लिमीमा पर्यटन महोत्सव हुने

कान्तिपुर संवाददाता

हुम्ला — चीन सीमा जोडिएको हिमालपारिको बस्ती लिमीस्थित हल्जी गाउ‘मा भदौ १९ गतेदेखि दुईदिने पर्यटन महोत्सव आयोजना गरिनेछ ।

हुम्लाको लिमीस्थित हल्जी गाउँ । तस्बिर : जयबहादुर रोकाया

परम्परागत संस्कृति, प्राकृतिक गन्तव्य, मौलिक भेषभूषाको प्रचारप्रसारका लागि पहिलोपटक महोत्सवको आयोजना गर्न लागिएको हो ।

आयोजक नाम्खा गाउ‘पालिकाका अनुसार महोत्सवमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक तथा विकासमन्त्री दल रावल, पर्यटनमन्त्री नन्दसिं बुढालगायत सहभागी हुनेछन् ।

लिमी जिल्लाको पिछडिएको र अधिकांश सरकारी सुविधाविहीन बस्ती हो । लिमीबाट सदरमुकाम सिककोट पुग्न झन्डै पॉच हजार मिटर उचाइको लेक पार गरी चार दिन हिंड्नुपर्ने बाध्यता छ । आफ्नै गाउ‘पालिकाको केन्द्र यालबाङ पुग्न एकतर्फी तीन दिनको पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । बौद्ध धर्मावलम्बी रहेको लिमीमा तिल, हल्जी र जाङगरी तीन गाउ‘को बस्ती छ ।

लिमीलाई पौराणिक संस्कृतिको खानी मानिन्छ । महोत्सवबाट लिमीको प्रचारप्रसार गरी आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्ने र विकासमा टेवा पुर्‍याउने गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले बताए ।

तीन वर्षअघि साथी नामक गैरसरकारी संस्थाले गरेको अध्ययनअनुसार विश्वमै दुर्लभ मानिएका स्तनधारी जनावर र नयॉ प्रजातिका चरा फेला परेका छन् । विश्वमा दुर्लभ र संवेदनशील मानिएको वन चौंरी लिमीमा भेटिएको थियो । गाउँपालिकाका अनुसार महोत्सवमा इसिमोड र नेपाल पर्यटन बोर्डले प्रायोजन गरेका छन् ।

प्रकाशित : भाद्र १६, २०७५ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सोलारबाट सिँचाइ

दुर्गालाल केसी

दाङ — विद्युत्‌काे नियमित आपूर्ति र भरपर्दो भोल्टेज नभएपछि यहाँका किसानले सोलारबाट सिँचाइको व्यवस्था गरेका छन् ।

दाङको घोराही ४ गोग्लीका किसान सोलारबाट सिँचाइ गर्न पाइप जडान गर्दै माथि र सोलारबाट पानी तानेर सिँचाइ गरिँदै । तस्बिर : दुर्गालाल

घोराही उपमहानगरपालिका ४ गोग्लीका किसानले सोलारबाट खोलाको पानी लिफ्ट गरी सिँचाइ गर्न थालेका हुन् ।

पाँच बिघा जमिन भाडामा लिएर घाँस खेती, पशुपालन, तरकारी र माछापालन गर्ने तयारी थालेको किसान मिणराम चौधरीले बताए । प्रतिकट्ठा वार्षिक १ हजार ५ सय रुपैयाँमा जग्गा भाडामा लिएको उनले बताए ।

किसानहरू मिलेर व्यावसायिक खेती गर्ने योजना बनाएको उनले बताए । ‘घरायसी खेतीपाती र पशुपालनले कृषिमा केही विकास हुन सकेन । अब व्यावसायिक रूपमै कृषि पेसा गर्न थालेका छौं,’ उनले भने, ‘बाँझो रहेको जग्गालाई सिँचाइ गरी उत्पादन गर्ने तयारी थालेका छौं ।’

खोलामा त्यत्तिकै बगेर खेर गइरहेको पानीलाई सदुपयोग गरी खेतीपातीमा लगाएको किसान रूपन्या चौधरीले बताइन् । ‘खोला तल बगिरहेको थियो । जग्गा माथि । पानी माथि उकाल्न केही उपाय भएन,’ उनले भनिन्, ‘मोटर चलाएर मात्र माथि तान्न सकिन्थ्यो तर विद्युत्ले साथ दिएन । ठूलो क्षमताको सोलार जोडेपछि अब ढुक्क भएको छ ।’

सोलारबाट पानी तानेर सिँचाइ गरिँदै ।तस्बिर : दुर्गालाल

३ लाख ७६ हजार रुपैयाँको लगानीमा सोलार प्रणाली जडान गरेको स्थानीय गिरिराज भण्डारीले बताए । विद्युत् खर्च बचत हुने र जतिबेला पनि पानी तान्न सकिने भएकाले सोलार सिँचाइमा लगानी गरेको उनले बताए । ‘लोडसेडिङ हुने भएकाले भनेको बेला पानी तान्न सकिँदैन । विद्युत् हुँदा पनि भोल्टेज पुग्दैन,’ उनले भने, ‘विद्युत्को खर्च पनि धेरै हुन्छ । सोलार जडान गर्दा सुरुमै खर्च लाग्ने हो तर विद्युत्को शुल्क बचत हुन्छ । चाहिएका बेला सिँचाइ पनि गर्न सकिन्छ ।’

सोलारको पावरले खोलाबाट ६० मिटर माथि पानी फाल्न सकिने घामपावर नेपाल प्रालिका क्षेत्रीय प्रबन्धक अशोक अधिकारीले बताए । ६ प्यानलको सोलार जडान भएको र यसबाट एक दिनमा दुई लाख लिटरसम्म पानी तान्न सक्ने उनले जानकारी दिए ।

विद्युत्को भोल्टेज कम हुने र विद्युत् नै नहुने ठाउँमा कृषि प्रयोजनका लागि सोलार बढी प्रयोग भइरहेको उनले बताए । घाँसखेती, केराखेती, माछापालन, पशुपालन, तरकारी खेतीजस्ता व्यावसायिक कृषि गर्नेले नै बढी सोलार सिँचाइको प्रयोग गरिरहेको उनले बताए ।

प्रकाशित : भाद्र १६, २०७५ ०९:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT