१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

विपन्न महिलालाई बाख्रा वितरण

ज्योति कटुवाल

दैलेख — आठबीस नगरपालिकाका महिला यतिबेला बाख्रापालन व्यवसायतर्फ उन्मुख हुन थालेका छन् ।

विपन्न महिलालाई बाख्रा वितरण

परम्परागत रूपमा खेती किसानी गर्दै जीविको गुजार्दै आएका यहाँका महिलाहरू अहिले व्यावसायिक रूपमा बाख्रापालन व्यवसाय रोज्दै आएका छन् ।

बाख्रापालन व्यवसायबाट छोटो समयमा मनग्ये आम्दानी हुने भएकाले समूहमा आवद्ध भएर यो व्यवसाय रोजेको अछाम डाँडाखाल बाख्रापालन कृषि समूहकी अध्यक्ष हिउकला भुलले बताइन् ।

श्रीमान्ले भारतमा मजदुरी गरी धौ धौ घर खर्च चलाउँदै आए पनि जीविको गुजार्न मुस्किल परेको उनी बताउँछिन् । ‘अब हामी यही व्यवसायबाट राम्रो आम्दानी गरी जीविकोपार्जनमा लाग्छौं,’ भुलले भनिन्, ‘थप लगानी गरी व्यवस्थित रूपमा यो व्यवसाय गर्ने सोच बनाएको छु ।’

गरिबी एवं विपन्न परिवारको जीवनस्तर उकास्नका लागि सञ्चालन गरिएको यस्ता कार्यक्रमले आफूहरूलाई ठूलो सहयोग भएको अध्यक्ष भुल बताउँछिन् । ‘हामी गरिबका लागि यस ठाउँमा पहिलो पटक संस्था आएको छ,’ उनले भनिन्, ‘अहिलेसम्म हामी कुनै समूहमा पनि आबद्ध थिएनौं, सहयोग गर्ने संस्थाको नाम पनि सुनेका थिएनौं ।’ परियोजनामार्फत बाख्रापालन व्यवसायमा अछाम र दैलेखको आठबीसका ४१ घरपरिवारका विपन्न महिलाहरूले प्रत्यक्ष लाभ लिएका छन् ।

जीविका गुजार्न मुस्किल परेका बेला बाख्रा उपहार कार्यक्रम आएपछि व्यावसायिक रूपमा बाख्रापालन गर्न आफूहरूमा उत्साह आएको बताउँछिन् डाँडाखाल बाख्रापालन कृषि समूह अछामकी वासु भुल । ‘साकार’ ले हाम्रो सपना साकार पर्ने भो,’ उनले भनिन्, ‘पहिलो पटक समूह र संस्थाको अनुभूति भएको छ ।’ काम गर्ने हामी महिलालाई निकै ठूलो राहत गरेको उनले बताइन् । आफ्नो पालामा पढ्न सकिएन, जागिर नहुँदा छोराछोरी पाल्न निकै समस्या भएको उनले बताइन् ।

यहाँका विपन्न महिलालाई सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेखद्वारा सञ्चालित साकार परियोजनाले बाख्रा वितरण गरेपछि उनीहरू बाख्रापालन व्यवसाय गर्न थालेका हुन् ।

चुलोचौकामा मात्र सीमित यहाँका विपन्न महिलाहरूको आर्थिक उन्नतिका लागि बाख्रापालन व्यवसाय सहज हुने भएकाले बाख्रा वितरण गरिएको साकार परियोजना संयोजक माधव भट्टराईले बताए ।

दैलेखको आठबीस नगरपालिका र अछामको विनायक नगरपालिकाका चार समूहलाई १ सय २३ वटा बाख्रा वितरण गरिएको संयोजक भट्टराईले बताए । विपन्न महिलाहरूको पहिचान गरी करिब ११ लाख ५० हजार बराबरका बाख्रा वितरण गरिएको छ ।

हिमाल बाख्रापालन समूह आठबीस ८ का दस जना विपन्न महिलालाई ३० वटा, नमुना बाख्रापालन समूह आठबीस ७ का दस जनालाई ३० वटा, मेलगाउँ बाख्रापालन समूह आठबीस ९ का दस जनालाई ३० वटा र डाँडाखाल बाख्रापालन समूह अछामका ११ जनालाई ३३ वटा बाख्रा वितरण गरिएको छ ।

बाख्रा वितरण कार्यक्रमा बोल्दै आठबीस नगरपालिकाकी उपप्रमुख दीपा बोहराले एक घरले ३ बाख्रा पाउनु भनेको निकै महत्त्वपूर्ण सहयोग हो । सामाजिक सेवा केन्द्र सोसेकले समाजमा निकै अतुलनीय काम गरेकोप्रति आभार प्रकटसमेत उपमेयर बोहराले गरिन् ।

प्रकाशित : भाद्र १६, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?