कृषि भवनमा अब ज्ञान केन्द्र

रुकुम पश्चिम — जिल्ला कृषि विकास कार्यालयको भवमा कृषि ज्ञान केन्द्र स्थापना गर्न लागिएको छ । मुसीकोट नगरपालिका–१, स्थित भवनबाट रुकुम पश्चिम र सल्यान जिल्लामा काम गर्ने गरी ज्ञान केन्द्र स्थापना हुन लागेको हो ।

कृषि भवनमा अब ज्ञान केन्द्र

मन्त्री परिषदो निर्णयअनुसार देशभर ५१ ज्ञान केन्द्रमध्ये एउटा ज्ञान केन्द्र रुकुम पश्चिममा स्थापना हुँदै छ ।

ज्ञान केन्द्रका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कर्मचारीको दरबन्दीसमेत पठाइसकेको छ । कृषि ज्ञान केन्द्रमा एक जना उपसचिव कार्यालय प्रमुखसहित १५ जना कर्मचारीको खटाउने भएको छ ।

कार्यालय प्रमुखमा प्राविधिकतर्फका उपसचिव, ५ जना प्रावधिक अधिकृत, ३ जना प्राविधिक सहायक, एक जना लेखापाल, एक जना खरीदार, एक जना ड्राइभर र ३ जना कार्यालय सहयोगी खटाउने गरी मन्त्रालयले दरबन्दी स्वीकृत गरिसकेको छ । गत साउन १ गते अघि नै जिल्ला कृषि विकास कार्यालय खारेज भएको थियो ।

त्यसयता फाजिलमा रहेका कार्यालय कर्मचारी अब ज्ञान केन्द्रमा काम गर्नेछन् । ‘यस अघिको जिल्ला कृषि विकास कार्यालयमा अब कृषि ज्ञान केन्द्र स्थापना हुने भएको छ,’ निमित्त वरिष्ठ कृषि विकास अधिकृत राजेश साहले भने, ‘त्यसका लागि मन्त्रालयले सबै व्यवस्था गरिसकेको छ ।’ कृषि ज्ञान केन्द्रका लागि मन्त्रालयले कार्यालय प्रमुखका रूपमा अमरराज शर्मा घिमिरेलाई खटाइसकेको जानकारी साहले दिए ।

कृषिसँग सम्बन्धित तालिम, गोष्ठी, शिविर सञ्चालनका साथै अन्य उपायबाट पनि कृषि उत्पादनमा बढावा दिने गरी ज्ञान केन्द्र स्थापना गर्ने अवधारणा सरकारले ल्याएको हो । स्थानीय सरकारसँग मिलेर किसान र कृषिलाई प्रोत्साहनका लागि ज्ञान केन्द्रले महत्त्वपूर्ण भूमिका खेल्नेछ । ‘कृषिसँग सम्बन्धित विकास निर्माणका काम स्थानीय सरकारले गर्नेछ,’ शाहले भने, ‘ज्ञान केन्द्रले त्यसका लागि सहजीकरणका साथै धेरैभन्दा धेरै ज्ञान प्रदानका लागि भूमिका निभाउनेछ ।’

कृषि उत्पादन बढाउने नयाँ बालीको सिफारिस, बालीको संरक्षण, रोगव्याध र नियन्त्रणमा पनि ज्ञान केन्द्रले सिकाउनेछ । ‘कृषि कार्यालयका ठाउँमा ज्ञान केन्द्र आउने भयो, यसले स्थानीय सरकार र किसानलाई थप सजिलो हुने विश्वास हाम्रो पनि छ,’ मुसीकोट नगर प्रमुख देवीलाल गौतमले भने, ‘यस ज्ञानकेन्द्रबाट कृषि क्षेत्र र किसानले सकेसम्म फाइदा लिनुपर्छ ।’

प्रकाशित : भाद्र १९, २०७५ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?