३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

स्यार्पुमा अर्को विद्युत् आयोजनाको तयारी

दुई मेगावाट विद्युत् उत्पादनको अनुमानसहित सम्भाव्यता अध्ययन गर्न लागिएको हो

रुकुम पश्चिम — स्यार्पुतालबाट अर्को विद्युत् उत्पादनको तयारी गरिएको छ । बाँफिकोट गाउँपालिका–३ र ५ नम्बर वडामा फैलिएको स्यार्पुतालको पानीबाट अर्को विद्युत् उत्पादन गर्ने गरी सम्भाव्यता अध्ययनको तयारी थालिएको हो ।

स्यार्पुमा अर्को विद्युत् आयोजनाको तयारी

स्यार्पु पावर कम्पनी लिमिटेडले स्यार्पूमा अर्को विद्युत् आयोजना निर्माणका लागि सम्भाव्यता अध्ययनको तयारी गरिरहेको हो ।

कम्पनीका अध्यक्ष धनवीर ओलीले पर्याप्त पानी रहेको स्यार्पतालबाट अर्को विद्युत् आयोजना निर्माण हुन सक्ने भएकाले त्यसको सम्भाव्यता अध्ययनको तयारीमा लागिएको बताए । ‘थप विद्युत् आयोजना निर्माणका लागि आवश्यक स्रोत र उपयुक्त वातावरण देखिएकाले त्यसको अध्ययनका लागि तयारी गरिएको छ,’ अध्यक्ष ओलीले भने, ‘सम्भाव्यता अध्ययनको प्रोसेसमा हामी लागेका छौं ।’

दुई मेगावाट विद्युत् उत्पादनको अनुमान सहित सम्भाव्यता अध्ययन गर्न लागिएको कम्पनीले जनाएको छ । ‘सबै कुरा सम्भाव्यता अध्ययत र डीपीआर पछि खुल्ला,’ ओलीले भने, ‘तर हामीले कम्तीमा पनि २ मेगावाट विद्युत् उत्पादन गर्ने गरी आयोजना निर्माण हुने अनुमान गरेका छौं ।’

सम्भाव्यता अध्ययनपछि विद्युत् आयोजना निर्माण जिल्लाकै बजेटले बनाउने योजना कम्पनीले गरेको छ । स्थानीय सरकार र सर्वसाधारणबाट सेयर संकलन गरेर आयोजना निर्माण गर्ने तयारी कम्पनीको छ ।

स्यार्पुमा अर्को विद्युत् आयोजना निर्माण गर्ने तयारी गरिएपछि जिल्लाका स्थानीय सरकारले झन्डै तीन करोडको सेयर खरिदको प्रतिबद्धता गरेका छन् । जिल्ला समन्वय समिति, आठबीसकोट, चौरजहारी र मुसीकोट नगरपालिकाले विद्युत् आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएका हुन् ।

यसैगरी बाँफिकोट, सानीभेरी र त्रिवेणी गाउँपालिकाले पनि स्यार्पुमा निर्माण हुने अर्को विद्युत् आयोजनामा लगानी गर्ने लिखित प्रतिबद्धता गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका सचिव चन्द्रबहादुर केसीका अनुसार जिल्ला समन्वय समितिले ६५ हजार र आठबीसकोट नगरपालिकाले ६० हजार कित्ता सेयर लिने लिखित प्रतिबद्धता गरेका छन् । प्रतिकित्ता एक सयका दरले समन्वय समितिले उक्त आयोजनामा ६५ लाख र आठबीसकोट नगरपालिकाले ६० लाख लगानी गर्ने निर्णय गरिसकेका छन् । यसैगरी चौरजहारी र मुसीकोट नगरपालिकाले ३०/३० लाख, बाँफिकोट, सानीभेरी र त्रिवेणी गाउँपालिकाले पनि ३०/३० लाख लगानी गर्ने निर्णय गरिसकेका छन् ।

आयोजना निर्माणको निश्चित भएपछि प्रतिबद्धता गरेकाहरूबाट लगानी आउने जनाइएको छ । आयोजना निर्माण निश्चित भएपछि सर्वसाधारणलाई पनि सेयर बिक्री गरेर सर्वसाधारणको समेत लगानी जुटाइने अध्यक्ष ओलीले बताए । आयोजना निर्माण हुन सके विद्युत्मा जिल्ला आत्मनिर्भर हुने उनको दाबी छ । स्यार्पुतालको पानीबाट अहिले एउटा विद्युत् आयोजना सञ्चालनमा छ । २०४५ सालमा जापानी सहयोग नियोग जाइकाले बनाइदिएको विद्युत् आयोजनाको उत्पादन क्षमता दुई सय ५० किलोवाट हो ।

विद्युत् आयोजना निर्माण भएको लामो समय भइसकेकाले विद्युत् उत्पादन नियमित छैन भने बेलाबेला खराबी आउने गरेकाले उपभोक्ताहरू मारमा परेका छन् । २०७२ मा उक्त आयोजनामा मुख्य मुख्य पाट्र्सहरू फेरिदिए पनि विद्युत् उत्पादन क्षमता बढ्न सकेन भने मेसिनमा खराबी आउने क्रम पनि रोकिएको छैन । केन्द्रीय प्रसारण लाइन नियमित नहुँदा पनि सर्वसाधारण अँध्यारोमै बस्न बाध्य छन् ।

प्रकाशित : भाद्र २२, २०७५ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?