वारि चौंरी, पारि मोटर

राजबहादुर शाही

मुगु — जिल्लाको उत्तरी सीमा तिब्बतका अधिकांश स्थानमा मोटर सुविधा भए पनि अधिकांश बासिन्दालाई सामान ढुवानीका लागि चौंरीकै भर पर्नुपर्ने बाध्यता छ । तिब्बती सीमा जोडिएको मुगम कार्मारोङ गाउँपालिकाका बासिन्दा सडक सुविधा नहुँदा आउजाउका लागि घण्टौं हिँड्न बाध्य छन् ।

चौंरीसहित तिब्बततर्फ सामान किनमेल गर्न जाँदै गरेका मुगुको मुगमकार्मारोङ गाउँपालिकाका स्थानीय । तस्बिर : राजबहादुर

सरकारले सडक निर्माणमा बेवास्ता गरेपछि स्थानीयवासीलाई सामान ढुवानी र आवतजावतमा सास्ती हुने गरेको छ । सीमा क्षेत्रका स्थानीयलाई वर्षौंदेखि खाद्यान्न र दैनिक उपभोग्य सामान ढुवानीका लागि चौंरीको भर पर्नुपर्ने बाध्यता छ । तिब्बततर्फ समथर मैदान भए पनि मुगुतर्फ कठिन भूगोल छ ।

समुद्र सतहदेखि चार हजार ९ सय ८६ मिटर उचाइको तिब्बती भू–भागमा विभिन्न भौतिक सुविधा भए पनि मुगुका बासिन्दा सबै आधारभूत सुविधाबाट वञ्चित छन् । चीनको राजधानी बेइजिङ लगायतका सहरबाट विभिन्न सामग्री ल्याएर व्यापारी तिब्बती सीमासम्म मोटरमै पुग्ने गरेका छन् ।

Yamaha

तिब्बती बजारबाट ल्याएका सामानबाटै स्थानीयले जीविकोपार्जन गर्ने गरेका छन् । स्थानीयलाई निर्माण सामग्री, लत्ताकपडा, खाद्यान्न तथा अन्य उपभोग्य वस्तुका लागि तिब्बती बजारकै भर पर्नुपर्ने बाध्यता छ । मुगुतर्फ मोटरबाटोको सुविधा नहुँदा तिब्बतबाट खरिद गरी ल्याएका सामग्री ओसार्न चौंरीकै भर पर्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।

मुगमकार्मारोङ गाउँपालिकाका स्थानीयलाई सामान ढुवानीका लागि घर–घरमा कम्तीमा २५ वटासम्म चौरी र झोवा पाल्नुपर्ने बाध्यता छ । ‘पारी सबैखाले सुविधा छन्, घरघरमा मोटर सुविधा छ,’ मुगमकार्मारोङ गाउँपालिकास्थित मह गाउँका प्रवीण लामाले भने, ‘यता दिनहुँ घण्टौं हिँड्नुपर्ने र चौंरीमार्फत सामान ढुवानी गर्नुपर्ने बाध्यता छ ।’

समान किन्न र जडिबुटी बेच्न गएकोबेला तिब्बती मोटर चढेर विकासको तिर्खा मेटाउनुपरेको उनको भनाइ छ । मुगुको सिमानासम्म तिब्बतबाट मोटरमा आएको सामान स्थानीयले खरिद गरी चौंरीमा बोकाएर घर पुर्‍याउनुपर्ने बाध्यता रहेको उनले गुनासो गरे ।

तिब्बत जोड्ने सडकलाई सरकारले प्राथमिकता नदिँदा सास्ती भोग्नुपरेको मुगु गाउँका कार्मानोर्बु तामाङले बताए । ‘तिब्बतको सीमादेखि पैदल हिँड्न डेढ दिन समय लाग्छ, मोटरबाटो भएको भए कति सुविधा हुन्थ्यो होला ?’ उनले भने, ‘सडक खन्न सुरु गरेको एक दशक बित्दासमेत अझै पूरा भएन ।’

सडक सुविधा नहुँदा स्थानीयले वर्षौंदेखि सास्ती भोग्दै आएको मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । ‘हाम्रो बजेटले सडक खन्न सकिँदैन,’ उनले भने, ‘माथिल्ला सरकारले वर्षौंदेखि बेवास्ता गरिरहेका छन् ।’ उनले पटकपटक सडक निर्माण पूरा गर्न प्रदेश सरकार र संघीय सरकारसँग आग्रह गरिए पनि बेवास्ता भएको जनाए ।

Esewa Pasal

प्रकाशित : भाद्र २१, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

स्ट्रेचर माग्दै ज्ञापनपत्र

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — त्रिवेणी गाउँपालिकाका महिलाले बिरामी बोक्ने स्ट्रेचर लगायत स्वास्थ्यसँग सम्बन्धित ६ वटा माग राखेर गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरूले स्वास्थ्य चौकी सिम्रुतुका इन्चार्ज भीमबहादुर चन्दमार्फत ज्ञापन बुझाएका हुन् । हरेक स्वास्थ्य संस्थामा दक्ष र पर्याप्त जनशक्ति व्यवस्था गर्नुपर्ने, सुत्केरीलाई मौसमअनुसार एसीको व्यवस्था गरिनुपर्ने, बच्चा जन्मिसकेपछि न्यानो कपडाको व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।

यस्तै महिलाहरूले प्रत्येक टोलमा स्ट्ेरचरको व्यवस्था गर्नुपर्ने, गाउँपालिकामा एउटा एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने र सुत्केरी महिलाका लागि आएको बजेट रकमान्तर नगर्न भनेका छन् । त्रिवेणी गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा पर्याप्त स्वास्थ्यकर्मी नभएको, प्रसूति सेवामा सुधार नआएको र जोखिमका साथ सुत्केरी हुनुपर्ने तथा गराउनुपर्ने भएकाले त्यसमा सुधार ल्याउनुपर्ने माग महिलाहरूले राखेका छन् ।

स्थानीय तहले नीति, विधि र व्यवस्था गर्दा पनि कतिपय स्वास्थ्य संस्था पुरानै तवरबाट चल्न बाध्य भएकाले यसको सुधार गर्नुपर्ने माग पनि उनीहरूले गरेका छन् । स्थानीय तहको निर्वाचन भएको एक वर्षभन्दा बढी भइसक्दा पनि स्वास्थ्य संस्थामा सुधार आउन नसकेकाले सुधारका लागि गाउँपालिकामा अनुरोध गरिएको स्थानीय तुलसा बोहराले बताइन् ।

स्वास्थ्यचौकी इन्चार्ज चन्दले महिलाहरूले उठाएका सवाल महत्त्वपूर्ण भएको बताए । गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीले महिलाहरूले उठाएको समस्याको महसुस भइसकेकाले समाधानका लागि पहल गरिने बताए ।

प्रकाशित : भाद्र २१, २०७५ ०९:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT