पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु
सल्यान — बाग्चौर नगरपालिका–१२ बाफुखोलामा पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिकाकाे मृत्यु भएकाे छ ।
अविरल वर्षाका कारण घर माथिबाट आएको पहिरोले आइतबार बेलुकी झन्डै सात बजेतिर उनीहरु खेल्दै गरेको बेला घरसँंगै पुरिएका थिए ।
मृत्यु हुनेमा डाँगीका ८ वर्षीय छोरी ललिता डाँगी, ४ वर्षीय मेनुका डाँगी र ६ वर्षीय छोरा ललित डाँगी छन् । बाबुआमा बेलुकी भैंसी दुहुन गोठ गएको समयमा पहिरो खसेको प्रहरीले जनाएको छ । वर्षाका बेला घरमाथिबाट थप पहिरो आउने खतराले गर्दा कसैले उद्धार गर्न नसकेको प्रहरी नायब उपरीक्षक बिरेन्द्रबहादुर शाहीले बताए । वर्षा रोकिएपछि सोमबार बिहान इलाका प्रहरी कार्यालय थारमारेबाट गएको टोलीले शव निकालेको शाहीले बताए ।
दुई तले घर पहिरोले च्यापिएको हो । च्यापिएर तीन छोराछोरीको मृत्यु पछि बाबु बालाराम डाँगी र आमा बेहोस छन् ।
केही दिन अघि बाग्चौर नगरपालिका–४ सेतोगुराँसमा घर भत्किँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको थियो ।
प्रकाशित : भाद्र १८, २०७५ ०८:०७