कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

महाबु मेलामा भक्तजनको भीड

ज्योति कटुवाल

दैलेख — यस वर्ष करिब १५ हजार तीर्थयात्रीले महाबु मेला भरेका छन् । प्रत्येक वर्ष ४ हजार दुई मिटरको उचाइमा धार्मिक मेला लाग्दै आएको छ ।

महाबु मेलामा भक्तजनको भीड

महाबु, नौमुले र कालिकोटको महाबै गाउँपालिकाको सिमानामा मेला लाग्ने गरेको हो । यस वर्ष विभिन्न जिल्ला तथा ठाउँबाट करिब १५ हजार तीर्थयात्री महाबु धाम पुगेको महाबु गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले बताए ।


महाबुमा ढुंगाबाट उत्पत्ति भएको शिवलिंग छ । परम्परागत रूपमा महादेव शिवको उत्पत्ति भएको कैलाश स्थानका रूपमा महाबु धाम प्रख्यात छ । दैलेख भुर्तीका बोल्न नसक्ने आचार्य ब्राह्मणका छोरा पाटनमा भैंसी चराउन गएका बेला ढुंगामा सुतेको अवस्थामा शिवको दर्शन पाएको विश्वास छ । उक्त ढुंगामा दिनहुँ दूध चढाउनुपर्ने र कसैलाई उक्त कुरा नभन्ने सर्त उनले पालना गरेपछि उनी बोल्न सक्ने र वेद पढ्न सक्ने भएको पुरोहित नरेन्द्र उपाध्यायले बताए ।


‘दिनहुँ दूध चढाउने उक्त ढुंगाबाटै फुटेर शिवलिंग बनेको अहिले पनि जस्ताको तस्तै देख्न सकिन्छ,’ उनले भने, ‘अहिले दैलेख भुर्तीका आचार्य ब्राह्मणले दूध चढाउने र कालिकोटका काफ्ले ब्राह्मणले पहिले पूजा गर्ने गरेका छन् ।’


उनका अनुसार एउटामात्र वर मागे तत्काल पूरा हुने विश्वास छ । दैलेख, सुर्खेत, कालिकोट, जुम्ला, हुम्ला, नेपालगन्ज, काठमाडांै तथा भारतबाट भक्तजन पूजा गर्न आउने गरेको उनको भनाइ छ । तर तीर्थयात्रीका लागि उचित बासस्थान र शौचालयको व्यवस्था नहुँदा भक्तजनले सास्ती भोग्दै आएका छन् । तीर्थालु बर्सेनि चिसो र अग्लो लेकमा रातभर खुला चौरमा बस्न बाध्य हुने गरेका छन् ।


शिविरमा २ सय ५० बिरामीको उपचार
नेपाली सेनाले मेलामा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो । सेनाको इन्द्र दल गुल्मले आयोजना गरेको शिविरमा २ सय ५० बिरामीको उपचार गरिएको छ ।


शिविरमा ५ सय बिरामीलाई औषधि वितरण गरिएको गुल्मपति विकास केसीले बताए ।
नेपाली सेनाका चिकित्सकबाट चेकजाँचको व्यवस्था मिलाइएको उनले जनाए ।

प्रकाशित : भाद्र १५, २०७५ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?