फ्रि वाइफाई जडान तीव्र

हरि गौतम

रुकुम पश्चिम — सरकारको फ्रि वाइफाई नाराअन्तर्गत कर्णाली, ५ र ७ नम्बर प्रदेशका दुई जिल्लामा फ्रि वाइफाई जडान कार्यले तीव्रता पाएको छ । वर्ल्डलिंक कम्युनिकेसनले ९ वटै जिल्लामा इन्टरनेट जडान गरिरहेको हो ।

फ्रि वाइफाई जडान तीव्र

नेपाल सरकार, नेपाल दूरसञ्चार प्राधिकरण, ग्रामीण दूरसञ्चार शाखाले कर्णाली प्रदेशका सल्यान, सुर्खेत र दैलेखबाहेक अरू ७ जिल्लासहित ५ नम्बर प्रदेशका रुकुम पूर्व र रोल्पामा इन्टरनेट जडान गर्ने जिम्मा वर्ल्डलिंक कम्युनिकेसनलाई दिएका छन् ।

वर्ल्डलिंकले डोल्पा र मुगुबाहेक ७ जिल्लाका २ सय ८० ठाउँमा इन्टरनेट जडान गरेर फ्रि वाइफाई सेवा सञ्चालन गरिसकेको छ । कर्णाली परियोजनाका प्रमुख किरण देवकोटाका अनुसार सबैभन्दा बढी कर्णली प्रदेशका रुकुम पश्चिमका ८५ ठाउँमा इन्टरनेट जडान भएको छ । यसैगरी जुम्लाका ५५, कालिकोटका ४०, जाजरकोटका ३० र हुम्लाका ५ ठाउँमा फ्रि वाइफाई सुरु भइसकेको छ ।

यसैगरी ५ नम्बर प्रदेशका रोल्पामा ५० र रुकुम पूर्वमा १५ ठाउँमा इन्टरनेट जडान पूरा भएर वाइफाई सेवा सुरु भइसकेको छ । डोल्पा र मुगु जिल्लामा वर्षा सकिएलगत्तै इन्टरनेट जडान कार्य सुरु हुने देवकोटाले बताए ।

नगर तथा गाउँपालिका कार्यालय, वडा कार्यालय, अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र मावि तहसम्म पठनपाठन हुने विद्यालयहरूमा नि:शुल्क इन्टरनेट जडान भइरहेको छ । वर्ल्डलिंकले गत जेठयता इन्टरनेट जडान कार्य थालेको थियो । ९ वटै जिल्लाका सबै स्थानीय तह, वडा, स्वास्थ्य संस्था तथा विद्यालयमा इन्टरनेट जडान गरिसक्ने गरी काम भइरहेको प्रमुख देवकोटाले बताए ।

इन्टरनेट जडानका लागि डिभाइस, राउटर, एडप्टर, इन्टरनेटको तारको व्यवस्थापन वर्ल्डलिंकले नै गरिदिएर इन्टरनेट चलिसकेपछि त्यसबापत गाउँ तथा नगरपालिका, वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकीबाट कम्पनीले नि:शुल्क इन्टरनेट जडान गरिएको चिठी लैजान्छ । हाल ९ वटै जिल्लामा टावर निर्माणको काम सँगसँगै इन्टरनेट जडानको काम पनि भइरहेको छ ।

सबै ठाउँमा गरी १ सय ३० वटा टावर निर्माण गर्नुपर्नेमा अहिलेसम्म ५० बढी वटा टावर सञ्चालनमा आइसकेको देवकोटाले बताए । इन्टरनेट सेवा उपयोग गरेबापत नगरपालिका कार्यालय, गाउँपालिका कार्यालय, नगरपालिका तथा गाउँपालिकाका वडा कार्यालय, माध्यमिक विद्यालय र स्वास्थ्य चौकीले कुनै शुल्क तिर्नुपर्ने छैन । समुद्र सतहदेखि ४ हजार ३ सय मिटर उचाइसम्ममा टावर बनेकाले अब यी ९ जिल्लाका कुनै पनि वडा इन्टरनेट सेवाबाट वञ्चित नहुने वर्ल्डलिंकको दाबी छ ।

भौगोलिक विकटता, बिजुलीको समस्याले गर्दा इन्टरनेट जडानले गति लिन सकेको छैन । एउटा वडादेखि अर्को वडासम्म पुग्न एक दिन बढी हिंड्नुपर्ने, भनेको समयमा बिजुली नहुने तथा सोलार रहेको ठाउँमा पनि सोलार चार्ज नहुने समस्याले एकै ठाउँमा इन्टरनेट जडानका लागि धेरै समय खर्च भइरहेको छ ।

हालसम्मको तथ्यांकअनुसार ९ जिल्लाका एक हजार एक सय ११ ठाउँमा इन्टरनेट जडान गरिनेछ । यद्यपि नगर तथा गाउँपालिकाले स्वास्थ्य इकाई तथा विद्यालयहरू थप्ने क्रम जारी रहेकाले यो संख्या बढ्न सक्ने वर्ल्डलिंकले जनाएको छ ।

प्रकाशित : भाद्र २३, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?