१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

एकै वडामा सात दह

हरि गौतम

रुकुम पश्चिम — मुसीकोट नगरपालिका–७, साँख गाउँमा अवस्थित साँख दहबारे जिल्ला बाहिरका बासिन्दालाई पनि थाहा छ । तर वडा ७ मा अन्य साना दहसमेत छन् । अन्य ६ र साँख दहका दुईवटा भिन्नता छन् । साँख दह गाउँको बीचमा छ भने अन्य दह जंगल बीचमा ।

एकै वडामा सात दह

साँख दहमा बाह्रै महिना पानी हुन्छ भने अन्य ६ वटा दह केही महिना सुक्खा हुन्छन् । साबिक साँख गाविसका १, २, ३, ५ र ७ नम्बर वडा समेटेर बनाइएको हालको मुसीकोट ७ मा सातवटा दह छन् । साँख दह, ठूली दह, छिप्री दह, स्यानी दह, खारा दह, बैरी दह र रिन दह यस वडामा अवस्थित दह हुन् ।


साँखबाहेक अन्य दह जंगलमा छन् । जसमध्ये अधिकांश दह मध्यपहाडी लोकमार्ग नजिक पर्छन् । ऐतिहासिक र धार्मिक हिसाबले साँख दह जत्तिकै अरू दहहरू पनि महत्त्वपूर्ण भएको वडाअध्यक्ष हिमबहादुर पाण्डेले बताए ।


ठूली, छिप्री र स्यानी दह एकअर्कासँग जोडिएका छन् । स्यानी दहको छेउ र ठूलीदह माथीको लेकमा हरेक मंसिरे र फागु पूर्णिमाको दिन पूजाआजा गरिन्छ । जंगलको बीचमा रहेकाले यी दह धार्मिक आस्थाका धरोहर भएको गाउँले बताउँछन् । स्थानीय पूर्णबहादुर बुढाले दहको छेउमा रहेका मन्दिरमा पूजाआजा गर्दा अनिष्ट हुनबाट जोगिने, अनावृष्टि नहुने विश्वास रहेको बताए । उनका अनुसार ठूली, छिप्री र स्यानी दहको एक किलोमिटर टाढा खारा दह छ भने अलि टाढा बैरी र रिन दह पर्दछन् ।


प्राकृतिक, धार्मिक र ऐतिहासिक महत्त्वका भए पनि यी दहहरू ओझेलमा छन् । साँख दहबाहेक अन्य दहको बारेमा प्रचारप्रसार हुन नसकेको वडाअध्यक्ष पाण्डेले बताए । ‘साँख दह गाउँको बीचमै छ, नजिकैबाट मध्यपहाडी लोकमार्ग भएकाले यसको बारेका धेरैलाई थाहा छ तर अरू ६ वटा दह ओझेलमै छन्,’ अध्यक्ष पाण्डेले भने ।


वर्षका आठ महिना पानी हुने यी दह वर्षा याममा भरिएका कारण रमाइला हुन्छन् भने हिउँदमा सुक्खा हुँदा पशुपक्षी चर्ने कारणले रमाइला मानिन्छन् । ठूली, छिप्री र स्यानी दहमा मध्यपहाडी लोकमार्गबाट एक घण्टा उकालो पैदल हिँडेपछि पुगिन्छ भने बैरी र रिन दह नजिकै छन् । पहिल्यैदेखि यी दहका बारेमा प्रचारप्रसार तथा संरक्षणका लागि खासै पहल नभएको स्थानीयले बताएका छन् ।


चालु आर्थिक वर्षमा मुसीकोट नगरपालिकाले छिप्री र स्यानी दहको बीचमा मन्दिर बनाउन एक लाख बजेट विनियोजन गरेको वडाअध्यक्ष पाण्डेले बताए । यो बाहेक नगरपालिकाले दहको प्रचारप्रसार र संरक्षणका लागि कुनै कार्यक्रम बनाएको छैन ।


क्रिकेट मैदान बनाउने प्रयास
मुसीकोट ७ का सात दहमध्ये ठूली दहमा क्रिकेट मैदान बनाउने प्रयास भए पनि त्यसले सार्थकता पाउन सकेन । आर्थिक बर्ष २०७३/०७४ मा क्रिकेट मैदान बनाउन भन्दै दस लाख बजेट पनि विनियोजन गरिएको थियो । संसद् विकास कोषको बजेट जिल्ला विकास समितिमार्फत परिचालन गरिएको थियो ।

प्रकाशित : भाद्र २६, २०७५ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?