२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

डोरीले तानेर यात्रा

खलंगा–रिम्ना सडक हिलाम्मे हुँदा तीन महिनादेखि यात्रुहरू यातायातका साधनलाई डोरीले तान्दै तथा ठेल्दै यात्रा गर्न बाध्य
भीमबहादुर सिंह

जाजरकोट — दुर्घटना हुँदा र कहिलेकाहीं खोला तथा हिलोमा फस्दा गाडीलाई ठेलेर अगाडि लैजानु स्वाभाविक मानिन्छ ।

डोरीले तानेर यात्रा

त्यस्तै फसेको गाडीलाई अन्य साधनको सहयोगले टोचन लगाएर निकाल्ने गरेको पनि अनौठो होइन । तर यहाँको खलंगा रिम्ना सडकका विभिन्न स्थानमा यात्रुले यातायातका साधनलाई डोरीले तानेरै यात्रा गरेको दृश्य भने अनौठो छ ।

उनीहरू विगत तीन महिनादेखि हिलोमा फसेको गाडीलाई पटकपटक ठेल्दै र डोरीले तान्दै गन्तव्यमा पुग्न बाध्य छन् । जसले यात्रुलाई आवतजावतमा सास्ती भएको छ । सडकको मर्मत सम्भार तथा स्तरोन्नतिका लागि सम्बन्धित निकाय भने बेखर देखिन्छ ।

वर्षातका कारण गत असारदेखि उक्त सडक हिलाम्मे हुँदा सहज यातायातमा बाधा पुगेको हो । सडकको दर्जनौं स्थानमा पहिरो खस्ने, खोलानाला, खाल्डाखुल्डी, हिलाम्मे हुनुलगायत कारण यातायातका साधनलाई आवतजावत गर्न कठिनाइ हुने गरेको छ । यात्रु समयमा गन्तव्यतर्फ पुग्न पाएका छैनन् ।

१६ किलोमिटरको खलंगा–रिम्ना सडक पार गर्न ५ घण्टासम्म लाग्ने गरेको छ । एक घण्टामा यात्रा पूरा हुने उक्त सडकमा ५ घण्टा लाग्ने भएपछि यात्रु मर्कामा परेका हुन् । हिलो, खहरे खोला र खाल्डाखुल्डीले सदरमुकाम खलंगादेखि रुकुमको राडीजिउलासम्मको यातायात सेवा पनि सीधा सञ्चालन हुन बाधा पुगेको छ ।

३/४ घण्टामा पुगिने खलंगा राडीजिउला सडकमा दुई दिनसम्म नलगाड नगरपालिका ८ का कर्णजंग शाहीले बताए । ‘हिलोमा फसेको गाडी डोरीले नतानी निस्कँदैन,’ उनले भने । गाडी ठेल्नुपर्ने, कतै डोरीले तान्नुपर्ने र खोलामा बदल्नुपर्ने समस्या गन्तव्यमा पुग्न सास्ती भएको शाहीले बताए ।

‘खलंगा–रिम्ना सडकको कन्तबिजोग छ । यात्रु आवतजावतमा सास्ती खेपिरहेका छन् । तर सडक डिभिजन चौरजहारी, भेरी नगरपालिकालगायत निकाय बेखबर भएका छन्,’ शाहीले भने । ‘नेपाल सरकारका वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतकै गाउँमा सडकको यस्तो हालत छ भने अन्यत्र कस्तो होला ?,’ उनले भने । ‘हिउँदमा धूलो तथा वर्षातमा हिलो हुने गर्दा यस सडकमा यात्रु आजित भएका छन् । हल्का पानी पर्दासमेत सडक अवरुद्ध हुन्छ,’ उनले भने ।

सडकको कालेगाउँ, रावतगाउँ, पिपेलगायत स्थानमा हिलोले समस्या हुने गरेको छ । सडक अवरुद्ध हुँदा बारेकोट गाउँपालिका, नलगाड नगरपालिका, रुकुमको आठबीसकोट नगरपालिका र डोल्पाका स्थानीयलाई खलंगा, नेपालगन्ज, सुर्खेतलगायत स्थानसम्म आउन जान समस्या भएको छ । उक्त सडकमा यात्रुलाई सास्ती मात्र हैन दैनिक उपभोग्य वस्तु, निर्माण सामग्रीलगायत सामान ढुवानीमा समेत बाधा पुगेको छ ।

२२ करोड खर्च गरेर निर्माण गरेको जाजरकोट डोल्पा सडकअन्तर्गतको यो खण्डको स्तरोन्नति नहुँदा यातायातमा समस्या भएको हो । राष्ट्रिय राजमार्गमा पर्ने भएकाले खलंगा–रिम्ना सडकमा नगरपालिकाको बजेटले स्तरोन्नति गर्न सम्भव नभएको भेरी नगरपालिकाका इन्जिनियर नवराज शर्मा बताउँछन् ।

सामान्य मर्मत सम्भारले यातायात सुचारु हुन नसक्ने उनले बताए । ‘बर्सेनि ५/७ लाख खर्च गर्दा पनि सडकको दुरावस्था उस्तै छ,’ शर्माले भने ।

सम्बन्धित निकायको चरम लापरबाहीले यात्रुले सास्ती भोग्नुपरेको यातायात व्यवसायी युद्धवीर सिंहले बताए । ‘यो सरकारको उदासीनता हो,’ उनले भने । सडक निर्माण गर्ने तर नियमित गाडी गुडाउनलाई योग्य नबनाउने गर्दा समस्या आएको हो,’ सिंहले भने । खलंगा–रिम्ना सडकको कतिपय स्थानमा पैदल यात्रीलाईसमेत हिंड्न सास्ती भएको उनले बताए । ट्रयाक खुलेको १० वर्ष बित्दासमेत यस सडकको स्तरोन्नति हुन सकेको छैन ।

जाजरकोट–डोल्पा सडकको खलंगा–रिम्ना खण्डको स्तरोन्नति गर्ने कार्य अघि बढेको सडक डिभिजन चौरजहारी इन्जिनियर सुशील पौडेलले बताए । स्रोत साधनको अभावका कारण वर्षातका समयमा सडक खण्डको मर्मत सम्भार हुन नसकेको उनले बताए । पूर्वी क्षेत्रको मुख्य सडक मर्मतबारे कसैले चासो नदिएपछि स्थानीयवासी आक्रोशित छन् ।

प्रकाशित : भाद्र २३, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?