१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

दुल्लुलाई स्मार्ट सिटी बनाइँदै

स्मार्ट सिटी निर्माणका लागि पहुँच बाटो, खुला क्षेत्र, प्लटसम्बन्धी व्यवस्था, सडक अधिकार क्षेत्र, पार्किङको व्यवस्थाबारे अध्ययन
ज्योति कटुवाल

दैलेख — दुल्लु नगरपालिकालाई स्मार्ट सिटी बनाउन आवश्यक रणनीतिबारे आवश्यक छलफल सुरु गरिएको छ । नयाँ सहर आयोजना समन्वय कार्यालयको आर्थिक वर्ष ०७४/७५ को कार्यक्रमअनुसार दुल्लुलाई स्मार्ट सिटी बनाइन लागिएको हो ।

दुल्लुलाई स्मार्ट सिटी बनाइँदै

स्मार्ट सिटीका लागि परामर्शदाता र सरोकारवालाबीच अन्तक्र्रियाको आयोजना गरियो । सरकारले १० नगरलाई स्मार्ट सिटी बनाउन थालेको हो । स्मार्ट सिटीका लागि यसै वर्षदेखि काम सुरु हुने कार्यालयले जनाएको छ । कार्यालयका अनुसार त्यसबारे आवश्यक छलफल र स्थलगत रिपोर्ट तयारीको काम भइरहेको छ ।


नयाँ सहर आयोजनाका निर्देशक पराग कायस्थका अनुसार पहिलो चरणमा निजगढ, लुम्बिनी र पालुङटारमा पहिलो चरणको कार्यक्रम सञ्चालन गरिसकिएको छ । स्मार्ट सिटी निर्माणका लागि पहुँच बाटो, खुला क्षेत्र, प्लटसम्बन्धी व्यवस्था, सडक अधिकार क्षेत्र, पार्किङको व्यवस्थाबारे अध्ययन थालिनेछ । त्यस्तै वस्तुशिल्पीय नियन्त्रण, विपद् जोखिम न्यूनीकरणसम्बन्धी व्यवस्था, आवासीय क्षेत्र, संस्थागत क्षेत्रलगायतबारे अध्ययन हुने कायस्थले बताए ।


कार्यालयका अनुसार स्मार्ट सिटीका लागि डीपीआरको जिम्मा दिइसकिएको छ । ६ महिनाभित्र डीपीआरको काम सम्पन्न गर्ने लक्ष्य लिइएको नेपाल डेभलपमेन्ट कन्सल्टेन्सीका प्रमुख कृष्णप्रसाद तिमिल्सेनाले बताए । खस राज्यको समयमा हिउँदे राज्यको रूपमा दुल्लुमा राजधानी सञ्चालन गरिन्थ्यो । नगरप्रमुख घनश्याम भण्डारीले ‘सांस्कृतिक संग्रहालय सञ्चालन ऐन’ ल्याएर स्मार्ट सिटी र सम्पदा संरक्षणको काम सँगसँगै सञ्चालन गरिने बताए । ‘दुल्लुलाई ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक महत्त्वको सहर बनाउन योजना बनाइएको छ,’ उनले भने, ‘स्मार्ट सिटीको निर्माण तीव्र गतिमा सञ्चालन गरिनेछ ।’


नेकपाका केन्द्रीय सदस्य लक्ष्मीप्रसाद पोखरेलले ६ महिनाभित्र डीपीआरको काम सकिए सिटी निर्माणले गति लिने जनाए । ‘दुल्लुलाई स्मार्ट सिटी बनाउन धेरै पहिलेदेखि नै पहल थालिएको हो,’ उनले भने, ‘बल्ल प्रयासले सार्थकता पाएको छ । स्थानीय स्तरमा विवाद हुन नदिई सिटी निर्माणलाई तीव्र बनाइनेछ ।’


नेकपाका नेता थिरबहादुर कार्कीले स्मार्ट सिटीका लागि विभिन्न मापदण्ड निर्धारण गर्न नगरपालिकासँग आग्रह गरे । उनले शिक्षा, स्वास्थ्य, बसपार्कजस्ता क्षेत्र छुटयाएर नगरको विकासका लागि सबै एकजुट हुनुपर्ने बताए । नगरपालिकाले बनाएका योजना र स्मार्ट सिटीले बनाएका योजना बाँझिन नदिई एकद्वार विकासको खाँचो रहेको उनको भनाइ छ ।


प्रकाशित : भाद्र १३, २०७५ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?