प्राविधिक शिक्षाको पहुँचमा छैन कर्णाली

प्रकाश अधिकारी

सुर्खेत — कर्णाली प्रदेशका ७९ मध्ये ४९ तह प्राविधिक शिक्षाको पहुँच बाहिर रहेको तथ्यांकले जनाएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का अनुसार २० स्थानीय तहमा प्राविधिक शिक्षा र ५ तहमा व्यावसायिक तालिम, शिक्षा विभागअन्तर्गतको प्राविधिक शिक्षा १३ तहसम्म मात्र पुगेको छ । कर्णालीमा हाल डिप्लोमातर्फ ११ र प्राविधिक एसएलसीतर्फ ६७ गरी ७८ कार्यक्रम सञ्चालन छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम क्षेत्रमा कर्णाली प्रदेशका लागि चालु आवमा नेपाल सरकारका तर्फबाट १५ करोड ११ लाख ३५ हजार र सीटीईभीटीको आन्तरिक स्रोतबाट ८ करोड ९ लाख ३५ हजार बजेट छुट्याइएको छ ।

यसअन्तर्गत ६ हजारलाई उद्यमशीलता विकास र रोजगारोन्मुख छोटो अवधिको सीप विकास तालिम सञ्चालन गरिनेछ । सीटीईभीटीका विज्ञ डा. हरि प्रधानले अन्य प्रदेशमध्ये कर्णाली प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका क्षेत्रमा पछाडि परेको दाबी गरे । ‘प्राविधिक शिक्षाका लागि पर्याप्त सम्भावना हुँदाहुँदै कर्णाली पछाडि पर्‍यो, प्रादेशिक संरचनामा अब प्रदेश सरकारले सीटीईभीटीलाई प्रयोग गरेर व्यावसायिक शिक्षा विस्तर गर्न सक्छ,’ उनले भने, ‘यसका लागि भौतिक स्रोतका साथै दक्ष जनशक्ति उपलब्ध गराउन हामी तयार छौं ।’

कर्णाली प्रदेशमा सीटीईभीटीका २१ र व्यावसायिक तालिमका २३ संस्था छन् । हालै तीन पोलिटेक्निक इन्स्टिच्युट नेत्रलाल अभागी प्राविधिक शिक्षालय सल्यान, पञ्चकोसी प्राविधिक शिक्षालय दैलेख र प्राविधिक शिक्षालय रुकुमले सञ्चालन अनुमति पाएका छन् ।

Yamaha

यसै वर्ष संघीय सरकारले ४० छात्रालाई प्राविधिक डिप्लोमा तहको अध्ययन गर्न छात्रवृत्तिलाई निरन्तरता दिनुका साथै १० सामुदायिक विद्यालयलाई प्राविधिक एसएलसी तथा डिप्लोमा तहमा प्रशिक्षण सञ्चालन गर्न अनुदान उपलब्ध गराएको छ । हाल जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालय प्रदेशमै सीटीईभीटीको एउटा मात्र आंगिक शिक्षालय हो । सीटीईभीटीले प्रदेशस्तरमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद् निर्माण गर्ने तयारी गरेको छ ।

बिहीबार आयोजित कर्णाली प्रदेशमा प्राविधिक शिक्षासम्बन्धी छलफल कार्यक्रममा सामाजिक विकास मन्त्रालयका शिक्षा महाशाखा प्रमुख भक्तबहादुर ढकालले प्रदेश सरकारले शिक्षा नीतिको प्रारम्भिक मस्यौदा तयार गरेको र त्यसकै आधारमा शिक्षा विधेयक बन्ने बताए । सरकारले प्राविधिक शिक्षा एवं व्यावसायिक तालिममा जोड दिएको बताउँदै उनले वैशाख १ गतेको रारा क्याबिनेट बैठकमै प्रधानमन्त्रीसमक्ष ‘प्रादेशिक प्राविधिक विश्वविद्यालय’ स्थापनामा सहयोग गर्न आग्रह गरेको जानकारी दिए ।

प्रदेश सरकारले कर्णालीका २४ वटै निर्वाचन क्षेत्रमा बहुविषय र जिल्लास्तरमा डिप्लोमा तहको शिक्षालय खोल्ने नीति लिएको छ । जसअन्तर्गत चालु आवमा केही निर्वाचन क्षेत्रमा पूर्वाधार निर्माण सुरु गरिनेछ । उनले प्रदेशमा सामाजिक विकासमन्त्रीको अध्यक्षतामा प्राविधिक तथा व्यावसायिक तालिम परिषद् गठन हुनुपर्ने सुझाव दिए । शिक्षा विकास तथा समन्वय इकाइ, सुर्खेतका प्रमुख जितबहादुर शाहले शिक्षा मन्त्रालय र सीटीईभीटीबीच आपसी समन्वय हुन नसकेको बताए ।

सामाजिक विकास मन्त्रालयका सचिव गिरिजा शर्माले सर्वप्रथम प्रदेशस्तरीय आफ्नो संरचना निर्माणमा लाग्न सीटीईभीटीलाई आग्रह गरिन् ।

