२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कालिकोटमा बालकचहरी

बालबालिकाले सरोकारवालासँग बालकचहरीमार्फत प्रश्नोत्तर मात्र गरेनन्, अन्तरनिहित क्षमता देखाउने अवसर पनि पाए
तुलाराम पाण्डे

कालिकाेट — बालबालिकाका सवालबारे शुक्रबार मान्ममा जिल्लास्तरीय बालकचहरी सञ्चालन भएको छ । समुदायमा रहेका जल्दाबल्दा सवालबारे गाउँमा पञ्च भलाद्मी बसेर सामूहिक निर्णय गर्ने कर्णालीको पुरानो चलन कचहरीलाई जिल्लामा बालबालिकाका अधिकारसँग जोड्दै बाललकचहरी गरिएको हो ।

कालिकोटमा बालकचहरी

प्रत्येक वर्ष र्‍याली, जुलुस र ठूलाबडाको पट्यारलाग्दो एकोहोरो भाषण सुन्दै आएका कालिकोटका बालबालिकाले यस पटकको राष्ट्रिय बालअधिकार दिवसमा फरक अनुभूति गरे । उनीहरूले सरोकारवालासँग बालकचहरी मार्फत प्रश्नोत्तर मात्र गरेनन् । अन्तरनिहित क्षमता देखाउने अवसर पनि पाए ।

खाडाचक्र नगरपालिका आयोजक भएर मनाइएको दिवसमा शुक्रबारको दिवसमा पनि पहिलेजस्तो खुला चौरमा बस्नुपरेन । सबै बालबालिकालाई कुर्सी र कार्पेटको व्यवस्था गरियो । जिल्लाका ठूलाबडा र बालबालिकालाई समान रूपमा बसाइयो । सभाहलमा राखेर उनीहरूले दैनिक भोगेका, देखेका र सुनेका विषयमा सरोकारवालाई कचहरीमा खुला प्रश्न राखे । जवाफ मागे । जवाफमा चित्त बुझेन भने फेरि सोधे ।

खाडाचक्र नगरप्रमुख जसिप्रसाद पाण्डे, प्रजिअ चन्द्रबहादुर कार्की, जिल्ला बालकल्याण समितिका अध्यक्ष लालबहादुर मल्ल, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख मकर भण्डारी, जिल्ला समन्वय अधिकारी दुर्गाप्रसाद पराजुली, बालअधिकारकर्मी बाले विश्वकर्मालगायतका जवाफदेही वक्ता रहेको बालबालिकाको आवाज सुनौं विषयक अन्तरक्रियामा बालबालिकाले विद्यालयमा दिवा खाजा, पाठ्यपुस्तक, छात्रवृत्तिको दुरुपयोग भएको, गाउँमा सडक पुर्‍याउने नाममा डोजर चलाएर कर्णाली राजमार्ग हिलाम्मे बनाउँदा विद्यालय जान कठिन भएकोदेखि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यासम्मका विषय उठाए ।

सञ्चारकर्मी प्रेमराज सिम्खडाले सहजीकरण गरेको प्रश्नोत्तरको सुरुमै महादेव आधारभूत विद्यालय बालमन्दिरकी छात्रा सृजना बस्नेतले शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख भण्डारीलाई प्रश्न तेस्र्याइन् विद्यालयमा जाने दिवा खाजाको रकम कटौती हुँदैछ भन्ने सुनिएको छ, वास्तविकता के हो ? जवाफ पाऊँ ।

उनको प्रश्न खस्न नपाउँदै जनजीवन माविका छात्रा कन्ना पाण्डेले नगर प्रमुख जसिप्रसाद पाण्डेलाई प्रश्नको ओइरो लगाइन् (बालबालिकाको नाममा विनियोजन गरिने बजेट कसका छोराछोरीले पाउँछन् ? हाम्रो क्षमता विकास किन हुँदैन ? कतिपय वडाले जंगल जाने बाटो बनाएर बालबालिका पनि हिँड्छन्, भनेर बालबालिकाको नाममा विनियोजन हुने बजेट खर्च गर्छन् ? यसको अन्त्य कहिले हुन्छ ? उनको प्रश्न सकिन नपाउँदै अर्की छात्रा धर्मा मल्लले प्रश्न गरिन् ? मान्म बजारबाट ताडी विद्यालय जाने बाटो डोजर लगाएर माथिबाट आएको हिलोले हिँड्न अत्यन्तै कठिन छ । हजुरहरू त गाडीमा जानुहुन्छ । हामी पैदल हिँडेर जानुपर्नेको समस्या कहिले समाधान हुन्छ ?

