कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बसपार्क अस्तव्यस्त सवारी पार्किङमा समस्या

राजबहादुर शाही

मुगु — छायानाथ रारा नगरपालिकास्थित घुघुने ओडारमा निर्माणाधीन बसपार्क अलपत्र परेको छ । बसपार्क अलपत्र भएपछि जिल्लामा सञ्चालन हुने सवारीसाधन पार्किङ गर्न र यात्रुलाई टिकट काट्न समस्या भएको छ ।

बसपार्क अस्तव्यस्त सवारी पार्किङमा समस्या

बसपार्क नहुँदा यात्रुले विभिन्न सास्ती बेहोर्नुपरेको छ । बसपार्क नभएपछि कहाँबाट गाडी चढ्ने भन्ने अन्योल हुने गरेको यात्रुको गुनासो छ । यस वर्ष कुनै पनि निकायले रकम नछुटयाउँदा बसपार्क अलपत्र परेको हो ।

बसपार्कको ४० प्रतिशत कामसमेत भएको छैन । बसपार्क निर्माणका लागि ११ जनाले नि:शुल्क जग्गादान गरेका थिए । घुघुने ओडारको १३ रोपनी क्षेत्रफलमा बसपार्क निर्माण सुरु गरिएको थियो ।

गत आर्थिक वर्षमा बसपार्क निर्माणका लागि नगरपालिकाले २० लाख र सांसद क्षेत्र विकास कोषबाट २० लाख रकम विनियोजन गरिएको थियो ।निर्माणका लागि नगरपालिका र कर्णाली प्रदेश सरकारले एक रुपैयाँ पनि विनियोजन नगरेको बसपार्क निर्माण समितिका अध्यक्ष पदमराज मल्लले बताए । गत वर्षको बजेटले जग्गा सम्याउने, पर्खाल निर्माणका लागि ढुंगा, बालुवा ढुवानी गर्ने काममात्र भएको उनको भनाइ छ ।

त्यस्तै एकातर्फको पर्खाल निर्माणको काम सकिएको छ । अधुरो बसपार्क सम्पन्न गर्न नगरपालिकासँग बजेट प्रस्ताव गर्दा स्वीकृति नभएको मल्लले जनाए । ‘बसपार्क अलपत्र भएपछि मालबाहक गाडी, जिप, टयाक्टरलगायतका सवारीसाधन सडकमै पार्किङ गर्ने गरिएको छ,’ उनले भने, ‘सडकमा पार्किङ गर्दा बटुवालाई समेत आवतजावतमा समस्या परेको छ ।’

उनले सडकमै पार्किङ गरिएपछि विद्यालय जाने बालबालिकालाई सबैभन्दा बढी असर परेको जनाए । नगरबाट थोरै पैसा छुटयाउँदा नपुग्ने भएकाले सहरी विकास मन्त्रालयमा बसपार्क निर्माणका लागि बजेटको कुरा भइरहेको नगरपालिका प्रमुख हरिजंग शाहीले बताए ।

‘बजेट पर्याप्त भयो भने एक वर्षभित्रै काम सकिने अवस्था छ,’ उनले भने, ‘थोरै बजेटले सामान्य काममात्र हुने भएकाले नगरपालिकाले यस वर्ष बजेट विनियोजन नगरेको हो ।’ २०६९ सालमा मुगु राष्ट्रिय सडक सञ्जालमा जोडिए पनि अहिलेसम्म बसपार्क निर्माण नहुँदा समस्या भएको यातायात व्यवसायीको भनाइ छ ।

न्युरोड सडकको छेउमा काठको टहरो बनाएर यातायात कम्पनीले यात्रुलाई टिकट वितरण गर्ने गरेका छन् । बसपार्क अभावमा यातायातका साधन सडकमै रोक्नुपर्ने बाध्यता भएको छायानाथ यातायात प्रालिका नेताप्रसाद चौलागाईंले बताए । सडकमा गाडी रोक्दा ट्राफिक व्यवस्थापनमा समस्या भएको छ ।

प्रकाशित : भाद्र २४, २०७५ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?