कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

तीन गाउँपालिका विद्युतविहिन

कालीमाटी, कुमाखमालिका र दार्मा गाउँपालिकामा विद्युतीकरण नहुँदा स्थानीयवासी अँध्यारोमा
विप्लव महर्जन

सल्यान — जिल्लाका करिब ३४ हजार घरधुरीमा अझै विद्युत् सेवा पुग्न सकेको छैन । कालीमाटी, कुमाखमालिका र दार्मा गाउँपालिकामा विद्युतीकरण नहुँदा स्थानीयवासी अँध्यारोमा बस्न बाध्य छन् ।

तीन गाउँपालिका विद्युतविहिन

तीनवटै स्थानीय तहका जनप्रतिनिधिले एक वर्षभित्रै विद्युत् सुविधा पुर्‍याउने प्रतिबद्धता गरे पनि पुरा भएन । विद्युत् नहुँदा गाउँपालिका तथा विषयगत कार्यालयका कामकाज समेत प्रभावित बनेका छन् । कम्प्युटरबाट हुने कामकाजका लागि कर्मचारीलाई सदरमुकाम जानुपर्ने बाध्यता छ । बिजुली अभावमा गाउँपालिकाले दिने सेवा पूर्णरूपमा दिन नसकिएको जनप्रतिनिधिले बताउँदै आएका छन् । केही गाउँपालिकाका केन्द्रमा सोलार जडान गरिएको छ तर वर्षाका कारण चार्ज नहुँदा समस्या भएको छ ।


विद्युत् अभावका कारण स्थानीयको जनजीवन प्रभावित बनेको छ । स्थानीयलाई मोबाइल चार्ज गर्न समेत समस्या छ । त्यस्तै, विद्युत् नहुँदा बालबालिकाको पठनपाठनमा समस्या भएको छ । गत आर्थिक वर्षमा बजेट विनियोजन गरिएको भए पनि प्राविधिक समस्या तथा विद्युत प्राधिकरणसँग समयमै समन्वय हुन नसक्दा समस्या भएको जनप्रतिनिधिको भनाइ छ । विद्युत् समस्याका कारण ग्रामीण क्षेत्रका बासिन्दा सौर्य ऊर्जा, टुकी तथा दियालोकै भरमा रात बिताउन बाध्य छन् ।


सबै गाउँपालिकाले टेन्डरको प्रक्रिया आफैं अगाडि बढाएका थिए । ढिलो गरी टेन्डर भएका कारण विद्युत्को काम प्रभावित बनेको हो । विद्युत् प्राधिकरण सल्यानका प्रमुख रासरण तिमिल्सिनाका अनुसार जिल्लाका ४६ हजार घरधुरीमध्ये अहिलेसम्म ११ हजार ६ सयमा मात्र विद्युत् सुविधा छ । उनले ३४ हजार घरधुरी विद्युत् सेवाबाट अझै वञ्चित रहेको बताए । सबैजसो स्थानीय तहले केही ठाउँमा पोल गाड्ने काममात्र सकेका छन् । तार तान्ने, ट्रान्समिटर जडान गर्ने लगायतका अधिकांश काम अधुरै छन् । विद्युतीकरणको पहिलो प्राथमिकता गाउँपालिकाका केन्द्र रहेको स्थानलाई दिइएको छ ।


कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले गत वर्ष सात वडामा विद्युतीकरणका लागि एक करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको बताए । ‘प्राविधिकको अभाव तथा विद्युत् प्राधिकरणसँग समन्वय अभावका कारण गतवर्ष विद्युतीकरणको काम सुरु हुन सकेन,’ उनले भने ।

प्रकाशित : भाद्र १२, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?