कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पुल बगाएपछि सास्ती

आधा घण्टाको बाटो एक दिन
भीमबहादुर सिंह

जाजरकोट — नलगाड नगरपालिका–३, कटेका गोवर्धन वलीलाई सोही वडाको कैनाबजारस्थित स्वास्थ्य चौकीमा उपचारका लागि पुग्न ५ घण्टा पैदल हिंड्नुपर्ने बाध्यता छ । त्यस्तै विद्यार्थी राजेन्द्र वली पनि सुर्योदय माध्यमिक विद्यालय कैना पुग्न उति नै समय हिंड्छन् ।

पुल बगाएपछि सास्ती

उनी ९ कक्षामा अध्ययनरत छन् । उनीहरू मात्र हैन, कटेका दर्जनौं स्थानीय कैनाबजारस्थित वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालयलगायत संघसंस्थाबाट सरकारी सेवा लिन र दैनिक उपभोग्य वस्तु किन्न दिनभर पैदल हिंड्न बाध्य छन् ।


खोलामा पुल नभएपछि उनीहरू आधा घण्टाको बाटो एक दिन हिंड्न बाध्य भएका हुन् । त्यस्तै झमरा खोलामा पुल नहुँदा उनीहरूलाई सदरमुकाम खलंगा आउनका लागि रुकुमको आठबीसकोट भएर एक दिनको लामो दूरी हिंड्नुपर्ने बाध्यता भएको छ ।


बाढीले विभिन्न खोलामा पुल बगाएपछि नलगाडका हजारौं स्थानीय बासिन्दालाई आवतजावतमा सास्ती भएको छ । गत साउन २९ गते नलगाड नगरपालिकाको झुमरा खोलामा आएको बाढीले ट्रस ब्रिज तथा काठेपुल बगाएपछि स्थानीय बासिन्दालाई आवतजावतमा सास्ती भएको हो ।


बाढीले नलगाड नगरपालिका २, ३, ४, ५ र ६ वडामा ३ ट्रस ब्रिज तथा २ दर्जन काठेपुल बगाएको हो । बाढीका कारण झुमराखोला, गराग्ली खोला, हम्काखोला, विराखोला, साङ्ट, पिउली, तल्लो गराग्ली, नहकुली, करुवा, कटे, औला, गुदाले, सिर्के, जुगेखोलालगायत खोलाका पुल बगेका छन् । पुल बगाएपछि दर्जन विद्यालयका एक हजार विद्यार्थीे पठनपाठनबाट बन्चित भएका छन् ।


बाढीले कालिमाटी र घुवारामा रहेको ट्रस ब्रिज बगाउँदा बारेकोट गाउँपालिका, जुम्ला र डोल्पा जाने–आउने बाटोसमेत अवरुद्ध भएको छ । त्यस्तै बाढी र पहिरोका कारण स्थानीय बासिन्दाका ४१ घर, दुई दर्जन खानेपानी योजना, आधा दर्जन लुघु जलविद्युत् आयोजना, एक सय पानी घट्ट, चारवटा मिल, आधा दर्जन सडक, हजारौं रापेनी खेतीयोग्य जमिनलगायत संरचना क्षति भएका छन् ।


पुल नहुँदा पिउली, राता, भारगाउ, थाप्ला, लहँ, गर्छिना, करुवा जानेआउने बाटो बन्द भई स्थानीय बासिन्दा आन्तरिक नाकाबन्दीमा परेको वडाअध्यक्ष पूर्णबहादुर खडकाले बताए । ‘गाउँलेहरूले दुई सातादेखि एक गाउँबाट अर्को गाउँसम्म आवतजावत गर्न पाएका छैनन्,’ उनले भने । बाढीले स्थानीय बासिन्दाका २६ घर बगाएको र १५ घरमा आंशिक क्षति पुर्‍याएको खडकाले बताए । बाढी तथा पहिरोले पुल, जलविद्युत, खानेपानी, खेतीयोग्य जमिन, सडकलगायत भौतिक संरचनामा करोडौंको क्षति पुर्‍याएको भन्दै नगरपालिकाले सम्बन्धित पक्षसँग सहयोगको अपिल गरेको नगरप्रमुख टेकबहादुर रावलले बताए ।


‘पुल बगाउँदा नाकाबन्दीजस्तै भएको छ, गाउँभरि खानेपानीको हाहाकार छ, विद्यार्थी विद्यालयमा गएर पढ्न पाएका छैनन्,’ नगरप्रमुख रावलले भने, ‘खोलामा अस्थायी लाप्का बनाएर भए पनि आवतजावत खुलाउने प्रयासमा छौं ।’ खोला पुल नहुँदा दैनिक उपभोग्य वस्तुको आपूर्ति हुन सकेको छैन । उनका अनुसार दुई दर्जन गाउँमा खाद्यान्नलगायतको अभाव देखिएको छ ।


प्रकाशित : भाद्र १३, २०७५ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?