कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

अभिभावकविहीन बालबालिकालाई सहारा

अभिभावकविहीन एन्जु, राजबहादुर र धनराजको लालनपालन तथा पठपाठनको जिम्मा भेरी नगरपालिका ३, थाप्लेको महिला समूहले लिएको छ
भीमबहादुर सिंह

जाजरकोट — नलगाड नगरपालिका ७, खगेनकोटकी ६ वर्षीया एन्जु शर्मा यूकेजीमा पढ्छिन् । जय मालिका गुरुकुल वेद विद्यापीठ थाप्लेकी विद्यार्थी एन्जुलाई लालनपालन, पठनपाठन र हेरचाह गर्ने आमाबाबु छैनन् ।

अभिभावकविहीन बालबालिकालाई सहारा

आमा गीता र बाबु नन्दलालको ४ वर्षअघि भेरी बस दुर्घटनामा ज्यान गएको थियो ।

यस्तै बारेकोट गाउँपालिका–९ का ७ वर्षीय राजबहादुर महतारा र उनका ५ वर्षीय भाइ धनराज पनि अभिभावकविहीन छन् । आमाको मृत्यु र बाबु जनकबहादुर वेपत्ता भएपछि अभिभावकविहीन बनेका उनीहरू पनि जय मालिकामै पढ्छन् ।

अभिभावकविहीन एन्जु, राजबहादुर र धनराजको लालनपालन तथा पठनपाठनको जिम्मा भने भेरी नगरपालिका ३, थाप्लेको महिला समूहले लिएको छ । उक्त समूहले उनीहरूसमेत १० जना टुहुरा तथा अनाथ बालबालिकाको लालनपलन र पठनपाठनका लागि मासिक ३० हजार खर्च गर्दै आएको छ । कालीमाता नरिन्ताकुमारी शाह, शारदा हमाल, लक्ष्मी शाह, अम्बिका थापा र पूर्णकला सिंहलगायत महिलाले टुहुरा बालबालिकाको संरक्षण गर्दै आएका छन् ।

विगत ५ महिनादेखि नेपाल आमा अनाथ आश्रम सञ्चालन गरेर टुहुरा तथा अनाथको संरक्षण गर्दै आएको अध्यक्ष शारदा हमालले बताइन् । बालबालिकाको सुरक्षा, लालनपालन, पठनपाठनलगायत सेवा गर्न दुई जना वार्डेन राखेका छन् । समाज सेवा गर्ने उद्देश्यअनुरूप अनाथ बालबालिकालाई लालनपालनको जिम्मा लिएको अध्यक्ष हमालको भनाइ छ ।

अनाथ आश्रममा बारेकोट गाउँपालिकाका ४ जना, नलगाड नगरपालिकाका ४ जना र भेरी नगरपालिकाका २ जना बालबालिकालाई संरक्षण दिइएको छ । जाजरकोटमा टुहुरा तथा अनाथ बालबालिकाको उचित हेरचाह र लालनपालन नहुँदा उनीहरू बालअधिकारबाट बन्चित भएका छन् । यस्ता बालबालिकाको लालनपालनमा कुनै पनि संघसंस्थाले सहयोग नगरेको अध्यक्ष शाहले बताइन् ।

आश्रममा रहेका बालबालिका एलकेजीदेखि २ कक्षासम्म अध्ययनरत छन् । सम्बन्धित गाउँ/नगरपालिकाको सिफारिसमा टुहुरा बालबालिकालाई आश्रममा राखेर पठनपाठन गर्दै आएको हमालले बताइन् । ‘आश्रम सञ्चालन गर्ने ७ जना दिदीबहिनीले नै एकआपसमा चन्दा संकलन गरेर बालबालिकाको लालनपालन तथा पठनपाठन खर्च बेहोर्दै आएको छौं,’ उनले भनिन् ।

जिल्लाका ७७ वटा वडाबाट एक/एक जनाका दरले टुहुरा तथा अनाथलाई आश्रममा संरक्षण दिने उद्देश्य राखेको हमालले बताइन् । आश्रमका लागि दिदीबहिनी मिलेर ८ कोठे भवन पनि निर्माण गर्न लागेको कालीमाता शाहले बताइन् । आश्रममा जति सक्यो धेरै अनाथ बालबालिकाको संरक्षण दिने कार्यक्रम छ ।

प्रकाशित : भाद्र २७, २०७५ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?