कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

शिक्षक अनुदानमा सवा करोड

आर्थिक अवस्था न्यून भएका दरबन्दीविहीन विद्यालयमा शैक्षिक जनशक्ति व्यवस्थापनका लागि अनुदान
भीमबहादुर सिंह

जाजरकाेट — कुशे गाउँपालिकाले विद्यालयलाई शिक्षण सिकाइ अनुदान शीर्षकमा सवा करोड अनुदान वितरण गरेको छ । ९ वटै वडाका माध्यमिक, निम्न माध्यमिक, प्राथमिक र बाल विकास केन्द्रमा शिक्षक नियुक्तिका लागि अनुदान रकम वितरण गरेको हो ।

शिक्षक अनुदानमा सवा करोड

गाउँपालिकाले ३१ विद्यालयमा ५१ शिक्षकका लागि एक करोड र १७ वटा बाल विकास केन्द्रमा वाल विकास शिक्षक तथा कार्यालय सहयोगीका लागि १७ लाख ९४ हजार उपलब्ध गराएको छ । विद्यालयमा शिक्षक अभावको समस्या हल गर्न शिक्षण सिकाइ अनुदान वितरण गरेको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।

शिक्षक दरबन्दीबिनाका विद्यालयमा पठनपाठन नहुँदा शैक्षिक गुणस्तर खस्केकाले शैक्षिक जनशक्ति अनुदान उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष बस्नेतको भनाइ छ । ‘गाउँपालिका क्षेत्रभित्रका ७ वटा मावि, दर्जन निमावि र आधा दर्जन प्राविमा एउटा पनि दरबन्दीका शिक्षक छैनन्, अभिभावकको चन्दा सहयोगबाट विद्यालय धानिएको छ,’ उनले भने, ‘त्यसैले शिक्षाको गुणस्तर सुधारका लागि अनुदान उपलब्ध गराइएको हो ।’

अनुदान रकमबाट दरबन्दीविहीन विद्यालय तथा बाल विकास केन्द्रमा ८० जना शैक्षिक जनशक्ति भित्रने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार अनुदान रकमले माध्यमिक विद्यालयमा ८, निम्न माध्यमिकमा २५ र प्राथमिकमा १८ शिक्षक नियुक्ति गरिनेछ ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख मानबहादुर गिरीका अनुसार अनुदान रकमबाट मावि शिक्षकले २५ हजार, निमावि शिक्षकले १८ हजार र प्राथमिक शिक्षकले १५ हजारका दरले पारिश्रमिक पाउने छन् । बाल विकास शिक्षकले ६ हजार र सहयोगीले ३ हजारका दरले मासिक पारिश्रमिक पाउने उनले जनाए । अंग्रेजी, विज्ञान र गणित विषयको पठनपाठनलाई लक्षित गरी अनुदान उपलब्ध गराइएको गिरीको भनाइ छ । उनले शिक्षण सिकाइ अनुदान रकम आगामी चार वर्षसम्म निरन्तर वितरण गरिने जानकारी दिए ।

कुशेमा ३२ प्राथमिक, ८ आधारभूत, ११ माध्यमिक विद्यालय र पाँच दर्जन बाल विकास केन्द्र छन् । गाउँपालिकाभरि ९ हजार विद्यार्थी अध्ययनरत छन् । दरबन्दी अभावमा कुशेका दर्जन माध्यमिक विद्यालय प्राथमिक शिक्षकका भरमा सञ्चालन हुँदै आएका थिए । माध्यमिक तह सञ्चालन गरेको एक वर्ष वित्दा समेत शिक्षकको व्यवस्था नहुँदा पठनपाठन प्रभावित भएको सरस्वती माध्यमिक विद्यालय रिजापाहाडाका प्रधानाध्यापक केशवराज आरसीले बताए ।

उनका अनुसार कक्षा १ देखि १० सम्म पढाइ हुने विद्यालय ३ प्राथमिक र दुई निमावि राहत शिक्षकका भरमा सञ्चालित थियो । चालु आर्थिक वर्षमा गाउँपालिकाबाट एक निमावि र ३ मावि शिक्षकका लागि अनुदान प्राप्त भएको उनले बताए । गाउँपालिकाबाट शिक्षक अनुदान प्राप्त भएपछि स्थानीय अभिभावक हर्षित भएको उनको भनाइ छ ।

गाउँपालिकाले शिक्षा क्षेत्रमा लगानी बढाएर नमुना कार्य गरेको पूर्वशिक्षक केदारबहादुर शाहले बताए । शिक्षक दरबन्दी, भौतिक पूर्वाधारलगायत अभावमा गिर्दो शैक्षिक स्तरलाई माथि उकास्न शैक्षिक लगानी बढाउनु उदाहरणीय भएको उनको भनाइ छ ।

गाउँपालिकाले गत आर्थिक वर्ष १६ विद्यालय भवन निर्माण, फर्निचर व्यवस्थापन, कम्प्युटर, विद्युतीय हाजिरी र सोलार पावरमा तीन करोड २० लाख खर्च गरेको थियो । गत आवमा १६ विद्यालय भवन निर्माणमा दुई करोड ६० लाख र फर्निचर, कम्प्युटर, विद्युतीय हाजिरी तथा सोलार व्यवस्थापनमा ६० लाख खर्च भएको अध्यक्ष बस्नेतले बताए ।

प्रकाशित : आश्विन २, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?