कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओझेलमा मुगु गाउँ

राजबहादुर शाही

मुगु — पूर्वाधार विकास तथा प्रचारप्रसार अभावले पर्यटकीय सम्भावना बोकेको मुगु गाउँ ओझेलमा परेको छ ।

ओझेलमा मुगु गाउँ

रारापछि यहाँको उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको मुगु गाउँमा पर्यटक पुग्नै नसकेका हुन् । रारा आउने पर्यटकलाई अन्य पर्यटकीय स्थलमा पुर्‍याउन सके आर्थिक विकासले फड्को मार्ने सम्भावना हुँदाहँुदै पनि त्यसका लागि पहल भएको छैन ।

पर्यटन व्यवसायी राजु कार्कीले रारादेखि मुगु गाउँसम्मको यात्रामा पर्यटकले भरपुर आनन्द लिन सक्ने बताए । उनले भने, ‘अहिले डोल्पाको सेफोक्सुण्डो ताल घुमेर हयाजिमथान हुँदै हिमाली पदमार्गबाट आएका केही पर्यटकले मुगु गाउँको भ्रमण गर्ने गरेका छन् ।’ रारादेखि मुगु गाउँ हुँदै तिब्बत भएर मानसरोवर र डोल्फु नाका जान विदेशी पर्यटक उत्साही भएको उनले जनाए ।

मुगमकार्मारोङ गाउँपालिकास्थित पर्यटकीय गन्तव्य मुगु गाउँ समुद्र सतहदेखि करिब १२ हजार पाँच सय फिटको उचाइमा अवस्थित छ । रारा भ्रमणमा आउने पर्यटकलाई प्याकेजमा अन्य पर्यटकीय क्षेत्रको भ्रमणमा लैजान जरुरी रहेको जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर रोकायाले बताए । ‘रारामा एउटा ताल मात्र छ, बाम गाउँभित्र सातवटा ताल छन्,’ उनले भने, ‘त्यहाँ अहिलेसम्म कुनै पर्यटक पुग्न सकेका छैनन् ।’ मुगु गाउँमा तामाङ जाति र बौद्ध धर्मावलम्बीको बसोबास छ । मुगम गाउँपालिकाका १२ वटा बस्तीमा करिब १२ सय बढी चिटिम चैतन्य धार्मिकस्थल रहेको स्थानीयको भनाइ छ । मुगु गाउँमा प्रत्येक ढुंगामा तिब्बती भाषाले कँुदिएका अक्षर देख्न पाइन्छ ।

गाउँलाई सुक्खा मरुभूमिको मानव बस्तीको रूपमा चिनिने गरिएको छ । यहाँका जनजाति व्यवसायबाट आत्मनिर्भर छन् । स्थानीयले घरघरै होमस्टेको अवधारणा ल्याएका छन् । यहाँ जाने पर्यटकले भोटे चिया, आलु तथा फापरका परिकार, तिब्बती चामलको भातलगायत परिकारको स्वाद लिन पाउने स्थानीयको भनाइ छ ।

रारा आउने पर्यटकका लागि मुगु गाउँ, कोइजी मरक्का हिमाल हुँदै तामाखानी र छायानाथ तीर्थस्थलसम्म घुम्ने पदमार्ग निर्माणको काम भइरहेको मुगमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । ‘पूर्वी मुगुमा पुरानो बौद्ध संस्कृति, खानी, वन्यजन्तुलगायत अवलोकन गर्ने व्यवस्था छ,’ उनले भने, ‘पदमार्ग निर्माण भएपछि विदेशी पर्यटकसमेत आकर्षित हुनेछन् ।’ यात्रा क्रममा झारल, घोरल, मृग, कस्तुरी, नाउर, कालिजलगायत वन्यजन्तु हेर्न सकिने उनले जनाए ।

शान्ति स्थापना भएसँगै विदेशी पर्यटक मुगु घुम्न आउन थालेको स्थानीय अगुवा टाँसी तामाङले बताए । उनका अनुसार मुगु गाउँदेखि तिब्बत पुग्न दुई दिनको पैदल यात्रा गर्नुपर्छ । गमगढीदेखि लुम्स गाउँसम्म जिपमै यात्रा गर्न सकिने सुविधा छ । त्यहाँबाट पैदल यात्रा गर्न सकिन्छ । पर्यटकका लागि छाइल, ढुंगेधारा, पुलु र चितै बगरमा होटलको व्यवस्था छ ।

प्रकाशित : भाद्र १७, २०७५ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?