सुविधाभन्दा सास्ती धेरै

डोजरमार्फत जथाभावी सडक खन्दा बन्गाड कुपिण्डे नगरपालिकाका करिब पाँच सय परिवार जोखिममा
विप्लव महर्जन

सल्यान — डोजरमार्फत जथाभावी सडक निर्माण गरिँदा यहाँका अधिकांश गाउँ पहिरोको जोखिममा परेका छन् । जमिन कमजोर भएपछि दैनिकजसो पहिरो खस्न थालेको छ । जथाभावी सडक खनेकै कारण बन्गाड कुपिण्डे नगरपालिकाका खहरेखोला, ब्युरेनी, गर्चे, बरेली, खैरागाड, स्याला र शंखपीपल गाउँ जोखिममा छन् ।

सुविधाभन्दा सास्ती धेरै

यस्तै सुनौली, गैरीगाउँ, रामचाउना र ढोरपीपललगायत बस्तीका बासिन्दालाई पहिरोको सास्ती भएको छ । सबैको पहिलो माग सडक हुने तर कम खर्चमै जथाभावी डोजरमार्फत खनिने गरेकाले गाउँमा पहिरोको त्रास बढेको हो । बन्गाड कुपिण्डे नगरपालिकाका करिब पाँच सय परिवार पहिरोको जोखिममा छन् । प्राविधिक इस्टिमेट भन्दा पनि डोजर चालकले मनपरी तरिकाले सडक खन्दा गाउँ जोखिममा परेको स्थानीय देवबहादुर बाँठाले बताए ।

‘गाउँभन्दा तल र माथि दुवै स्थानमा पहिरो खसिरहेको छ,’ उनले भने, ‘गाउँलेहरू त्रासै त्रासमा रात बिताउन बाध्य छौं ।’ ठाउँठाउँमा गएको पहिरोका कारण गाउँ नै पुरिने खतरामा रहेको खहरेखोलाका चन्द्र दमाईले बताए । ‘बस्ती आसपासको ठाउँ भासिएको र चिरा परेको छ,’ उनले भने, ‘धेरै पानी परेको समयमा पहिरो आएर बस्ती नै बगाउँछ कि भन्ने चिन्ता छ ।’


जथाभावी सडक खनेकै कारण ब्युरेनीका २५ घर पहिरो प्रभावित भएको स्थानीय केशर रानाले बताए । ‘बस्तीको बीचबाट सडक खनेकाले पहिरो चारैतिरबाट खस्दै गएको छ,’ उनले भने, ‘लगातार एक/दुई दिन वर्षा थपिए बस्ती नै बगाउने खतरा छ ।’ उनका अनुसार भलाखर्क गैरागाउँका ११ परिवारसमेत पहिरोको जोखिममा छन् । प्राविधिक इस्टिमेटबिनै सडक खनिएकाले समस्या भएको छ ।

प्रकाशित : भाद्र १५, २०७५ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?