बाढीपहिरोमा चार करोडको क्षति

रुकुम पश्चिम — चालु वर्षाको कारण चौरजहारी नगरपालिकामा झन्डै चार करोडको सम्पत्ति क्षति भएको छ । गत असार २४ देखि भदौ २० गतेसम्म बाढी, पहिरो र भूक्षयका कारण तीन करोड ६९ लाख ६३ हजार चार सय रुपैयाँ बराबरको क्षति भएको नगरपालिकाले जनाएको छ ।

बाढीपहिरोमा चार करोडको क्षति

नगरपालिकाका अधिकांश वडामा वर्षाको क्रममा बाढी, पहिरो र भूक्षय गएको त्यसले सर्वसाधारणको घरदेखि अन्नबालीसहितको जग्गा जमिन बगेको जनाइएको छ ।

चौरजहारी नगरपालिकाले गठन गरेको कार्यदलले वर्षाको तीन महिनामा पुगेको क्षतिको विवरणसहितको प्रतिवेदन नगरपालिकामा बुझाएका छन् । उक्त प्रतिवेदनअनुसार नगरपालिकाका ८५ घरपरिवार बाढी, पहिरो र भूक्षयबाट पीडित बनेका छन् । जसमध्य १० घरपरिवार घरबारविहीन बनेका भने २७ घरमा आंशिक क्षति बनाएको छ । २७ घर परिवारको अन्नबालीसहितको खेतबारी बगेको विवरण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

वर्षाको कारण ७ वटा सडकमा क्षति पुगेको छ भने ६ वटा विद्यालय तथा आयोजनामा क्षति पुगेको छ । ४ घर आगजनीबाट क्षति पुगेको छ भने सार्वजनिक स्थानमा बसेका ४ घरपरिवार पनि घरबारविहीन बनेका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रदीप सुनार नेतृत्वको टोलीले नगर कार्यपालिकामा प्रतिवेदन बुझाएको हो ।

कार्यदलका संयोजक एवं प्रमुख प्रशासकीय अधिकृत सुनारले जहारीखोला, खहरेखोला, नार्जीखोला, लापुरखोला, ठूलाखोला, कटेजखोला, कालिगारखोला, सेतीगारखोला, मानाकोटखोला, चिन्नेबगरखोला, चैतेखोला, दमदमेखोला तथा साक्चा खोलालगायतको कारणले बढी क्षति पुग्ने गएको बताए । उनले कार्यदलले गाउँकार्यपालिकामा दसबुँदे सुझाव पनि दिएको बताए ।

जनचेतनना जगाउनुपर्ने, जोखिमयुक्त ठाउँको पहिचान तथा पूर्वतयारी गर्नुपर्ने, विनाश हुने अवस्थाको निक्र्योलपछि मात्रै विकास गर्नुपर्ने, रकम भुक्तानी दिनुअघि आईईई र ईआईए गर्नुपर्नेजस्ता सुझाव दिइएको छ ।

नगरप्रमुख विशाल शर्माले तत्काल राहतका लागि अत्यावश्यक परेका २० बढी घरपरिवारलाई ३ हजारदेखि २० हजारसम्म नगद सहयोग गरिएको बताए । यसको साथै प्रतिवेदनमा दिइएका सुझावअनुसार अबका दिनमा डोजरले केहीबाहेक अधिकांश सडक निर्माण नगर्ने निर्णयमा पुगिसकेको नगरप्रमुख शर्माले बताए ।

प्राकृतिक प्रकोपबाट धेरै क्षति हुने भएपछि अबका दिनमा आपतकालीन कोष स्थापना गर्ने, तारजाली र तटबन्धको साथै अर्को वर्षदेखि वृक्षरोपणलाई प्रथामिकता दिने नगर प्रमुख शर्माले बताए ।

प्रकाशित : भाद्र २७, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?