घरमाथि पहिरो

पहिरोले दुई घर पुरेको छ भने एक सय आठ घर उच्च जोखिममा

कालीकोट — आइतबार रातिदेखिको अविरल वर्षाले खाँडाचक्र नगरपालिका ५, मोल्फामा पहिरो गएको छ । पहिरो मोल्फा बजारको माथि घोडेना गाउँबाट खसेको हो । पहिरोले स्थानीयका दुई घर पुरेको छ भने एक सय आठ घर जोखिममा परेका छन् ।

घरमाथि पहिरो

करिब ३ किलोमिटर माथिबाट पहिरो झरेको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक विनोद शर्माका अनुसार पहिरोले मोल्फा बजारका ५२ घर र माथिका ५६ घर प्रभावित भएको बताए । ११ वर्षअघि यही ठाउँमा भीषण पहिरो जाँदा घोडेमाका एक दर्जन घर र मोल्फाबजारका २२ वटा घर भत्किएका थिए । पहिरो रोकथामका लाथि तत्कालीन जिल्ला दैवी प्रकोप उद्धार समिति कालीकोटले ग्याबिन जाली उपलब्ध गराएको थियो । पहिरो ११ वर्षसम्म रोकिए पनि लगातारको वर्षाले मोल्फा बजार पूरै बग्ने अवस्था रहेको स्थानीय भीमहरि प्राविका प्रधानाध्यापक दानबहादुर सेजुवालले बताए ।


अन्यका घर पनि उच्च जोखिममा रहेकाले उद्धारमा खटिएको प्रहरी निरीक्षक निरोज चौंलागाईले बताए । ‘पानी निरन्तर परिरहेको छ,’ प्रहरी निरीक्षक चौंलागाईले भने, ‘गाउँ पूरै जोखिममा छ ।’
स्थानीयलाई सार्ने ठाउँ गतिलो नभएकाले कठिनाइ भएको खाँडाचक्र नगरप्रमुख जसीप्रसाद पाण्डेले बताए । उनले घोडेना गाउँको कालिका आधारभूत विद्यालय पनि गत साउनमै पहिरोले भत्काएपछि विकल्प नभएको जनाए ।


सोमबार बिहानदेखि पहिरो जान सुरु गरेकाले जिल्ला विपद् व्यवस्थापन समितिले उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, रेडक्रसकर्मी लगायतलाई परिचालन गरेको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए । पहिरो खसेको ठाउँको पानी तर्काउन खानेपानी तथा सरसफाइ कार्यालयबाट ७ सय मिटर ५० एमएमको एचडीपी पाइप उपलब्ध गराइएको छ । स्थानीयले नजिकका घरमा सारिएको ५ नम्बर वडाका अध्यक्ष खडानन्द चौंलागाईले बताए ।

प्रकाशित : भाद्र १२, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?