बाटोमै समय बित्थ्यो ।

सुर्खेतको भेरीगंगा नगरपालिका लेखपराजुलस्थित माथिल्लो भर्‍याङमा सौर्य ऊर्जा पानी पम्पिङ आयोजना । तस्बिर : कान्तिपुर

‘बस्तीदेखि मुहान धेरै तल रहेको’ कारणले विगतमा यहाँ खानेपानी योजना नै पारिन्थेन । त्यही भएर उपभोक्ताले आफ्नो बस्तीमा पानीको योजना आउला भन्ने आशा पनि मारिसकेका थिए ।

जब, सौर्य उर्जाको माध्यमबाट बस्तीभन्दा तल रहेको मुहानको पानीलाई लिफ्ट गर्ने योजना आयो तब चेपाङवासीमा खुसीको सीमा नै रहेन । श्रमदान जुटाएर ‘असम्भव’ ठानिएको योजना पूरा गर्न कम्मर कसे । स्थानीय गौमती राम्जालीले आफूहरूको ठूलो समस्या अन्त्य भएको बताइन् । ‘त्यति तलबाट पानी के आउला भनेर पत्याएकै थिएनौं, उनले भनिन्, ‘घर–घरमा धारा हुँदा पानीको दु:ख सकियो ।’ ५३ घरधुरीले पिउनेपानीका साथै पर्याप्त सिँचाइ सुविधा पाएका छन् ।

दलित, जनजाति र चेपाङको बाहुल्य बस्ती खानेपानी समस्या समाधानपछि व्यावसायिक तरकारी खेतीमा जुटेको छ । नजिकै बजार भएकाले कृषकहरूमा उत्पादन कसले बढी गर्ने भन्नेमै प्रतिस्पर्धा चलेको छ । ३१ सय २० वाट क्षमताको सोलारले पम्पिङ गरेर बस्तीमाथि २ ट्यांकीमा पानी भण्डारण हुने गर्दछ । फिल्टर ट्यांकीबाट १३ धारामा आपूर्तिको व्यवस्था मिलाइएको छ ।

बराहताल गाउँपालिका, सुन्दर नेपाल संस्था र उपभोक्ताको संयुक्त प्रयासमा खारेपानी ग्रामीण सौर्य ऊर्जा बहुउद्देश्यीय पानी प्रणाली परियोजना सम्पन्न भएको हो । सोलार मुस दोस्रो चरणअन्तर्गत गत वर्ष वैशाखदेखि निर्माण सुरु आयोजना हालै सम्पन्न भएको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, सोलार मुस, गाउँपालिका र समुदायको सहयोगमा २९ लाख १८ हजार रुपैयाँमा योजना सम्पन्न भएको हो ।

गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले भौगोलिक विकटता कारण सोलार लिफ्टिङ योजना प्रभावकारी भएको बताए । ‘असम्भव देखिने ठाउँबाट खानेपानी आएपछि उपभोक्ता हर्षित छन्, यसले हामीलाई पनि उत्साह थप्यो,’ उनले भने, ‘लेखगाउँ र चेपाङ भेरी छालमा पनि यस्तै आयोजना सञ्चालन गर्दैछौं ।’ यी आयोजनाका लागि प्रदेश सरकार र दातृ निकायसँग बजेट माग गर्ने उनले बताए ।

खारेपानीजस्तै सुर्खेतका अन्य तीन स्थानमा पनि सौर्य ऊर्जा बहुउद्देश्यीय पानी प्रणाली सञ्चालनमा आएको छ । त्यसका लागि रिन्युएबल वल्र्डले आर्थिक तथा प्राविधिक व्यवस्थापन जुटाएको हो । भेरीगंगा नगरपालिकामा पर्ने देवस्थल, माथिल्लो भर्‍याङ र गुर्भाकोट नगरपालिकाको नादेकोटमा सौर्य ऊर्जाबाट पानी पम्पिङ गरिएको छ । यी आयोजना हालै सम्पन्न भएका छन् । आमखोली गोठेली आयोजनामा ५२ सय वाटको सोलार जडान गरिएको छ ।

अग्लो स्थानमा बस्ती हुनु र नजिकै पानीका मुहान नहुँदा स्थानीयले वर्षौंसम्म दु:ख झेल्नुपरेको थियो । ‘गाग्रीमा पानी बोकेरै दिन बिते, पानीकै पिरलोले छोराछोरीको पढाइ बिग्रेको थियो,’ देवस्थलकी कल्पना विकले भनिन्, ‘हामीलाई त विश्वासै थिएन, सोलारबाट तानेपछि त आँगनमै आयो ।’

लिफ्टिङ गरेर माथिल्लो भर्‍याङमा एक सय ८६ मिटर र देवस्थलमा ८४ मिटरमाथि पानी लगिएको छ । माथिल्लो भर्‍याङमा ३९, देवस्थलमा २९ र गुर्भाकोटको नादेकोटमा १३ घरधुरीले खानेपानीको सुविधा उपभोग गर्न पाएका छन् ।

प्रकाशित : भाद्र ८, २०७५ ०९:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT