१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

टावर बिग्रिदाँ गाउँपालिका सञ्चारविहीन 

बिप्लब महर्जन

सल्यान — कालिमाटी गाउँपालिकाको बडाढुंगामा रहेको टावरमा आएको खराबीका कारण गाउँपालिका क्षेत्र एक महिनादेखि सञ्चारविहीन बनेको छ । यहाँका झण्डै १७ हजार घरपरिवार प्रभावित भएका छन् ।

टावर बिग्रिदाँ गाउँपालिका सञ्चारविहीन 

टावरमा आएको खराबीका कारण गाउँपालिकाको कामकाजमा ठूलो असर परेको अध्यक्ष दानबहादुर खत्रीले बताए ।

सञ्चारविहीन हुँदा कहाँ के भयो भन्ने बारेमा समेत जान्न समस्या भएकाे र इमेल, इन्टरनेटबाट हुने काममा सेवा दिन कठिनाई भएको उनले जानकारी गराए ।


टेलिकमको क्षेत्रिय कार्यालय सुर्खेतमा गएर कुराकानी गर्दै आए पनि काममा गरेको ढिलाईका कारण समस्या भएको अध्यक्ष खत्रीले बताए ।

उनका अनुसार क्षेत्रिय कार्यालयमा बारम्बार ताकेता गरेपछि टेलिकम कार्यालयका प्राविधिक गएर एकपटक हेरफेर गरी क्षेत्रिय कार्यालयमा सूचना जाहेर गरेका थिए । क्षेत्रिय कार्यालयले पुरानो सामान नपाईने र नयाँ सामग्री पठाउने भन्दै आलटाल गरिरहेको छ ।


‘बारम्बार ताकेता गर्दा क्षेत्रिय कार्यालयले नयाँ मेसिन आएको तर अर्को मेसिनको एउटा सानो पुर्जा नपाएकाले केही दिन ढिलाई हुने देखाउँछ,’ उनले भने ‘लामो समय सञ्चारविहीन भएका कारण कामकाज प्रभावित भएपछि केन्द्रबाट आएको चिठिपत्र हेर्न तथा गाउँपालिकाबाट मेल पठाउन एनसेलको टावर झन्डै एक घन्टा माथिको डाँडामा गएर आउँछ । त्यही काम गर्नुपर्ने अवस्था छ ।’

२०७० सालमा बडाढुँगामा जडान गरेको टावरको रेडियम र चार्जका लागि राखेका ब्याट्रीहरु सबै काम नलाग्ने भइसकेका छन् ।


गाउँपालिकाकी उपाध्यक्ष सहनसिलता ओलीले टावर बिग्रेपछि बनाउन सम्बन्धित निकायले तदारुकता नदेखाउँदा समस्या भएको बताइन ।


कालीमाटी गाउँपालिकामात्र नभई बन्गाड कुपिण्डे नगरपालिकामा पनि टावरकै खराबीका कारण टेलिफोन सेवा प्रभावित भएको स्थानीयले बताएका छन् । सुर्खेतको गुमिचुली, काप्रिचौर, सल्यानको तारुपरे, राउचेको लाटुगैरा लगायतका स्थानमा टावर भएपनि बादल लाग्दा र पानी पर्दा टेलिफोन बारम्बार अवरुद्ध हुने गरेको स्थानीय रेशमबहादुर बुढाले बताए ।

बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म टेलिफोन नेटवर्कले आशिंक काम गर्ने र त्यसपछि काम नगर्ने उनले जानकारी गराए । टावरमा आएको खराबीलाई मर्मत गर्न बारम्बार आग्रह गर्दै आएपनि सम्बन्धित निकायले चासो नदेखाउँदा मर्कामा परेको उनको गुनासो छ ।


बिग्रेको पुरानो ट्रान्समिटरका पुर्जा नपाएको र पुरै नयाँ फेर्नु पर्ने भएकाले ढिलाई भएको नेपाल टेलिकम सल्यानका प्रमुख रामचन्द्र श्रेष्ठले बताए ।

शनिबारसम्म कालीमाटी गाउँपालिकामा टेलिफोन सञ्चालनमा आउने उनले जानकारी गराए । यसैगरी निगालचुलामा रहेको टावर मर्मत गर्दा काल्चे र निगालचुलामा टेलिफोन संचालनमा आएको उनको भनाई छ ।

प्रकाशित : भाद्र २०, २०७५ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?