कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीय तहको लेखापरीक्षण सदरमुकाममै

मुगु — महालेखा परीक्षकको कार्यालयबाट आएको लेखापरीक्षण टोलीले सदरमुकाममै बसेर स्थानीय तहको लेखापरीक्षण गर्न थालेको छ ।

स्थानीय तहको लेखापरीक्षण सदरमुकाममै

लेखापरीक्षणका लागि महालेखाबाट आएको पाँचजनाको टोलीले स्थानीय तहका सम्पूर्ण कागजपत्र गमगढीमा झिकाएर लेखापरीक्षण थालेको हो ।

लेखापरीक्षणका लागि स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र लेखापाल सदरमुकाम आएका छन् । खत्याड गाउँपालिकाले लेखारिक्षणका लागि दुई दिन टाढाबाट कागजका भारी आर्सारेर सदरमुकाम पुर्‍याएको छ ।

छायानाथ रारा नगरपालिका, सोरु र मुगमकार्मारोङ गाउँपालिकाको कार्यालय सदरमुकाममै भएकाले केही सहज भएको छ । लेखापरीक्षण टोलीले कागजपत्र सदरमुकाममा ल्याउन भनेपछि सबै कागजात गमगढी पुर्‍याइएको खत्याड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिचन्द्र कार्कीले बताए । वर्षाको समय भएकाले कागजपत्र जोगाउँदै सदरमुकाम ल्याइएको उनको भनाइ छ ।

महालेखा परीक्षकको टोली सम्बन्धित स्थानीय तहको कार्यालयमै पुगेर अडिट गर्नुपर्ने भए पनि सदरमुकाममा बसेकाले समस्या भएको कर्मचारीको भनाइ छ । लेखापरीक्षक टोलीले कागजी प्रमाण मात्र नहेरेर योजनाको अनुगमन, मूल्यांकन र स्थानीयको जनगुनासो सुन्ने काम गरेको भए आफूहरूलाई सिकाइ हुने प्रशासकीय अधिकृत कार्कीको भनाइ छ ।

जनशक्ति अभाव र ३९ वटा कार्यालयको लेखापरीक्षण ३५ दिनभित्र सक्नुपर्ने भएकाले सदरमुकाममै बसेको टोलीले जनाएको छ ।

यस वर्ष कार्यालयले नै सदरमुकाममै बसेर स्थानीय तह र अन्य सरकारी कार्यालको लेखापरीक्षण गर्नु भनेको महालेखा परीक्षक कार्यालयका निर्देशक अजयकुमार सापकोटाले बताए । उनका अनुसार एउटा कार्यालयको लेखापरीक्षण गर्न करिब चार दिनको समय लाग्ने गरेको छ ।

प्रकाशित : भाद्र १९, २०७५ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?