प्रगतिशील बाल क्लबकी प्रतिनिधि कृष्णा बमले प्रहरीलाई प्रश्न सोधिन्— कञ्चनपुरजस्तो सुगम ठाउँमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या हुन्छ ? संलग्नको खोजी गर्न प्रहरी सक्दैन भने हामी दूरदराजका बालिकाको सुरक्षा कसरी हुन सक्छ ? हामीले दैनिक हिंसा र दुव्र्यवहार भोग्नुपर्छ । हाम्रा कुरा कहाँ भन्ने ? उनी जनजीवन माविमा कक्षा १० मा अध्ययनरत छात्रा हुन् ।

अर्की बालिका किरण शाहीले गैरसरकारी संस्थाहरू बालसमूह बनाइदिने क्षमता विकास र नेतृत्व विकासमा लगानी नगर्ने र सञ्चारमाध्यमले पनि बालकेन्द्रित कार्यक्रम प्रकाशन र प्रसारणमा कन्जुस्याइँ गरेको दुखेसो पोखिन् । एक हजारभन्दा बढी बालबालिकाको सहभागिता रहेको अन्तरक्रियामा ६३ जना बालबालिकाले कालिकोटमा बालबालिकाले बालकचहरीमार्फत भोग्नुपरेको बालश्रम, छात्रवृत्तिको दुरुपयोग, दिवा खाजाको दुरुपयोग, शिक्षकको अनुपस्थिति, विषयगत शिक्षकको अभाव, बाल दुव्र्यवहार, अपांगता भएका बालबालिकाका समस्यालगायतका विषय उठाए ।

कालिकोटका बालबालिकाको चेतनास्तर र क्षमता आफूले सोचेभन्दा निकै माथि रहेको सुनाउँदै प्रजिअ चन्द्रबहादुर कार्कीले सरोकारवालाले कार्ययोजना बनाएर बालबालिकाले उठाएका सबै सवालको समाधानमा लागिपर्ने प्रतिबद्धता जनाए ।

खाडाचक्र नगर प्रमुख जसिप्रसाद पाण्डेले एक महिनाभित्र विद्यालय जाने बाटो मर्मत गर्ने, बालबालिकाको सहभागितामा विनियोजित बजेट खर्च गरिने र प्रतिबद्धता जनाए । यहाँका सबै सरोकारवालाले बालबालिकाका जिज्ञासाको जवाफ दिंदै ९ बुँदे साझा प्रतिबद्धता जनाए ।

बालबालिकाबाट आएको सवाल समाधानका लागि बाल हिंसा न्यूनीकरण गर्न जिल्ला प्रहरीसहितका सरोकारवालाले गाउँगाउँमा चेतनामूलक अभियान सञ्चालन गर्ने, विद्यालयमा जाने दिवा खाजा, पाठयपुस्तक र छात्रवृत्तिको सदुपयोग भए नभएको अनुगमन गरी दोषीलाई कानुनी कारबाही गर्ने, सबै बालबालिकाको क्षमता विकासका लागि विद्यालय, स्थानीय पालिका र अन्य निकायले रचनात्मक कार्यक्रम सञ्चालन गर्ने, बालविवाह न्यूनीकरणका लागि अभियान सञ्चालन गर्ने, पहिराले हिलाम्मे सडक तत्काल मर्मत सुधार गर्ने कचहरीमा प्रतिबद्धता जनाए ।

त्यस्तै, जिल्लाभरि बाल क्लब गठन, पुनर्गठन तथा क्षमता विकास गर्ने, विद्यालय शान्ति क्षेत्रलाई प्रभावकारी बनाउन अनुगमन गर्ने, बालश्रममा रहेका बालबालिकाको तथ्यांक संकलन गरी समस्या समाधानको योजना बनाउने र होटल बालश्रमिकको अनुगमन गरी बालश्रममुक्त होटल बनाउने, अपांगता भएका बालबालिकाको शिक्षाका लागि स्थानीय तहमार्फत पहल गर्ने वाचा पनि गरेका छन् ।

बालबालिकाको प्रश्न र सरोकारवालाको जवाफ अनि आगामी दिनमा सुधारका लागि गरिएका प्रतिबद्धताले बालबालिकाको पनि आवाज सुनिने रहेछ भन्ने महसुस भएको जिल्ला बाल मञ्चका सचिव कमल शाहीले बताए । कालिकोटका विभिन्न गाउँ तथा नगरपालिकाले पनि बालबालिकाका सवालबारे छलफल गर्न बालकचहरीको अभ्यास गरिरहेको बालअधिकारकर्मी प्रकाशबहादुर शाहीले बताए ।

प्रजिअबाट ७ हजार पुरस्कार
खाडाचक्र आसपासका विद्यालयबाट बिहीबार आयोजित सुखी नेपाली समृद्ध नेपाल विषयक वक्तृत्वकला प्रतियोगितामा सहभागी भएका बालबालिकाको क्षमता देखेर प्रजिअ चन्द्रबहादुर कार्कीले ७ जनालाई जनही एक हजारका दरले ७ हजार व्यक्तिगत रूपले पुरस्कार दिएका छन् । एक महिनाअघि भोजपुरबाट सरुवा भएर कालिकोट आएका प्रजिअ कार्कीले कालिकोटका बालबालिकामा पनि तार्किक क्षमता होला भन्ने आफूले कल्पना नगरेको सुनाए ।

प्रकाशित : भाद्र ३१, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?