‘प्राविधिक शिक्षा प्रदेश सरकारको उच्च प्राथमिकतामा छ, सचिव शर्माले भनिन्, ‘आवश्यक जनशक्ति, भौतिक संरचना उपलब्ध गराएर सहयोग गर्नुस् ।’ प्रदेशमा प्राविधिक शिक्षाको सम्भाव्यता अध्ययन नै नभएकाले सीटीईभीटीले मन्त्रालयलाई यसबारे सुझाव दिन उनको आग्रह थियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका निमित्त प्रमुख सचिव कलानिधि पौडेलले सीटीईभीटीले प्रदेश मातहतकै संरचनालाई कायम राख्ने या आफ्नो अलग्गै संरचना निर्माण गर्ने विषयमा छिटो टुंगोमा पुग्न सुझाव दिए ।

Esewa Pasal

प्रकाशित : भाद्र १७, २०७५ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ओझेलमा मुगु गाउँ

राजबहादुर शाही

मुगु — पूर्वाधार विकास तथा प्रचारप्रसार अभावले पर्यटकीय सम्भावना बोकेको मुगु गाउँ ओझेलमा परेको छ ।

पर्यटकीय गन्तव्य मुगु गाउँ । तस्बिर : राजबहादुर

रारापछि यहाँको उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको मुगु गाउँमा पर्यटक पुग्नै नसकेका हुन् । रारा आउने पर्यटकलाई अन्य पर्यटकीय स्थलमा पुर्‍याउन सके आर्थिक विकासले फड्को मार्ने सम्भावना हुँदाहँुदै पनि त्यसका लागि पहल भएको छैन ।

पर्यटन व्यवसायी राजु कार्कीले रारादेखि मुगु गाउँसम्मको यात्रामा पर्यटकले भरपुर आनन्द लिन सक्ने बताए । उनले भने, ‘अहिले डोल्पाको सेफोक्सुण्डो ताल घुमेर हयाजिमथान हुँदै हिमाली पदमार्गबाट आएका केही पर्यटकले मुगु गाउँको भ्रमण गर्ने गरेका छन् ।’ रारादेखि मुगु गाउँ हुँदै तिब्बत भएर मानसरोवर र डोल्फु नाका जान विदेशी पर्यटक उत्साही भएको उनले जनाए ।

मुगमकार्मारोङ गाउँपालिकास्थित पर्यटकीय गन्तव्य मुगु गाउँ समुद्र सतहदेखि करिब १२ हजार पाँच सय फिटको उचाइमा अवस्थित छ । रारा भ्रमणमा आउने पर्यटकलाई प्याकेजमा अन्य पर्यटकीय क्षेत्रको भ्रमणमा लैजान जरुरी रहेको जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर रोकायाले बताए । ‘रारामा एउटा ताल मात्र छ, बाम गाउँभित्र सातवटा ताल छन्,’ उनले भने, ‘त्यहाँ अहिलेसम्म कुनै पर्यटक पुग्न सकेका छैनन् ।’ मुगु गाउँमा तामाङ जाति र बौद्ध धर्मावलम्बीको बसोबास छ । मुगम गाउँपालिकाका १२ वटा बस्तीमा करिब १२ सय बढी चिटिम चैतन्य धार्मिकस्थल रहेको स्थानीयको भनाइ छ । मुगु गाउँमा प्रत्येक ढुंगामा तिब्बती भाषाले कँुदिएका अक्षर देख्न पाइन्छ ।

गाउँलाई सुक्खा मरुभूमिको मानव बस्तीको रूपमा चिनिने गरिएको छ । यहाँका जनजाति व्यवसायबाट आत्मनिर्भर छन् । स्थानीयले घरघरै होमस्टेको अवधारणा ल्याएका छन् । यहाँ जाने पर्यटकले भोटे चिया, आलु तथा फापरका परिकार, तिब्बती चामलको भातलगायत परिकारको स्वाद लिन पाउने स्थानीयको भनाइ छ ।

रारा आउने पर्यटकका लागि मुगु गाउँ, कोइजी मरक्का हिमाल हुँदै तामाखानी र छायानाथ तीर्थस्थलसम्म घुम्ने पदमार्ग निर्माणको काम भइरहेको मुगमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । ‘पूर्वी मुगुमा पुरानो बौद्ध संस्कृति, खानी, वन्यजन्तुलगायत अवलोकन गर्ने व्यवस्था छ,’ उनले भने, ‘पदमार्ग निर्माण भएपछि विदेशी पर्यटकसमेत आकर्षित हुनेछन् ।’ यात्रा क्रममा झारल, घोरल, मृग, कस्तुरी, नाउर, कालिजलगायत वन्यजन्तु हेर्न सकिने उनले जनाए ।

शान्ति स्थापना भएसँगै विदेशी पर्यटक मुगु घुम्न आउन थालेको स्थानीय अगुवा टाँसी तामाङले बताए । उनका अनुसार मुगु गाउँदेखि तिब्बत पुग्न दुई दिनको पैदल यात्रा गर्नुपर्छ । गमगढीदेखि लुम्स गाउँसम्म जिपमै यात्रा गर्न सकिने सुविधा छ । त्यहाँबाट पैदल यात्रा गर्न सकिन्छ । पर्यटकका लागि छाइल, ढुंगेधारा, पुलु र चितै बगरमा होटलको व्यवस्था छ ।

प्रकाशित : भाद्र १७, २०७५ १०:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT