१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

वारि चौंरी, पारि मोटर

राजबहादुर शाही

मुगु — जिल्लाको उत्तरी सीमा तिब्बतका अधिकांश स्थानमा मोटर सुविधा भए पनि अधिकांश बासिन्दालाई सामान ढुवानीका लागि चौंरीकै भर पर्नुपर्ने बाध्यता छ । तिब्बती सीमा जोडिएको मुगम कार्मारोङ गाउँपालिकाका बासिन्दा सडक सुविधा नहुँदा आउजाउका लागि घण्टौं हिँड्न बाध्य छन् ।

वारि चौंरी, पारि मोटर

सरकारले सडक निर्माणमा बेवास्ता गरेपछि स्थानीयवासीलाई सामान ढुवानी र आवतजावतमा सास्ती हुने गरेको छ । सीमा क्षेत्रका स्थानीयलाई वर्षौंदेखि खाद्यान्न र दैनिक उपभोग्य सामान ढुवानीका लागि चौंरीको भर पर्नुपर्ने बाध्यता छ । तिब्बततर्फ समथर मैदान भए पनि मुगुतर्फ कठिन भूगोल छ ।

समुद्र सतहदेखि चार हजार ९ सय ८६ मिटर उचाइको तिब्बती भू–भागमा विभिन्न भौतिक सुविधा भए पनि मुगुका बासिन्दा सबै आधारभूत सुविधाबाट वञ्चित छन् । चीनको राजधानी बेइजिङ लगायतका सहरबाट विभिन्न सामग्री ल्याएर व्यापारी तिब्बती सीमासम्म मोटरमै पुग्ने गरेका छन् ।

तिब्बती बजारबाट ल्याएका सामानबाटै स्थानीयले जीविकोपार्जन गर्ने गरेका छन् । स्थानीयलाई निर्माण सामग्री, लत्ताकपडा, खाद्यान्न तथा अन्य उपभोग्य वस्तुका लागि तिब्बती बजारकै भर पर्नुपर्ने बाध्यता छ । मुगुतर्फ मोटरबाटोको सुविधा नहुँदा तिब्बतबाट खरिद गरी ल्याएका सामग्री ओसार्न चौंरीकै भर पर्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।

मुगमकार्मारोङ गाउँपालिकाका स्थानीयलाई सामान ढुवानीका लागि घर–घरमा कम्तीमा २५ वटासम्म चौरी र झोवा पाल्नुपर्ने बाध्यता छ । ‘पारी सबैखाले सुविधा छन्, घरघरमा मोटर सुविधा छ,’ मुगमकार्मारोङ गाउँपालिकास्थित मह गाउँका प्रवीण लामाले भने, ‘यता दिनहुँ घण्टौं हिँड्नुपर्ने र चौंरीमार्फत सामान ढुवानी गर्नुपर्ने बाध्यता छ ।’

समान किन्न र जडिबुटी बेच्न गएकोबेला तिब्बती मोटर चढेर विकासको तिर्खा मेटाउनुपरेको उनको भनाइ छ । मुगुको सिमानासम्म तिब्बतबाट मोटरमा आएको सामान स्थानीयले खरिद गरी चौंरीमा बोकाएर घर पुर्‍याउनुपर्ने बाध्यता रहेको उनले गुनासो गरे ।

तिब्बत जोड्ने सडकलाई सरकारले प्राथमिकता नदिँदा सास्ती भोग्नुपरेको मुगु गाउँका कार्मानोर्बु तामाङले बताए । ‘तिब्बतको सीमादेखि पैदल हिँड्न डेढ दिन समय लाग्छ, मोटरबाटो भएको भए कति सुविधा हुन्थ्यो होला ?’ उनले भने, ‘सडक खन्न सुरु गरेको एक दशक बित्दासमेत अझै पूरा भएन ।’

सडक सुविधा नहुँदा स्थानीयले वर्षौंदेखि सास्ती भोग्दै आएको मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । ‘हाम्रो बजेटले सडक खन्न सकिँदैन,’ उनले भने, ‘माथिल्ला सरकारले वर्षौंदेखि बेवास्ता गरिरहेका छन् ।’ उनले पटकपटक सडक निर्माण पूरा गर्न प्रदेश सरकार र संघीय सरकारसँग आग्रह गरिए पनि बेवास्ता भएको जनाए ।

प्रकाशित : भाद्र २१, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?