१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

झोलुंगे पुलका लागि हारगुहार

भेरीमा डुंगा, ट्युब पल्टिएर बर्सेनि बग्छन् स्थानीय
प्रकाश अधिकारी

सुर्खेत — भेरीगंगा नगरपालिका–१ को बसेरी र वीरेन्द्रनगर–९ थापाडेरा क्षेत्रमा पर्ने भेरी नदीमा पुल नहुँदा स्थानीयवासीले वर्षौंदेखि सास्ती भोग्नुपरेको छ । पुल नहुँदा दस वर्षको त्यस क्षेत्रका १४ जनाले ज्यान गुमाइसकेका छन् ।

झोलुंगे पुलका लागि हारगुहार

झोलुंगे पुलका लागि वर्षौंदेखि स्थानीयको माग सुनुवाइ हुन सकेको छैन । जसले गर्दा दैनिक डुंगा र ट्युबको भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । भेरीगंगाका वडा सदस्य हरिबहादुर थापाले भेरीमा पुल नहुँदा ३० गाउँका २२ सयभन्दा बढी घरधुरीलाई समस्या परेको बताए । भेरीगंगा नगरको वडा कार्यालयले साउन २३ गते स्थानीय पूर्वाधार विभाग, पुल्चोक ललितपुरलाई पत्राचार गर्दै पुल निर्माणमा सहयोग गर्न अनुरोध गरेको छ ।

‘जनतालाई आउजाउ गर्न, कृषि, पशु उत्पादनलाई बिक्री गर्न वितरण समस्या छ,’ उनले भने, ‘स्थानीय बजेटबाट झोलुंगे पुल निर्माण सम्भव छैन, त्यही भएर झोलुंगे पुल आयोजनालाई लिखित अनुरोध गरेका हौं, अझैं सुनुवाइ भएको छैन ।’ भेरी नदीमा एक सय २० मिटर लम्बाइ छ ।

बर्खाको उर्लंदो भेलमा स्थानीयवासी, बटुवाहरूले डुंगा, ट्युबको भरमा यात्रा गर्नुपरेको छ । वीरेन्द्रनगर ९ का अध्यक्ष सुरेश मानन्धरले पनि पुलका लागि स्थानीय पूर्वाधार विभाग र झोलुंगे पुल आयोजनालाई लिखित पत्राचार गरेको जानकारी दिए । ‘उक्त खण्डमा पुल नभएकाले धेरै समस्या छ, दुई नगरका बासिन्दालाई आउजाउ गर्नै सास्ती छ,’ मानन्धरले भने ।

वीरेन्द्रनगरले पनि भदौ १४ गते पुल निर्माणका लागि विभागसमक्ष अनुरोध गरेको छ । ०५४ सालयता गत वर्षसम्म गरी १४ जनाले अकालमै ज्यान गुमाएका छन् । ०५५ सालयता डुंगा पल्टिएर भेरीगंगाका २० वर्षीय लीलाराम जैसी, ९ वर्षीय उर्मिला शर्मा, ३६ वर्षीय नरेन्द्र शर्मा, २४ वर्षीय अमृता घर्ती, ४६ वर्षीय कृपाराम जैसी, १४ वर्षीय दिनेश रावत, २९ वर्षीय रामबहादुर थापाको नदी तर्ने क्रममा मृत्यु भएको थियो ।

त्यस्तै, ४५ वर्षीय भोजबहादुर राना, ४२ वर्षीय हरिबहादुर कार्की, ३८ वर्षीय बलबहादुर राम्जाली, ११ वर्षीय हरिबहादुर थापा र २१ वर्षीय वैकुण्ठ थापाको डुंगा पल्टिएर ज्यान गएको हो । गत वर्षमात्रै भेरी तर्ने क्रममा ३० वर्षीया कल्पना राना र १८ वर्षीय नरबहादुर बुढा मगरको मृत्यु भएको थियो । भेरीगंगाले स्थानीय पूर्वाधार विभागमा मृतकको नाम–ठेगाना पनि उल्लेख गरेर आयोजना माग गरेको छ ।

स्थानीयवासीसमेत रहेका पत्रकार दीपक बुढाको समन्वयमा तत्काल पुल योजना नपरे पनि दबाबका लागि उपभोक्ता समिति गठन गरिएको छ । भेरीगंगा बसेरी र वीरेन्द्रनगर ९ थापाडेराका बासिन्दाको भेलाले दरे बुढाको अध्यक्षतामा १० सदस्यीय समिति गठन गरेको हो । ‘सबै प्रक्रिया पूरा गरेर आयोजना माग गरेका छौं,’ उनले भने, ‘यसै वर्ष पुलको योजना पार्न यही उपभोक्ता समितिले आवश्यक दबाब दिनेछ ।’

प्रकाशित : भाद्र २३, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?