मासुको मूल्य मनपरी

सुर्खेत — वीरेन्द्रनगरका मासु व्यवसायीले खसीको मासुको मूल्यमा अस्वभाविक वृद्धि गरेका छन् । कृषकबाट निकै सस्तोमा खसीबोका खरिद गरेर व्यवसायीले मासु दोब्बर बढी मूल्यमा बिक्री गरेको पाइएको छ ।

मासुको मूल्य मनपरी

व्यवसायीले प्रतिकिलो साढे तीन सय रुपैयाँमा खसी खरिद गरेर मासुको साढे सात सय रुपैयाँसम्म बिक्री गरेका छन् । हाल वीरेन्द्रनगरमा खसी र मासुबीच प्रतिकेजी झन्डै चार सय रुपैयाँ मूल्य अन्तर छ । व्यवसायीले सरोकारवालासँग छलफल नै नगरेर मासुको मूल्य एक्कासि बढाउँदासमेत नियामक निकाय भने चुपचाप छन् ।

राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका सचिव रामप्रसाद शर्माले दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य वृद्धि हुँदा स्थानीय प्रशासनले बेवास्ता गरेको आरोप लगाए । ‘किसानले खसीको मूल्य निकै कम पाउने तर व्यवसायीले उपभोक्ताबाट चर्को मूल्य असुलिरहेका छन्, उनले भने, यसले खसी पाल्ने किसानलाई फाइदा पुग्यो नत उपभोक्तालाई ।’

तत्काल बजार अनुगमन गरी मूल्य नियन्त्रण गर्नुपर्ने उनको माग छ । उपभोक्ता ठगिरहँदासमेत स्थानीय प्रशासन, वीरेन्द्रनगर नगरपालिका कार्यालय मौन बसको उपभोक्ताको गुनासो छ । बजार अनुगमन नहुँदा गुणस्तरहिन मासु बिक्री हुने गरेको पाइएको छ ।

भदौ १ गते अघि प्रतिकिलो ६ सय रुपैयाँ मूल्य थियो । साउन २२ गते बसेको मासु व्यवसायीको बैठकले मूल्य बढाउने निर्णय गरेको थियो । एकैपटक मासुको प्रतिकेजी डेढ सय रुपैयाँ मूल्य बढेको छ ।

सुर्खेत मासु व्यवसाय संघका अध्यक्ष जनकबहादुर थापाले सुर्खेतबाट ठूला सहरमा खसीबोका बाहिरिन थालेपछि मासुको अभाव भएको बताए । यहाँबाट नेपालगन्ज, बुटवल, पोखरा, काठमाडौंजस्ता सहरमा खसी भित्रिन थालेको उनको भनाइ छ ।

‘खसीको अभाव भएर नै मूल्य बढाएका हौं,’ उनले भने, ‘सिधै किसानबाट बढी मूल्य दिएर बाहिरी जिल्लाका व्यापारीले खसीबोका खरिद गर्न थाले, यसले गर्दा बजारमा खसीबोकाको अभाव सिर्जना हुन पुग्यो ।’ खसीबोकाको मूल्य बढेकाले आफूहरूले मासुको पनि बढाउनुपरेको दाबी गरे ।

प्रकाशित : भाद्र २१, २०७५ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?