२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

योजना कार्यान्वयन

दैलेख — नारायण नगरपालिकाले चालु आर्थिक वर्षका लागि १० नयाँ योजना छनोट गरी कार्यान्वयन थालेको छ । दोस्रो नगर परिषद्द्वारा भएका निर्णय प्राथमिकीकरण गरी कार्यान्वयनमा लगिएको हो ।

योजना कार्यान्वयन

नगरको पहिचान र समृद्धिका लागि ४९ करोड ६३ लाख रुपैयाँ विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

नगर चक्रपथ, कोटिलामा पञ्चकोसी मानव निर्मित ताल, जडीबुटी उद्यान तथा प्रशोधन केन्द्र, राइली–त्रिपानी पर्यटकीय क्षेत्रलाई प्राथमिकता दिइएको छ । त्यस्तै, जिल्ला अस्पताललाई ५० शैय्याको बनाउने, श्रीस्थान–नाभिस्थान–पञ्चकोसी मार्गको स्तरोन्नति, विभिन्न देवलको पुनर्निर्माण र प्रदेशस्तरीय रंगशालालाई पनि प्राथमिकतामा राखिएको छ ।

नगरसभा हल र औद्योगिक ग्राम भवन निर्माणका लागि जग्गा छनोटको काम यसै वर्ष गरिने प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतले बताए । उनका अनुसार विक्रमचौरदेखि छामघाट र सुर्खेत–महाबु सडकको स्तरोन्नति तथा चुप्रा क्षेत्रमा पार्क र मिनी चिडियाखाना बनाउन पहल थालिएको छ । ‘अधिकांश योजनाको खाका तयार पारिएको छ,’ उनले भने, ‘केही योजनाका लागि संघीय र प्रदेश सरकारसँग आवश्यक बजेट माग गरेका छौं ।’

सदरमुकामदेखि श्रीस्थान, कोटिलालगायत धार्मिकस्थलमा जाने सडकको स्तरोन्नति गरिने इन्जिनियर हिक्मत रोकायले बताए । उनले नारायण–१, स्थित कोतगढीको प्रवद्र्धनका लागि योजनाअघि बढाइने जनाए । नगरपालिकाले कृषि, पर्यटन र पशुपालनलाई पनि विशेष महत्त्व दिएको जनाएको छ ।

वडा नं २ र ११ मा व्यावसायिक तरकारी खेतीका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ । ‘एक घर १० बिरुवा’ कार्यक्रमअन्तर्गत फलफूलको बिरुवा रोप्ने कामलाई प्रोत्साहन दिइएको नगरप्रमुख रत्नबहादुर खड्काले बताए । ‘पर्यटकीय जिल्लाको रूपमा चिनिए पनि पर्यटकीय विकासले गति लिन सकेको छैन,’ उनले भने, ‘त्यसैले नगर क्षेत्रमा पर्ने विभिन्न ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातत्त्विक स्थानको प्रवद्र्धनका लागि पनि विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ ।’

नगरपालिकाले चालुतर्फ आठ करोड ८५ लाख र पुँजीगततर्फ १७ करोड १४ लाख रकम विनियोजन गरेको छ । नगरपालिकाका अनुसार ससर्त अनुदानतर्फ १९ करोड ५४ लाख रुपैयाँ छुटयाइएको छ । त्यस्तै खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व स्रोतबाट एक करोड रकम छुटयाइएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित : आश्विन १, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?