उपआयोजना स्थानीय तहलाई हस्तान्तरण

जाजरकोट — उच्च मूल्य कृषि वस्तु विकास आयोजनाको सहयोगमा सम्पन्न भएका ८३ उपआयोजनाहरू सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।

उपआयोजना स्थानीय तहलाई हस्तान्तरण

आइतबार सदरमुकाम खलंगामा आयोजना गरिएको गोष्ठीमा ५९ कृषक समूह/सहकारी तथा ८ निजी सेवा प्रदायकले सञ्चालन गरेका उपआयोजना हस्तान्तरण गरिएको हो ।

गोष्ठीमा आयोजना प्रमुख राजेन्द्रप्रसाद भारीले उपआयोजनाको विस्तृत विवरणसहित भेरी नगरपालिकालाई ६४, छेडागाड नगरपालिकालाई ९, कुशे गाउँपालिकालाई ६ र नलगाड नगरपालिकालाई ४ उपआयोजना हस्तान्तरण गरे ।

उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले जाजरकोटका किसानलाई ६ करोड १७ लाख रुपैयाँ अनुदान सहयोग गरेको छ । चारवटा मूल्य शृंखलामा आयोजनाको अनुदान पाएपछि किसानले समेत एक करोड ८९ लाख रुपैयाँ खर्च गरेका छन् ।

बेमौसमी तरकारी, खसीबोका, टिमुर र बेसार मूल्य शृंखलामा किसान र निजी सेवा प्रदायकलाई अनुदान सहयोग गरिएको आयोजना प्रमुख भारीले बताए । उपआयोजनामार्फत दुई हजार आठ सय २६ घरधुरीमा सेवा प्रवाह गरिएको छ ।

आयोजनाले किसानले उत्पादन गरेका कृषिजन्य वस्तुलाई बजारीकरण गर्नका लागि भेरी नगरपालिका–६, को पासागाडबाट बाघखोर हुँदै चिसापानी जोड्ने ग्रामीण सडक सुधारमा सहयोग गरेको छ । यस्तै पिपे र पुन्मामा दुई ट्रस्ट ब्रिज र विभिन्न ठाउँमा १० सिमेन्ट पोखरी निर्माण गरिएको छ ।

तीन हजार ९ सय ८४ मिटरको सिंचाइ कुलो निर्माण गरिएको आयोजनाले जनाएको छ । आयोजनाले भेरी नगरपालिका–१०, राउतगाउँमा भेरी नदीबाट सोलार प्रविधिमार्फत पानी तानेर पाँच सय रोपनी जमिनमा सिंचाइ पुर्‍याएको छ ।

जिल्ला समन्वय समितिका उपप्रमुख ज्ञानीप्रसाद आचार्यले आयोजनाले गरिब तथा निम्न किसानको आम्दानी वृद्धि गर्न योगदान गरेको बताए । प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले कृषिको व्यवसायीकरण र आधुनिकीरणमा जोड दिए ।

प्रकाशित : भाद्र २०, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?